नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन


प्रशासन विशेष ब्युरो

१ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्र ६ सय ७३ अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । ती मध्ये ३ सय २६ वटा भरिएका र ३ सय ४७ खाली सिलिन्डर सङ्कलन भएका हुन् ।

सङ्कलन गरिएका ६ सय ७३ वटा र यसअघिको जम्मा भएका ९४ वटा गरी जम्मा ७ सय ६७ वटा सिलिन्डरमध्ये शनिवार ५ सय ८५ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका १ सय ८२ वटा अक्सिजन सिलिन्डरहरू जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरीले जनाएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घ संस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा जम्मा गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । अहिलेको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि जम्मा नगर्न तथा विभिन्न कम्पनी, सङ्घ संस्था तथा व्यक्तिसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न पनि नेपाल प्रहरीले अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस