कोभिड भ्याक्सिनका लागि अमेरिकासँग पहल, चीनसँग अन्तिम चरणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोभिड भ्याक्सिनका लागि अमेरिकासँग पहल, चीनसँग अन्तिम चरणमा


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन संयुक्त राज्य अमेरिकासँग पहल सुरु गरेको छ भने चीन सरकारसँग भइरहेको पहल अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्याक्सिन सहयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल भइरहेको छ ।

‘संयुक्त राज्य अमेरिकासँग कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराई दिन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको र भ्याक्सिन सहयोगका लागि चीन सरकारसँग भइरहेको पहल अन्तिम चरणमा पुगेको छ’, परराष्ट्र मन्त्रालयले भनेको छ ।

त्यसैगरी स्वास्थ्य सामाग्री तथा उपचारमासमेत क्रमिकरुपमा सुधार भईरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । हिजोसम्म एक हजार सात सय १४ आएसीयू रहेकोमा आज एक हजार सात सय ५५ आइसियु सञ्चालनमा रहेको र ६ सय ९२ भेन्टिलेटरबाट आज सात सय १७ भेन्टिलेटर प्रयोगमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरले विभिन्न उद्योग तथा कम्पनीहरूबाट क्रमशः चार हजार नौ सय ३९, ५३ र एक सय ८५ अक्सिजन सिलिन्डरहरू नियन्त्रणमा लिई अस्पताल प्रयोजनका लागि सङ्कलन गरेको छ । यसरी सङ्कलित सिलिन्डरहरूमध्ये चार हजार ३४ वटा अक्सिजन सिलिन्डर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागको आधारमा विभिन्न अस्पतालहरूमा वितरणको प्रबन्ध भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सालु फार्मेसी महाराजगन्जलाई कोभिड सङ्क्रमणको उपचारार्थ प्रयोग हुने रेम्डेसिभिरको कालोबजारी गरेकोमा कानुन बमोजिम नियन्त्रणमा लिई औषधि पसललाई सिल गरेको छ ।

यस्तै ३० लाख १० हजार ८८ मेडिकल उपकरण र १२ हजार तीन सय ६३ औषधि भन्सारबाट पैठारी गरिएको छ । जसमा चार सय दुई डिजिटल इन्फ्रारेड थर्मोमिटर, १२ हजार एक सय ४१ किलो स्यानिटाइजर चार हजार ७७ फेस मास्क, दुई सय २२ डायग्नष्टिक÷ल्यावोरेटरी रिजेन्टस्, ६ हजार अक्सिजन मास्क, आठ नेजल क्यानुला, ३० लाख सिरिन्ज र चार मेडिकल सर्किजल फर्निचर पैठारी गरिएको जनाइएको छ ।

अक्सिजन प्रयोग गरी वस्तु उत्पादन गर्ने १० उद्योगबाट एक हजार एक ३४ अक्सिजन सिलिन्डर स्वास्थ्य प्रयोजनको लागि उपयोग गर्ने गरी प्रबन्ध मिलाइएको छ भने काठमाडौँ उपत्यका बाहिर १८ अक्सिजन उत्पादन गर्ने कम्पनी रहेको र प्रतिघण्टा उत्पादन दुई हजार आठ सय २५ क्युबिक मिटर क्षमताका उद्योगहरू सञ्चालनमा रहेका छन् ।

काठमाडौँ उपत्यकामा १० अक्शिसन उत्पादन गर्ने कम्पनी र प्रतिघण्टा उत्पादन २,४६० क्युबिक मिटर क्षमताका उद्योगहरू सञ्चालनमा छन् जसमध्ये ४७,००० ठुलो सिलिन्डर र २९,९१० सानो सिलिन्डर उत्पादन गर्ने क्षमताका उद्योगहरू सञ्चालनमा रहेका छन् ।

यस्तै चाल्नाखेलस्थित सगरमाथा अक्सिजनको प्लान्ट मर्मत गर्न नेपाली सेनाका प्राविधिकहरूलाई खटाइसकिएको भने बनेपास्थित नवज्योति अक्सिजन प्लान्टका सबै कर्मचारीहरू कोभिड सङ्क्रमित भएकाले उक्त उद्योग पुन सञ्चालनका लागि नेपाली सेनालाई प्राविधिक जनशक्ति खटाउन अनुरोध गरिएको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला र पोखरा विमानस्थलबाट जम्मा ३१ उडान मार्फत ९१ यात्रुहरूको उद्धार गरेको छ । ट्राभल तथा टेक्रिङ्ग तर्फ धुन्चे र पोखराका स्थल मार्गहरूबाट जम्मा ९ पोलिस नागरिक तथा युक्रेनी नागरिकहरूलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ । त्यसै गरी सगरमाथा क्याम्प–२ बाट एक पर्यटकको उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

नेपाल सरकार प्रत्येक व्यक्तिको स्वास्थ्य, सुरक्षा र सुविधाको प्रत्याभूतिमा अत्यन्त संवेदनशील रहेको र यस अवस्थामा प्रत्येक व्यक्ति तथा समुदायले नेपाल सरकारद्वारा जारी आदेश, निर्देशन, अपिल र अनुरोधको मर्म एवम् भावनाको इमानदारितापूर्वक पालना र कार्यान्वयन गर्नु नै सर्वोत्तम विकल्प भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालका प्रवक्ता किरण राज शर्माले बताएका छन् ।

साझा प्रयत्नबाट कोभिड–१९ लाई परास्त गर्न हामी सबैको समान भूमिका तथा दायित्व रहने बताउँदै शर्माले भने यस संवेदनशील घडीमा महामारीबाट छिटो उन्मुक्ति पाउन सबै नागरिकसँग सहयोग समन्वय र तत्परताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हार्दिक अनुरोध गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस