साथीकाे प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

साथीकाे प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । 

माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाले । विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेखेका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेखे । प्रतिउत्तर पत्र सकारात्मक आएन । विद्यालय जीवनमै लेखिएको उनको प्रेमपत्र सफल भएन । सयौँ साथीका लागि लेखिएको प्रेमपत्रमध्ये दर्जनौँ साथीको प्रेमजीवन सफल भएको छ । ती जोडी अहिले पनि सफल दाम्पत्य जीवनमा रमाइरहेका छन् । विद्यालय जीवनमा अरुका लागि लेखिएको प्रेमपत्रले श्रेष्ठलाई साहित्यको जग बसाउन भने राम्रो काम गरेको छ । प्रेमपत्र लेखनको अभ्यासले उनलाई तीन उपन्यास लेख्न सहयोग गरेको छ । तीनै वटा उपन्यास पनि प्रेमकै विषयमा लेखिएका छन् ।

विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उनले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाले। त्यसो त उनी कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेखेको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल भएका थिए। सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्ने उनलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरे । तिनै साथीको जीवनको वास्तविक घटनामा आधारित रहेर उनले पहिलो उपन्यास ‘पुनरुत्थान’ तयार पारे।

विद्यालय जीवनपछि उच्च शिक्षा हासिल गर्नमै व्यस्त रहेका श्रेष्ठ साहित्यतिर त्यति सक्रिय हुन पाएनन् । पढाइसकेर पेशामा सक्रिय भएकै बेला साथी होम बेल्वासेले पटकपटक आफ्नो असफल प्रेम जीवनका बारेमा सुनाउन थाले। साथीभाइको समूहमा धेरैपटक जिस्क्याएर बेल्वासेका कुरालाई टारेका श्रेष्ठलाई एकदिन आफ्ना साथीले प्रेममा पाएको असफलताकै कारण रोएको देखेपछि भने त्यसैलाई विषय बनाएर उपन्यास लेख्ने सोच पलायो । साथीको विषयवस्तु समेटेर उपन्यास लेख्छु भनी अनुमति लिए । साथीले पनि तत्कालै स्वीकृति दिए । अनि शुरु भयो श्रेष्ठको उपन्यास लेखन यात्रा ।

बेल्वासेकै प्रेम जीवनको वास्तविक घटनालाई विषय वस्तु बनाएर लेखेको उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भयो । उपन्यास प्रकाशन गर्न बेल्वासेले नै प्रकाशन संस्था खोले । बेल्वासेकै प्रकाशन संस्था परिस्कृत मिडिया ग्रुपबाट ‘पुरुत्थान’ को पहिलो संस्करण प्रकाशन भयो । पहिलो संस्करणमा दुई हजारप्रति छापिएको ‘पुरुत्थान’ बजारमा सकियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराए । 

 वेदलाई चार भागमा विभाजन गर्ने ऐतिहासिक एवं पौराणिक पात्र कृष्ण द्वैपायनअर्थात् वेदव्यासको भूमि तनहुँमा जन्मिएका श्रेष्ठलाई प्रारब्धले साहित्यमा आकर्षित गरेको थियो । त्यही प्रारब्धले उनलाई विद्यार्थीकालमै साथीभाइको प्रेमपत्र लेखायो । प्रेमपत्र लेखेको अनुभवका आधारमा व्यावसायिक जीवनका साथी बेल्वासेको जीवनकथालाई उपन्यासमा उतारे । त्यो उपन्यास सार्वजनिक भएको केही महिनामै बजारमा सकियो । 

परिचित प्रकाशन गृह साङ्ग्रिलाले ‘पुरुत्थान’ लाई पुनः प्रकाशन गर्ने प्रस्ताव अघि सार्यो । साङ्ग्रिलाले दोस्रो संस्करणमा छापेको तीन हजारप्रति पनि बजारमा सकिएको छ । ‘पुरुत्थान’ छाप्ने बेलामै ‘मालिकाकेशरी’ को उपनामले साहित्य सिर्जना गर्ने श्रेष्ठले साङ्ग्रिलालाई भनिदिए–‘मेरो दोस्रो उपन्यास पनि तयार छ’ वास्तविकतामा उपन्यास लेखिएकै थिएन । 

 पहिलो उपन्यासमा साथी होम बेल्वासे र आफ्नै जीवनका पनि केही जीवन भोगाइलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास ‘पुरुत्थान’ सफल भएपछि मालिका केशरीको दिमागमा अर्को उपन्यासको कथा तयार भइसकेको थियो । देशले व्यहोरेको दशवर्षे विद्रोहमा आमजनताले भोगेका त्रासपूर्ण जीवनलाई ‘पुरुत्थान’ मार्फत सार्वजनिक गरेका केशरीलाई यस्तै अर्को अनुभूति पनि पुस्तकाकारमा ल्याउने चाहना पलाएको थियो ।

युद्धमा सशस्त्र विद्रोही र सरकार दुवैको निशाना जनता बनेका, गणतन्त्र स्थापना र त्यसपछि विकसित घटनाक्रमसँगै सदियौँदेखिको जातीय विभेदबीचमा मौलाएको अमर प्रेमकथाका रुपमा ‘पुरुत्थान’ रचना भएको थियो । पहिलो उपन्यासको मस्यौदा १२ दिनमा गरेका केशरीले सम्पादनलगायत अन्तिम रुप दिन करिब एक महिना समय खर्चिए । दोस्रो उपन्यास ‘सुवर्णलता’ का लागि भने उनले सात महिना समय दिनुपर्यो । 

 ‘सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्केका छन् । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । डोल्पाको कुनै गाउँमा सडक खन्दा भेटिएको गुफाका विषयमा खोजी पत्रकारिता गरिएको विषय पनि उपन्यासमा देखाइएको छ । गुफामा सयौँ वर्षदेखि ध्यानावस्थामा रहेकी युवतीको कथाले पाठकलाई रोमाञ्चकता प्रदान गर्छ। 

उपन्यासमा मुक्तिमार्गका कुरा, प्रेम दुःखको कारण भएको, मानिस मोहमा बाँधिनुहुन्न भन्नेजस्ता विषय पनि छन् । पाठकलाई प्रेमसँग बौद्ध दर्शन र शान्तिका कुराका माध्यमबाट पढुँपढुँ लाग्ने गरी उत्सुक बनाउन उपन्यासकार केशरी सफल देखिएका छन् । उनको तेस्रो उपन्यास ‘दुङाल’ प्रकाशोन्मुख छ । भदौ ५ गते उपन्यास सार्वजनिक गर्ने तिथि तय भएको छ । 

नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उनले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन लागेको बताउँछन् । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ। उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ । हिमालयन बौद्ध दर्शन अध्यापनमा लागेका डा. रमेश ढुङ्गेलको प्रेरणाले उनलाई यो उपन्यास लेखन उत्साहित बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस