आगलागी र सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आगलागी र सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा बुधवार भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्यूठानमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारास्थित रमेश रानाको गोठमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल र ३ वर्षीया छोरी चन्द्रकलाको तथा इटहरी उपमहानगरपालिका–५ शान्ति चोकमा डिसहोमको तार जोड्ने क्रममा ललितपुरको महाकाल गाउँपालिका–४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

टीकापुर नगरपालिका–१ सन्त निरंकारी चोकमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पदमा साउँद तथा भोजपुरको हतुवागडी गाउँपालिका–२ लुङ्गिनस्थित सडकमा ट्याक्टर पल्टिँदा त्यसका सहचालक २० वर्षीय नवीन राईको घटनास्थलमै मृत्यु भएको छ ।

धादिङको खनियाबाँस गाउँपालिका–२ डुन्डुरेमा सडकबाट खस्दा रुविभ्याली गाउँपालिका–५ लापा बस्ने १४ वर्षीय अनिल तामाङको पनि घटनास्थलमै मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका–३१ न्यकाटोलमा ट्रयाक्टरको ठक्करबाट ७ वर्षीय शेख साहिदको ज्यान गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस