मन्त्री र सचिवले गुप्त कोठामा गर्ने कामको जानकारी दिन सीसी क्यामेरा जडान गरियोस् : देवकोटा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्री र सचिवले गुप्त कोठामा गर्ने कामको जानकारी दिन सीसी क्यामेरा जडान गरियोस् : देवकोटा


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय सभाका सदस्य खिमलाल देवाकोटाले शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउनुपर्ने सुझाव दिएका छन् ।

वर्तमान सरकारले पारदर्शी शासन व्यवस्थाका लागि हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने उनको भनाइ थियो ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा देवकोटाले भने, यो सरकारले हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा गरिरहेका काम कारबाहीको बारेमा जानकारी दिन कोठाबाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन् ।

राज्यका संयन्त्रको स्थापना जनतालाई प्रभावकारी रूपमा गुणस्तरीय सेवा दिनका लागि हुने भन्दै सांसद देवकोटाले त्यसका लागि सरकार तयार हुनुपर्ने धारणा राखे । जुनसुकै शासन व्यवस्था भएता पनि यसको मूल उद्देश्य जनतालाई छिटो–छरितो तरिकाले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्नु हो । सेवासँग विकास र समृद्धि पनि जोडिएको हुन्छ ।

शासन व्यवस्था परिवर्तन भए पनि जनताले राज्यबाट अपेक्षा गरेअनुसारको सेवा नपाएको गुनासो सर्वत्र रहेको पनि देवकोटाको भनाइ थियो । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अङ्गहरू निरन्तर क्रियाशील हुनुपर्ने उनले बताए । त्यसै गरी राज्यका अङ्गहरू रचनात्मक, पारदर्शी र जवाफदेही हुन पनि आवश्यक रहेको उनको धारणा थियो ।

राज्यका अङ्गहरू पारदर्शी भएमा जनताले सबै कुरा देख्ने र ती अङ्गमा बस्ने पदाधिकारीले गलत काम गर्न नपाउने देवकोटाले बताए । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागज मिलाएर राति २ बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन , उनले भने ।

कर्मचारीका हरेक कोठामा सीसी क्यामेरा राखेमा उनीहरूका अनावश्यक क्रियाकलापमा बन्देज लाग्ने देवकोटाले बताए । कर्मचारीका अनावश्यक भेटघाट रोकिने, कार्यालय समयमा आइपुग्ने, कार्यालय छोडेर एनजिओरआइएनजिओका कार्यक्रम र अनावश्यक रूपमा रिबन काट्न जाने बानीमा सुधार आउने, विचौलियाहरूसँगको उठबस हट्ने उनको भनाइ थियो । त्यस्तै, कर्मचारीले राति कार्यालयमा बसेर नीतिगत भ्रष्टाचार र ठेक्कापट्टाका कागजपत्र मिलाउनेजस्ता कानुन विपरीतका काम गर्ने प्रवृत्तिको अन्त्य हुने पनि उनको भनाइ छ ।

यस्तो गर्दा दूरदराजदेखि समस्यामा परेर आएका जनताले आफ्ना कुरा सुनाउन पाउने र कर्मचारीमा जवाफदेही भावनाको विकास पनि हुने भन्दै सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीका कोठा -कोठामा सीसी क्यामेरा राख्न उनले सुझाव दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस