तनहुँमा थपिए तीन हजार मतदाता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

तनहुँमा थपिए तीन हजार मतदाता


१८ मंसिर २०७८, शनिबार


दमौली । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म दुई हजार ८१७ नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनको काम हुँदै आएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने बित्तिकै मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि छुट्टै एक कर्मचारी खटाइएको छ ।

जिल्लामा कात्तिक मसान्तसम्म कूल मतदाता दुई लाख २९ हजार ८६३ पुगेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनका बेला मतदाताको सङ्ख्या दुई लाख ११ हजार ४४६ पुगेको थियो । गत चैत मसान्तसम्म मतदाताको सङ्ख्या दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयले शुक्रबारदेखि जिल्लाका सबै स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । दुई चरणमा गरी नौ वटा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु भएको हो । पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिनेछ ।

दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ । व्यास नगरपालिका भने सदरमुकाममै रहेकाले प्रशासन र निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन हुनेछ ।

मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको छ ।

सम्बन्धित स्थानीय तहका कर्मचारीलाई नै दर्तास्थल व्यवस्थापकको रुपमा खटाइएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्य उक्त अवधिमा पनि निरन्तर रहने निर्वाचन अधिकारी ढकालले जानकारी दिए । अन्य जिल्लामा स्थायी बसोबास भई विभिन्न पेशा व्यवसाय गरी तनहुँमा रहेका नागरिकले आफ्नो स्थायी बसोबासको ठेगानामा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सक्नेछन् ।

मतदाता नामावली सङ्कलनलाई सहज बनाउन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र पालिकास्तरमा पालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस