आज विजयादशमी : टीकाको शुभ साइत बिहान १०ः०२ बजे, पूर्व फर्केर लगाउँदा राम्रो « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

आज विजयादशमी : टीकाको शुभ साइत बिहान १०ः०२ बजे, पूर्व फर्केर लगाउँदा राम्रो


२९ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । आज (शुक्रवार) आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ ।

नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी ठुलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । विजयादशमीको टीकाको शुभ साइत बिहान १०ः०२ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवी विसर्जन ८ बजेर १९ मिनेटमा रहेको छ ।

साइत खोज्नेका लागि शुभ साइतको समय तोकिए पनि दिनभर नै टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताए । साइत भनेको शुभ समय भएकाले नौ दिनसम्म देवीको पूजा गरेर देवीको प्रसाद मान्यजनबाट ग्रहण गर्ने गरिन्छ ।

महान् पर्व भएकाले शुभ समय निर्धारण गर्नका लागि शुभ साइत जुराएको ढुङ्गेलले बताए । दिनभर नै टीका प्रसाद ग्रहण गर्न मिल्ने उनले बताए । राम्रो समयमा टीका लगाउँदा राम्रो फल प्राप्त हुन्छ भन्ने मान्यता रहेको ढुङ्गेलले बताए ।

दसैँ पर्व हिन्दु सनातन धर्मालम्बीहरुको महान् पर्व मानिन्छ । शक्ति उपासना गर्नका लागि र शक्ति आराधनाका लागि यो पर्व उत्तम मानिन्छ । कार्यकारी निर्देशक ढुङ्गेलका अनुसार सामाजिक सद्भाव प्राप्त गर्न धार्मिक दृष्टिकोणले दसैँ पर्वको महत्त्व रहेको छ ।

दसैँमा घटस्थापनादेखि नवदुर्गा स्थापना गरेर नित्य पाठ र पूजा गर्ने गरिन्छ । विना शक्ति समाजमा कसैको पनि अस्तित्व नरहने भएकाले दसैँ पर्व सांस्कृतिक दृष्टिकोणले शक्ति आर्जन गर्नको लागि अति उत्तम मानिने ढुङ्गेलले बताए । यसैको आधारमा दसैँ पर्व मनाउनले र शक्तिको उपासना गर्ने र दुर्गा भवानीको पूजा गर्ने गरिन्छ ।

टीका लगाउँदा पूर्व फर्केर लगाउनु पर्ने कार्यकारी निर्देशक ढुङ्गेलले बताए । दक्षिणको चन्द्रमा हुने भएकाले पूर्व तर्फ फर्किदा दाहिने चन्द्रमा हुन्छ । दाहिने चन्द्रमा पारेर टीका ग्रहण गर्नु राम्रो मानिन्छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा दश दिनसम्म मनाइन दसैँ पर्व धार्मिक मात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रूपमा समेत महत्त्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय श्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दसैँलाई लिइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस