बाँदरको हैरानीले वैकल्पिक खेतीको अभ्यास « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बाँदरको हैरानीले वैकल्पिक खेतीको अभ्यास


१३ असार २०७८, आइतबार


पाल्पा । पाल्पामा बाँदरले खेती खाएपछि कृषक हैरान छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जिल्लाका अधिकांश स्थानमा बाँदरले खेती खाएर कृषकलाई दुःख दिने गरेको स्थानीयवासीले जनाएका छन् । कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमण समेत गर्न थालेको छ । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिक रहेका बस्तीमा पसेर घरभित्रको अन्न समेत खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार, प्याक्लुक, सेरा खटाङ, मलेङ, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराजलगायतका क्षेत्रमा कृषक बाँदरले खेती खाएपछि हैरान परेको गुनासो गर्छन् ।

रामपुर नगरपालिका—८ का कृषक कृष्णप्रसाद घिमिरेले लगाएको मकै नष्ट पारेपछि चिन्ता लागेको बताए । मकै छर्दा माटोमै बिउ निकालेर खाने र उम्रिएपछि उखेलेर खाने तथा मकै पाकेपछि पनि खाने गरेको उनले बताए । खेतमा लगाएका आलु, सिमी, बोडी, गोलभेँडा, प्याजलगायतका तरकारीदेखि आँप, लिचीलगायत फलफूल समेत बाँदरे नष्ट गरिदिएपछि किसानहरू हैरानमा छन् । करिब एक सयको हाराहारीमा बाँदर आउने र पटक पटक लखेटे पनि दुःख दिन छाडेको छैन । अहिले मकैलगायत बोडी, काँक्रा, भिण्डीलगायतका तरकारी खेतबारीमा छन् । अहिलेसम्म आलोपालो गरेर बाँदर बिहानदेखि बेलुकासम्म कुरे पनि खाना खाएका बेला मौका छोप्ने गरेको कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ । केही खेतहरू बाँझै रहेको कृषक बताउँछन् । बगनासकाली गाउँपालिका पाल्पाले बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरे पनि खासै प्रभावकारी हुन सकेन । रामपुर नगरपालिका पाल्पा बाँदर नियन्त्रणका लागि अनुरोध गर्दै दुई वर्षअघि नै कृषकले निवेदन दिएका थिए ।

नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सोही वर्ष नै बाँदर नियन्त्रणका निम्ति तीन लाख बजेट विनियोजन गरे पनि कसरी लाग्ने मेसो नभएका कारण सो रकम विकास निर्माणका काममा खर्च गरिएको जानकारी दिएका थिए । केही वर्ष अघि बेसार खेती गरेका जानकी अहिले केरा बिक्रीबाट वर्षमा लाखौँ आम्दानी हुन्छ । वर्षेनी बाँदरले दुःख दिन थालेपछि त्यस क्षेत्रका कृषकले मकै खेती गर्नै छाडेको कृषक भट्टराईको भनाइ छ । रम्भा गाउँपालिका—३ अगाहा खोला क्षेत्रमा भने महिलाले विकल्पको रूपमा निबुवा खेती गर्न थालेका छन् । बाँदरले कागती तथा निबुवा त्यति नरुचाउने भएका कारण पनि यसबाट आम्दानी लिन थालेको उनीहरूको भनाइ छ । यसअघि टोलटोलमा हेरालु राख्न सम्भव नभएको नियन्त्रण गरेर संरक्षण गर्न पनि नसकिएकाले र गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताए पनि त्यसको कार्यान्वयनमा समस्या भएको अध्यक्ष भण्डारीको धारणा छ ।

रम्भाका कृषकलाई शतप्रतिशत अनुदानमा धानको बिउ वितरण, पालिकाको केही क्षेत्रमा कृषकलाई कृषिमा प्रोत्साहित गर्दै बङ्गुर पालन, भैंसीपालन, तरकारी खेती, कुरिलो खेती तथा सूर्यमुखी खेती र फलफूल पकेट क्षेत्रका रूपमा विकास गरिनेमा जोड दिइएको पालिकाले जनाएको छ । पाल्पाको पूर्व खोलामा पनि बाँदरले खेती नष्ट पारेर हैरान पारेको क्षेत्रमा बेसार, अदुवालगायतका खेती गर्न पालिकाले प्रोत्साहित गर्दै आएको छ ।

पूर्व खोला गाउँपालिका ५ वीर कोटमा करिब ३०० रोपनीभन्दा धेरै भिरालो खाली जग्गाहरूमा बेसार खेती गरिएको कृषक सावित्रा गैरे बताउँछिन् । स्थानीय जिबिएच महिला कृषक समूहलाई पालिकाले पहिलो वर्ष रु एक लाख बजेट उपलब्ध गराएपछि करिब तीन वर्षअघिदेखि बेसार खेती थालिएको गैरेको भनाइ छ । समूहका अनुगमन समिति संयोजक चन्द्रकुमार बर्मेलीले सुरुमा अर्घाखाँची जिल्लाबाट बेसारको बिउ ल्याएर खेती सुरु गरिएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३० क्विन्टल बिउ आवश्यक भए पनि ४० क्विन्टल बिउ तयार पारिएको थियो । समूहले आव २०७६/७७ मा रु २३० देखि २४० का दरले रु ८० हजारको बेसार बिक्री गरेको थियो । महिला कृषक समूहले बेसार पिस्नी मेसिन खरिद गरी गाउँमै पिसानी कार्यबाट आयआर्जनको बाटो समेत रोजेको छ । दुई लाख रुपैयाँको कोष खडा गरी बचत गर्ने बानीको समेत विकास गरिएको महिलाहरूले बताएका छन् । स्थानीय स्तरमा उत्पादन भएको बेसार रुपन्देहीको बुटवलसम्म कृषकले बिक्रीका लागि पुर्‍याउने गरेका छन् । पाल्पाको तानसेन नगरपालिकाका केही स्थान, माथागढी, पूर्व खोला, बगनासकाली, निस्दी, तिनाउ गाउँपालिका र रामपुर नगरपालिकासँगै जिल्लाका अधिकांश पालिकाका कृषक बाँदरबाट हैरान बनेको गुनासो गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस