स्यानीः बाल्यकालका स्मृतिका छाल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्यानीः बाल्यकालका स्मृतिका छाल


२६ श्रावण २०७८, मंगलबार



डा. खगराज बराल शैक्षिक तथा प्रशासनिक क्षेत्रको सुपरिचित नाम हो । साहित्यिक नाम हो श्रमिक बराल । विगत तीन दशक पहिले साहित्यिक आकाशमा उदाएको एउटा नक्षत्र हुन् । जम्मा सातओटा साहित्यिक र दशओटा गैह्रसाहित्यिक कृतिहरु सिर्जना गरिसकेका बरालका कृतिहरु उत्कृष्ट छन् । शैक्षिक क्षेत्रलाई मार्गदर्शन गर्ने दुईओटा कृति सांग्रिला बुक्समार्फत् बजारमा आइसकेका छन्ः सिकाउने शैली तथा सिकाइ र सहयोग।

अत्यन्त सरल र मिजासिलो स्वभावका लेखक डा. बरालको हालसालै बजारमा आएको उपन्यास स्यानी पढ्ने उत्कृष्ट चाहना त्यति बेला जाग्यो जब यस उपन्यासको पुस्तक अंश उज्यालो अनलाइनमा पढ्ने अवसर मिल्यो । पुस्तक पढ्ने मनमा इच्छा भए पनि लकडाउनको बेला भएकाले पुस्तक किन्न जाने अवस्था थिएन । उपन्यास अनलाइनमा पनि उपलब्ध हुन सक्ने अवस्था थिएन ।लकडाउन अलि खुकुलो भएपछि विद्यालय जाने क्रम सुरु भयो र त्यहीबाट फोन गरेर पुस्तक अर्डर गरेँ । पुस्तक हात परेपछि कार्यकक्षमै बसेर पढ्न सुरु गरेँ । पहिलो परिच्छेद सकिन नपाउँदै मन भारी भयो, आँखा टिल्पिलाए अनि लेखकलाई फोन गरेर भनेँ “साह्रै कठिन भयो पढ्न, अघि बढ्नै सकिनँ”।

“सबैको प्रतिक्रया यस्तै छ” उहाँको सरल जवाफ थियो।

कुल २५७ पृष्ठमा समेटिएको उपन्यास स्यानीमा १३ ओटा अङ्क छन् । उपन्यासको कथावस्तु लेखकको ममतामयी आमाको मृत्युपश्चात् कोरामा बस्दाका १३ दिनमा आएका आमाको स्मृतिमा बुनिएको छ। उपन्यासको मुख्य पात्रको रुपमा लेखककी आमा छन् र लेखक पनि मुख्य पात्र जस्तै उपस्थित छन् । आत्मकथाको रुपमा आफ्नी आमासँगका विविध समयका सम्बादहरुलाई सँगालेर प्रस्तुत गरिएको छ उपन्यास । वास्तवमा यो उपन्यास सम्मराणात्मक शैलीमा लेखिएको भन्दा हुन्छ ।

किरिया कर्मका प्रत्येक दिनको नित्यकर्म सरु हुन थालेपछि लेखकको मानसपटलमा आमाका यादहरु तछाड मछाड गर्दै आउछन् अनि तिनै अतीतमा डुबेर आमासँगका विविध पलका घटना परिघटना सम्झदै र पुनः ती घटनासँग आमालाई जोडेर वर्तमानमा दुःखी हुँदै स्मरण गरेका कुराहरुले उपन्यास भरिएको छ। आफ्नी आमासँगको त्यो सामिप्यता र आत्मियता अनि विछोडको पीडालाई उपन्यासले ओजिलो गरी बोकेको छ।

उपन्यासको कथाको सुरुवात आमालाई सञ्चो नभएर बुबाले तुरुन्त घर आउनु भनेर फोनगरेपछिको घटनाबाट हुन्छ। पहिलो अङ्क भरी आमालाई हस्पिटल लगेदेखिका लेखकका छटपटी र पीडा अनि मृत्युपछि शव घर पुर्याउन्जेलसम्मको दर्दनाक कहानीलाई मार्मिक ढङ्गले पस्किने काम भएको छ । स्यानीको पहिलो अङ्कको कारुणिक कथनले सबैलाई रुवाउँछ । आफ्नी आमाको यादहरु ताजा हुन्छन् ।

मानसपटलमा चाहे मृत हुन वा जीवित। लेखककी आमालाई माइततिर बोलाउने नामबाट उपन्यासको नामाकरण गरिएको छ स्यानी ।

यो उपन्यासले हिन्दु धर्मको मृत्यु संस्कारका हुबहु पक्षहरुलाई समेटेको छ। मृत्यु संस्कारमा गरिने सम्पूर्ण नित्य कर्महरुलाई १३ अङ्कमा विभाजन गरी प्रस्तुत गरिएको छ। प्रत्येक अङ्क त्यसदिनको संस्कारदेखि सरु हुन्छ । बिचमा लेखकको आमासँगका स्मृतिहरुको दौड हुन्छ र अन्त्यमा पुनः ती घटनासँग जोडिने आमाको यादले झस्काउँदै लेखकलाई यथार्थतामा ल्याइपुर्याउँछ। प्रत्येक घटना परिघटनाको अपूर्व संयोजन देखिन्छ उपन्यासमा।

उपन्यासमा करिव चार पाँच दशक अगाडिको समयका प्रायः प्रचलित सम्पूर्ण संस्कृति र परम्परालाई समेटिएको छ। धागोले बाँधेको पत्र र यसको साङकेतिक अर्थ,जन्मिदा कुनैखोट बिना जन्मेको मान्छे बाँच्दैन भन्ने भनाइ, ज्योतिष विद्यासँग जोडिएका कुरा,गाउँघरमा गाई भैसी ब्याउँदा गरिने चोखिनीति प्रक्रिया, पजापाठ, धामीझाक्रीसँग सम्बन्धित प्रचलन,गाईवस्तु बेच्दा बगल छुटुदा दिइने रकम, गोठालाका कथाव्यथा जस्ता रोचक कुराहरु विभिन्न घटना परिघटनासँग जोडिएर आउछन् । यसले लेखकका समकालीन व्यक्तिहरुलाई आफ्ना बाल्यकालका कुराहरु याद गराउँछन् ।

मृत्यु संस्कार भित्रको गरुड पुराणको वाचन प्रसङ्ग रोचक छ। लेखकले आमालाई सम्झिन्छन् प्रत्येक घटनामा । आमासँग मामाघर जानेबेलामा गरिने जिद्दि, विवाह संस्कार, ताम्दान, बिहे भोज, जन्तेबाख्रो, रत्तेउली सबै कुराको चर्चा छ उपन्यासमा। गोठालाले खेल्ने खेलहरु, सर्प र नागको प्रसङ्ग, त्यससँग जोडिएका अनौठा घटनाहरु, नागपन्चमी र नागपूजासँग जोडिएका सन्दर्भहरु सबै रोचक छन् ।

नाग मार्दाको परिणाम, लेखक विरामी पर्नु, घरको छानामा ढुङ्गा बसनु अनि नाग पूजा गरेपछि सबै हराउँदाको संयोग घतलाग्दो छ।अन्त्यमा आमाको मृत्युको दिनको सर्पको प्रसङ्ग दुःखद संयोग जस्तो लाग्छ।

त्यसैगरी खेतीकिसानीसँग जोडिएका कुरा, आकशमा कर्याङकुरुङ देखिदा काक्रा फर्सि रोप्ने बेलाभएको संकेत,दाइँको प्रसङ्ग, वनभोज जाने चलन, जोर बिजोर, रुमाल लुकाइ, चि मुसी ची जस्ता खेलका प्रसङ्गले उपन्यासलाई जीवन्त बनाएका छन् । स्वस्थानी ब्रतकथाको प्रसङग, देवी भागवतका कुरा, राजा हरिश्चन्द्रको कथा जस्ता धार्मिक ग्रन्थका प्रसङ्गहरु उपन्यासमा प्रशस्तै भेटिन्छन् । चाडवाड विशेषका कुराहरु जस्तो नयाँ वर्ष, साउने सङ्क्रान्ति, लुतो फाल्ने चलन आदिलाईसन्दर्भ मिलाएर चर्चा गरिएको छ।

उपन्यासको नाम स्यानी लेखककी आमाको माइतीको बोलाउने नाम हुन्छ। उपन्यासमा लेखक र आमाको बिचको सम्वाद प्रस्तुत गरिएको छ। भेगिय बोलीचालीको भाषालाई जस्ताको तस्तै राखिएको छ। कतिपय शब्दको अर्थ बुझ्न सजिलो छैनतर पढ्दै जाँदा कथानक प्रसङ्गले शब्दको अर्थ बुझाउँछ । उपन्यासले एउटा सामान्य परिवारको जीवन्त कथा पस्केको छ। आञ्चालिक कथा उनिएको यो उपन्यासलाई आञ्चालिक उपन्यासको उत्कृष्ट नमुना मान्न सकिन्छ ।

समग्रमा उपन्यासले तत्कालीन गाउँले परिवेशको जीवन पद्दतिलाई सचित्र वर्णन गरेको छ।उपन्यासको बिचबिचमा जोडिएका कथाहरुले उपन्यासलाई अझ रोचक बनाएका छन् । यस वियोगान्त उपन्यासले पात्रको जीवनका आरोह अवरोहहरुलाई प्रस्तुत गरेको छ। आफ्नी आमाको सम्झनामा यति धेरै भिज्न सक्ने लेखकको कलमप्रति हार्दिक सम्मान व्यक्त गर्दै आमाप्रति अगाध माया गर्नेहरुका लागि यो उपन्यास पठनीय छ भन्न चाहन्छु।

Tags :
प्रतिक्रिया दिनुहोस