संवैधानिक निकायका प्रमुखहरू कानुनी रुपमा भन्दा सेटिङमा चलेको प्रचण्डको आरोप « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

संवैधानिक निकायका प्रमुखहरू कानुनी रुपमा भन्दा सेटिङमा चलेको प्रचण्डको आरोप


२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरू नै सेटिङमा चलेको आरोप लगाएका छन् ।

स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताए ।

अध्यक्ष दाहालले अहिले संविधान, नियम, कानुनले काम नगरेर सेटिङले काम गर्न थालेको पनि दाबी गरे । ‘अहिले तपाईं हामीले धेरै सुन्ने गरेको शब्द सेटिङ । देशभित्रका बाहिरका विभिन्न संवैधानिक निकाएका प्रमुखबीच सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने,’ उनले भने, ‘त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताका अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विडम्बनाको सामना गर्ने विचित्रको परिस्थितिमा हामी छौं ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँगको विवाद व्यक्तिगत नभएर वैचारिक भएको दाहालको दाबी छ । ओलीले लिएको बाटो र आफूले लिएको बाटोको कतै तालमेल नुहँदा अहिलेको स्थिति सिर्जना भएको उनले बताए ।

अहिले प्रतिगमनतिरको यात्रा सरकारबाटै सुरु गरिएको भन्दै दाहालले त्यसलाई रोक्न संकल्प गर्नुपर्ने बताए ।

वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा चैत ३ गते निधन भएको थियो । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस