कोरोना प्रभावित घरधुरीलाई रोजगारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना प्रभावित घरधुरीलाई रोजगारी


२० असार २०७८, आइतबार


दुल्लु । दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो ।

दुल्लु–१३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका–२ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् । उनीहरूलाई आफ्नै गाउँमा रोजगारीको व्यवस्था मिलाइएको छ ।

युएसआइडीको आर्थिक सहयोग र सेवक नामक गैरसरकारी संस्थाको समन्वयमा कामका लागि नगद कार्यक्रम लागू गरी उनीहरूलाई आफ्नै गाउँमै रोजगारी प्रदान गरिएको हो । उनीहरुलाई गाउँकै योजनामा काम दिएर रोजगारीमा लगाइने र काम गरेवापत नगद प्रदान गरिने सेवक संस्थाका अनुगमन मूल्याङकन अधिकृत तेजबहादुर नेपालीले जानकारी दिए ।

उहाँका अनुसार ठाटीकाध–२ मा रु ४० लाख बराबरको खानेपानी योजना, दुल्लु–१३ मा रु आठ लाखको ग्रामीण सडक सुधार र भैरवी–५ मा रु सात लाख १५ हजार लागतको सिँचाइ कुलो निर्माण योजनामा काम दिएर रोजगारीमा लगाइएको हो ।

गाउँमै रोजगारी पाएपछि कोरोनाबाट समस्या परेका विपन्न परिवार निकै खुशी भएका छन् । कुनै काम नपाउँदा मजदुरीका लागि भारत जाने तयारी गरेको भए पनि गाउँमै रोजगारी पाएपछि अब भारत नजाने स्थानीयवासी हरि नेपालीले बताए। उनले भने, ‘काम नपाउँदा घर खर्च जोहो गर्न मजदुरी गर्न भारत जाने हो, गाउँमै रोजगारी पनि पाउने खानेपानी, सिँचाइ र सडक पनि बन्ने र त्यो बनाएवापत पैसा नि पाइने भएपछि केका लागि भारत जाने ?, यस्तै घर खर्चको जोहो हुने कार्यक्रम आए कोही भारत र विदेश जानु नपर्ने हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस