नयाँ सरकार गठनका लागि डा. भट्टराईका चार प्रस्ताव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ सरकार गठनका लागि डा. भट्टराईका चार प्रस्ताव


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नयाँ सरकार गठनका लागि चार प्रस्ताव राखेका छन् । डा. भट्टराईले बुधवार ट्विटरमार्फत वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

उनले देशको सङ्कट हल गर्न सुझाव दिँदै सबै दलहरूलाई राष्ट्रिय सरकार गठनमा लाग्न भनेका छन् । उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार यस्तो सरकार बन्नुपर्ने धारणा राखेका छन् । उक्त उपधारामा दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान रहेको छ ।

उनले दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरु रहेको निर्देशक समिति बनाएर जान सकिने बताएका छन् ।

उनको प्रस्तावमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधन लगायत मुद्दासमेत प्राथमिकता राखिएको छ । प्रस्तावमा एक वर्षभित्र चुनाव गर्नुपर्ने कुरालाई पनि समेटेका छन् ।

सोमबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री पद स्वतः गएको थियो।

त्यसपछि प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा नयाँ सरकार बनाउने गरी गृहकार्यमा लागिरहेका छन् । तर जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष वैकल्पिक सरकारको पक्षमा देखिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस