“हाम्रो अर्गानिक किसान घर”मा कृषक र उपभोक्ताको आकर्षण बढ्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

“हाम्रो अर्गानिक किसान घर”मा कृषक र उपभोक्ताको आकर्षण बढ्दै


१५ असार २०७८, मंगलबार


चितवन । गाउँमा पहिले पहिले स्वस्थ हावापानीमा उत्पादन गरिएका फलफूल तरकारीहरू खान मिल्थ्यो । अर्गानिक उत्पादनहरू खाने गरेका अघिल्लो पुस्ताका बाउबाजेहरुले कहिल्यै न सिटामोल खानुपर्‍यो न महामारीको चपेटामा पर्नुपर्‍यो । अहिले मानिसहरूले जताततै अनेक थरी रोग व्याधिको सामना गरिरहनुपरेको छ ।

पछिल्लो समयमा विकासे तरकारी, विकासे फलफूलका नाममा अत्यधिक रसायनयुक्त तरकारी तथा फलफूलको बढ्दो प्रयोग नै अहिले मानव स्वास्थ्यमा समस्या ल्याउने कारक तत्त्वमध्ये एक मानिएको छ ।

अर्गानिक अर्थात् रसायनमुक्त खानेकुराहरूको अहिले बजारमा अभाव देखिन्छ । त्यही अभावलाई केही हदसम्म भएपनि चिर्न विशुद्ध अर्गानिक उत्पादनको संरक्षण र प्रवर्द्धन गर्न तथा अर्गानिक उत्पादनको ब्राण्डिङ गर्ने औपचारिक थालनी चितवनका केही किसानहरूले थालेका छन् ।

अर्गानिक उत्पादनलाई विशिष्ट पहिचान दिने र बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ११, थानी चोकमा स्थानीय ५ जना किसानहरूको संयुक्त पहलमा “हाम्रो अर्गानिक किसान घर” सञ्चालनमा ल्याइएको छ ।

आम उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपज उपभोगको महत्वबोध भइरहेको अवस्थामा विशुद्ध प्राङ्गारिक उत्पादन मात्र बिक्री गर्ने उद्देश्यसहित सो घर स्थापना गरिएको छ ।

“हाम्रो अर्गानिक किसान घर” ले हाल बजारमा प्राङ्गारिक उत्पादन मात्र बिक्री गर्ने छुट्टै स्थलको कमी रहेको अवस्थामा आम उपभोक्ता वर्गमा विश्वसनीयता समेत थप्ने काम गरेको छ ।

बजारमा अहिले अर्गानिक उत्पादन कुन हुन् कुन हैनन् छुट्याउन नसकिएको आवस्था छ । साथै उपभोक्ताहरूले पनि आफूले उपभोग गर्ने कृषिउपजहरु सुरक्षित, स्वस्थ र प्राङ्गारिक तवरले उत्पादन भए-नभएको सुनिश्चित गर्न चाहन्छन् ।

कृषकको उत्पादनलाई आवश्यक जाँचबुझ गरी अर्गानिक भए नभएको एकिन गर्न बाग्मती प्रदेश  ले कृषकको उत्पादनलाई प्रमाणीकरण गरिदिने गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशका सहायक प्रवक्ता दिपेन्द्रमणी लामिछाने भन्छन्, -“मन्त्रालयले आफ्नो स्थापनाकालदेखि नै प्राङ्गारिक कृषिमा आबद्ध कृषकहरूलाई उत्पादन देखि प्रमाणीकरण र बजारीकरणसम्मका विभिन्न चरणहरूमा आर्थिक एवं प्राविधिक सहयोग गर्दै आइरहेको छ। र यसै अन्तर्गत कृषकका उत्पादनको पि.जी.एस्. प्रमाणीकरण गरी बजारीकरणका साथै ब्राण्डिङमा समेत सहयोग गरिरहेको छ।”

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, हेटौँडाद्वारा भरतपुरमा स्थापना गरिएको विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट जिल्लामा उत्पादित तरकारीमा ९० प्रतिशत भन्दा बढी रासायनिक विषादीको अवशेष भेटिएको हुँदा आम उपभोक्ता कृषक तथा उपभोक्ताहरू सचेत भएका छन् ।

मन्त्रालयले प्राङ्गारिक उपजका ग्राहकहरूलाई लक्षित गरेर सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली (पीजीएस) अनुसार गुणस्तर निर्धारण गरिदिएको छ ।

प्राङ्गारिक रूपान्तरण उत्पादन(अर्गानिक–कन्भर्सेसन प्रडक्ट) को बिक्री केन्द्रको रूपमा हाम्रो अर्गानिक किसान घर स्थापना भएको हो ।

सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली(पीजीएस) भन्नाले उत्पादक र उपभोक्तालगायतका सरोकारवालाहरूको सहभागितामा स्थानीय परिवेश अनुसार सञ्चालन हुने गुणस्तर निर्धारण प्रणाली हो ।

मन्त्रालयले प्राङ्गारिक कृषिलाई अभियानको रूपमा अगाडि बढाउन आर्थिक वर्ष २०७५/७६ देखि प्रदेशभर प्राङ्गारिक कृषिप्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र, चितवनद्वारा जिल्ला प्राङ्गारिक सङ्घ, चितवन र वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासङ्घ, चितवनको सहकार्यमा प्रवर्धन गरिएको सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली (पीजीएस) चितवनमा आबद्ध किसानहरूको उत्पादनलाई उक्त अर्गानिक किसान घर मार्फत बजारीकरण सुरु गरिएको छ ।

अहिले प्राङ्गारिक कृषि उत्पादनतर्फ कृषकहरू आकर्षित भएका छन् । मन्त्रालयले पनि प्राङ्गारिक प्रमाणीकरणमा लाग्ने खर्चमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था समेत मिलाएको छ ।

विषादीरहित भान्साकालागि प्राङ्गारिक कृषि अभियानमा आबद्ध किसानहरूको उत्पादनलाई बजारीकरण गर्दै आगामी दिनमा अन्य कृषकहरूलाई समेत समेट्दै थप सेवा विस्तार गर्ने योजना रहेको सञ्चालकमध्येका एक टेकमान वाइबाले जानकारी दिए ।

हाम्रो अर्गानिक किसान घरमा प्राङ्गारिक तरकारीका अलावा हिमाली भेगमा उत्पादित विभिन्न खाद्यान्न तथा जडीबुटी समेत पाइन्छ ।

हालको अवस्थामा केही बालीलाई मात्र समेटिएकोमा क्रमशः उत्पादन विविधीकरण गर्दै लैजाने योजनामा सञ्चालकहरू रहेका छन् सञ्चालकमध्येका एक वाइबाको भनाई छ ।

रासायनिक मल तथा विषादीको प्रयोग गरी उत्पादित कृषि उपजको उपभोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने हुँदा प्राङ्गारिक उपजको माग बढ्दै गइरहेको उनी अनुभव सुनाउँछन् ।

किसान घर सञ्चालकमध्येका एक युवा कृषक हरि ढकाल भन्छन्, “रासायनिक मल तथा विषादीले मानव स्वास्थ्यलाई क्रमिक रूपमा असर गर्दै जाने हुँदा स्वास्थ्यकर उपज उत्पादन गरी भान्सालाई नै औषधालयको रूपमा विकास गर्ने योजना हाम्रो रहेको छ ।”

कृषक ढकाल भन्छन्,“हाल किसान घरको नियमित ग्राहक सङ्ख्या बढ्दो क्रममा रहेको छ, ग्राहकहरूबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ ।” उनी थप्छन्, “बजारमा प्राङ्गारिक उत्पादन भनेर ढुक्कसँग किन्ने अवस्था नभएकोमा पीजीएस् लोगो अङ्कित स्टिकर टाँसिएको उत्पादनले उपभोक्तालाई ढुक्क बनाएको छ भने कृषक र उपभोक्ताबिच पनि विश्वासको वातावरण सिर्जना गरेको छ ।”

मन्त्रालयले प्रमाणीकरणमा सहजीकरण गरिदिएपछि प्राङ्गारिक उत्पादनलाई विशिष्ट पहिचान दिलाउन र बजारीकरणको समस्या केही हदसम्म भए पनि निराकरण गर्न सहयोग भएको छ ।

जिल्लामा उत्पादित प्राङ्गारिक उपजलाई एउटै लोगोसहित बिक्री वितरण गरिने भएकाले यसले समस्त कृषक वर्गमा ऊर्जा र उपभोक्तामा सो उपजको गुणस्तरलाई लिएर हुन सक्ने शङ्कालाई निवारण गर्ने किसान घरका एक अर्का सञ्चालक महेन्द्र प्रसाद पौडेल बताउँछन् ।

उपभोक्ता वर्गमा प्राङ्गारिक वस्तु उपभोगको महत्त्वबारे सचेतना, स्वास्थ्यप्रतिको सजगता, क्रयशक्तिमाआएको वृद्धि, प्राङ्गारिक वस्तुको बढ्दो उत्पादन, स्थानीय तथा रैथाने बालीहरूको खेतीमा वृद्धि आदि कारणले गर्दा प्राङ्गारिक उपजको माग बजारमा अत्यधिक बढिरहेको छ ।

कृषकले उत्पादनको उचित मूल्य नपाइरहेको र बजार व्यवस्थापनको अभाव झेलिरहेको अवस्थामा “हाम्रो अर्गानिककिसान घर सञ्चालन भएसँगै प्राङ्गारिक उत्पादनको बजारीकरणमा एउटा इट्टा थप्ने काम भएको सञ्चालकहरूले बताएका छन् ।”

सरकारको “समृद्ध नेपाल सुखी नेपाली”अभियानलाई साकार रूप दिन प्रत्येक व्यक्ति, परिवार र समाज हुँदै समग्र राष्ट्रलाई स्वस्थ राख्न अपरिहार्य छ ।

स्वस्थ र सुरक्षित प्राङ्गारिक उत्पादन प्रयोग गर्नुपर्ने आजको समयको आवश्यकता हो । किसान घर जस्तै बिक्री केन्द्र स्थापनाले प्राङ्गारिक उत्पादक एवं उपभोक्ता दुवै पक्ष प्रत्यक्ष लाभान्वित भएका देखिन्छन् ।

कृषकद्वारा उत्पादित कृषि उपज सोझै बिक्री केन्द्र मार्फत बिक्री गर्न सकिने तथा उपभोक्ताले समेत स्थानीय स्तरमै उत्पादित प्राङ्गारिक उपज विश्वसनीयतासहित उपभोग गर्न पाउने अवस्था किसान घरले सृजना गरिदिएको छ ।

केही किसानहरूको यो सृजनशील कार्यले कृषकहरूलाई बिचौलियाको समस्याबाटसमेत छुटकारा मिल्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस