प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउँछौं: पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउँछौं: पौडेल


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने पौडेलको दाबी रहेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै उनले भने,‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’

काँग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए । पौडेलले अगाडि भने, ‘अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौं ।’

सरकारको नेतृत्व काँग्रेसले गर्ने भन्दै उनले जनता समाजवादी पार्टीको माग पूरा गर्न आफूहरु प्रयासरत रहेको बताएका छन् । उनले भने, ‘जनता समाजवादीका नेताहरुसँग कुरा गर्छौं । उहाँहरुका माग पूरा गर्नलाई हामी प्रयास गर्छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस