म्यानमारको सैनिक सरकारले गर्‍यो एक लाख २५ हजारबढी शिक्षक निलम्बन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

म्यानमारको सैनिक सरकारले गर्‍यो एक लाख २५ हजारबढी शिक्षक निलम्बन


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । म्यानमारको सैनिक सरकारले एक लाख २५ हजारभन्दा बढी शिक्षकलाई निलम्बन गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार नागरिक अवज्ञा आन्दोलनमा साथ दिएको भन्दै सैनिक सरकारले उक्त सङ्ख्यामा शिक्षकहरूलाई निलम्बन गरेको म्यानमार टिचर्स फेडेरेसनले जानकारी दिएको छ ।

म्यानमारमा चार लाख ३० हजार शिक्षक कार्यरत छन् । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा केही दिन अघि जुन्ता सरकारले निलम्बनको निर्णय गरेपछि त्यहाँका अभिभावक र शिक्षकले नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने बताएका छन् ।

‘यो नागरिकहरूलाई काममा फर्काउनका लागि धम्क्याउने तरिका मात्र हो। यदि उनीहरूले यी सबैलाई जागिरबाट निकाले भने पूरा प्रणाली नै रोकिन्छ,’ फेडेरेसनका एक अधिकारीले भने।

सबै काममा फर्किएपछि उनीविरूद्ध लागेको मुद्दा पनि फिर्ता गर्ने सैनिक सरकारले बताएको छ। तर यसबारे सैनिक शासक र शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएका छैनन्। म्यानमार सरकारको ग्लोबल न्यु लाइट अफ म्यानमार समाचार पत्रका अनुसार सबै विद्यार्थी र शिक्षकलाई विद्यालयमा फर्कन भनेको छ।

सेनाले सत्ता लिएपछि स्वास्थ्य क्षेत्रका सहित धेरै सरकारी र निजी क्षेत्रका कर्मचारी काम छोडेर नागरिक अवज्ञा आन्दोलनमा लागेका थिए। झन्डै १९ हजार पाँच सय जना विश्वविद्यालयका कर्मचारीलाई पनि निलम्बन गरिएको शिक्षक समूहले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस