कोरोनाले पिल्सिएका दुई पात्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाले पिल्सिएका दुई पात्र


२६ जेष्ठ २०७८, बुधबार


सुविधा सम्पन्न एवम् आरामदायी बसोबासको पर्यायवाची शब्द सहर (नगरपालिका) । नगरपालिकाको सफा सडक, सडक छेउ भित्तामा गगनचुम्बी महल, ती महलमा ठुला ठुला पसल, विशाल महलको सिरानमा आँगन (छत) जुन सडकको छेउबाट नियाल्दा जो कोहीको टोपी झर्ने अवस्था । सबैले भन्न सक्ने सहरको विशेषता ठुला ठुला महल, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, रोजगारी लगायतका सेवा सुविधा, यी नै सुविधाको उपभोग गर्दै सेवा सम्पन्न जीवनयापन गर्ने अभिलाषाले आफ्नो परिवार (श्रीमती, एक छोरा र एक छोरी) सहित गाउँको घर जग्गा बाँझो छोडेर सहर पसेको एक मजदुर हो धनजीते घर्ती ।

सहरको शाखा सडकको छेउको पक्किघरमा डेरा गरेर परिवार सहित बसेर जीविका चलाइरहेको छ । धनजीते घर्ती सुविधा सम्पन्न सहर निर्माणको एक इँटा हो, उसको दैनिक जीवन निर्माण कार्यमा बित्दै आएको करिब पाँच वर्ष जति भई सक्यो । पाँच वर्ष यता बनेका महलहरू धनजीतेको पसिना बिना बनेका विरलै मात्र छन्, औँलामा नै गन्न सकिन्छ । यती धेरै महल बनाइसकेको धनजीतेको आफ्नो भने सानो झुपडी सम्म छैन । महल बनिनसकिञ्जेल सबै महल धनजीतेलाई आफ्नै हुन झैँ लाग्छ तर जब महल तयार हुन्छ बाहिर गेटमा नै लेखिन्छ “अनुमति बिना प्रवेश निषेध” ।

कहिल्यै पनि उसले आफूले बनाएको महल बनिसकेपछि नियाल्ने अवसर पाएको छैन । धनजीतेलाई घमण्ड छ “सबै घरहरू मैले बनाएका हुन” । घमण्ड गर्ने आ-आफ्नै माध्यम छन् घर मालिक घमण्ड गर्छ “ मेरो घर बजार भरिकै सबैभन्दा अग्लो छ, मेरो घरको छानाबाट सबै सहर देखिन्छ” । उसलाई थाहा छैन कि त्यो घरको छानाबाट घर बनाउने धनजीतेलाई कहिल्यै देखिएको छैन । घरमालिकलाई थाहा छैन घर बनाएकोमा धनजीते घमण्ड गर्छ र धनजीतेलाई थाहा छैन कि घरको छानाबाट सहर नियालेर घरमालिक घमण्ड गर्छ । घमण्ड दुवैमा छ तर घमण्डको सार्थकता कसैमापनि छैन । यही नै एउटा आनन्दको विषय हो ।

बिहान सबेरै उठेर निर्माण कार्यमा धनजीते जान्छ । घरको छानामा बोरामा माटो हालेर केही बोट प्याज, लसुन र धनियाँ छरिएको छ । बाँकी तरकारीको आपूर्ति धनजीतेको भान्सामा हप्तामा दुई पटक लाग्ने हाट बजारबाट नै हुन्छ । बिहान उठेर खाना बनाएर छोरा र छोरीलाई खाना खुवाउनु, स्कुल पठाउनु, दिनभरि सडक छेउमा बसेर छिमेकीहरूसँग गफ गर्नु ,स्कुल बिदा भएपछि छोराछोरीलाई खाजा खुवाउनु र साँझ खाना बनाउनु धनजीतेकि श्रीमतीको दिनचर्या हो । धनजीतेलाई यो कुरामा पनि घमण्ड छ कि “मैले अरूको तुलनामा श्रीमतीलाई पनि सुखले नै पालेको छु” ।

छर- छिमेकीको घरमा बिहे, भोज, पार्टी लगायतका उत्सव नभएको नै उसलाई जाति लाग्छ किनभने त्यस्ता उत्सव समारोह हुनुभन्दा एक हप्ता अघिदेखि नै धनजितेको घर गरगहनाको धपेडिले गुञ्जायमान हुन्छ । उनकी श्रीमती छर-छिमेकीको गर गहनाको तुलनात्मक अध्ययनमा लाग्छिन् र अध्ययन प्रतिवेदन सहित धनजिते समक्ष नयाँ डिजाइनका गर गहनाको माग राख्छिन् । धनजीते न त यो माग नै पुरा गर्न सक्छ न त यो कुरा इन्कार नै गर्न सक्छ ।

यो बेला उसलाई आफ्नो पुरानो गाउँको याद आउँछ । उसको मासिक आम्दानीले जेनतेन खर्च धान्छ तर आकस्मिक रूपमा आइपर्ने खर्चलाई भने व्यवस्थापन गर्न हम्मे हम्मे पर्दछ । सामान्य अवस्थामा जीविका चलाउनलाई समस्या छैन तर छरछिमेकमा हुने उत्सव समारोह, स्वास्थ्य उपचार गर्नु परेको अवस्था, छोराछोरीलाई स्कुलले लाने शैक्षिक अवलोकन भ्रमण लगायतका आकस्मिक रूपमा हुने खर्चको व्यवस्थापनले भने धनजीतेलाई दाँतबाट नै पसिना निकाल्ने गरेको छ ।

जेनतेन दैनिकी चलिरहेको थियो आफ्नो परिवार सञ्चालन मध्यम रूपमा गरिरहेको थियो । छोराछोरीको पढाई सामान्य चलिरहेको थियो । अचानक विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरसको कारणले २०७६चैत्र १० गते राती १२ बजे देखि सवारी साधन आवागमन, बजार पसल लगायत सम्पूर्ण कामकाज प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा अनुसार बन्द भयो । उसको भान्सामा करिब पाँच दिनलाई खानपुग्ने खाद्यान्नको मौज्दात थियो ।

मौज्दात सकिएपछि विभिन्न सङ्घ, संस्था, लगायतका सहयोगी मनहरूले दिएको राहत आदिले जीवन गुजारेको थियो । त्यसै समयमा विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सूचना आयो । अव धनजितेलाई अर्को समस्या थपियो नियमित विद्यालयको शुल्क तिर्नु त छँदै थियो थप छोराछोरीलाई स्मार्ट फोन किनिदिनुपर्ने भयो । विगत एक महिना अगाडिदेखि आफ्नो काम बन्द भएको थियो । सामान्य बजार खुलेसँगै महँगी बढेको थियो । दैनिक गुजाराका सामाग्री खरिद गर्ने सम्मको आम्दानी नभएको अवस्थामा मोबाइल फोन खरिद गर्नुपर्दा धनजीतेको टाउकोमा एकमुष्ट ऋण थपियो ।

अब दैनिक गुजारा मात्र चलाएर भएन मासिक रूपमा ऋणको व्याज समेत भुक्तानी गर्नुपर्ने दायित्व थपियो तर आम्दानी भने थपिएन खर्च कटौती गर्ने समेत ठाउँ थिएन । कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको धनजीतेको दैनिकी र अर्थतन्त्र सामान्य अवस्थामा फर्कने क्रममा थियो । फेरी पनि कोरोना भाइरसको आतङ्क बढ्न थालेसँगै धनजीतेको मुटुको धड्कन बढ्न थालेको थियो ।

२०७७ सालको चैत्र लागेसँगै कोरोनाको सङ्क्रमण बढ्न थालेको समाचार विभिन्न सञ्चार माध्यममा सुनिन थाल्यो । यसले धनजीतेको मनमा आतङ्क मच्चाउन थालिसकेको थियो । अचानक अस्पतालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेकाले यसपालि पनि प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार निषेधाज्ञा जारी गरियो निषेधाज्ञासँगै बजार पसल पनि बन्द भए यससँगै धनजीतेको भन्सामा समेत निषेधाज्ञा लाग्यो । उसको भान्सामा दैनिक उपभोग्य सामाग्रीको प्रवेश बन्द भयो । कोठाको खाद्यान्नको मौज्दात रित्तियो, गत साल जस्तो राहतका कार्यक्रम समेत सञ्चालन भएनन् ।

आज धनजीतेले बनाएका महलमा बस्ने धनाढ्यहरू कोरोनाको सङ्क्रमणले थलिएर महँगो निजी अस्पतालको बेडमा विवशताको साङ्लोमा बाँधिएका छन् । कहिले सघन एन. आई. सी. यु कक्ष त कहिले भेन्टिलेटर कक्षमा चारैतिर अक्सिजनरूपी पाइप बेरेर बसेका छन् । अहङ्कारको खोक्रो धनलाई आदर्श मानेका यिनीहरू आज पश्चात्तापको नौनी झैँ पग्लिएका त छन् तर अपसोच मृत्यु शय्याबाट आएको निमन्त्रणा जसरी भेन्टिलेटर कक्षमा आउने कम्प्युटरको टिङ……….टिङ आवाजले बताइरहेको छ ।

आज ती महलवासीहरूको सम्पत्ति निःशुल्क पाइने अक्सिजन किन्नमा झिनो साबित भई सकेको छ, भएको श्रीसम्पत्ति धितो राखेर महँगो व्याजमा लिएको ऋण मुठीभरको श्वास बचाउन खर्चिनु परेको छ । अन्ततः ती महलवासी सहरियाहरू मरिने चिन्ताले चिन्तित छन् भने धनजीते भोकमरीले मरिने चिन्ताले चिन्तित छ । समानता यही हो दुवै तनावमुक्त हुन सकेका छैनन् कसैलाई महामारीले ज्यान बचाउन चिन्ता त कसैलाई भोकमरीबाट ज्यान बचाउन चिन्ता !

Tags :
प्रतिक्रिया दिनुहोस