६ करोड बढी मूल्य कबोल गर्ने ओम्‍नीसँगै मुछिएको म्याक्सलाई सेक्युरिटी प्रेसको ठेक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६ करोड बढी मूल्य कबोल गर्ने ओम्‍नीसँगै मुछिएको म्याक्सलाई सेक्युरिटी प्रेसको ठेक्का


१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापनाका पहिलो चरणमा आउने ‘सेक्युरिटी प्रेस मेसिन’को ठेक्का म्याक्स इन्टरनेसनललाई दिने भएको छ ।

प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरे पनि ओम्नी समूहसँग मिलेमतोमा सूचना-प्रविधिको ठेक्का हात पार्ने आरोप लागेको म्याक्सलाई नै ठेक्का दिन लागिएको हो ।

प्रतिस्पर्धामा सहभागी ४ कम्पनीमध्ये ठेक्कामा मूल्यका आधारमा दोस्रो भएको कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव गरेर पहिलो भएको कम्पनीलाई ठेक्का नदिएर दोस्रोलाई दिएको छ ।

बिहीबार सुरक्षण मुद्रण केन्द्रले आपूर्तिकर्ता कम्पनी छनोट भएर ठेक्का लगाउन लागिएको भन्दै दाबी विरोधको लागि सूचनासमेत निकालेको छ । म्याक्स दूरसञ्चार प्राधिकरणले विद्यालयहरूमा सूचना प्रविधि ल्याब स्थापना गर्न लगाएको ३ अर्ब ५० करोड मूल्यको ठेक्कामा ओम्नी समूहसँग ज्वाइन्ट भेन्चर गरेको कम्पनी हो ।

म्याक्सलाई दिनकै लागि गत फागुन २ गते ठेक्का आह्वान भएकोमा केन्द्रले चैत ३ मा म्याद सकिनुभन्दा एक हप्ताअघि फागुन २६ मा स्पेसिफिकेसन बदलेको थियो ।

पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ४० करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्युरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने व्यवस्थालाई संशोधन गरेर ‘३८ करोड रुपैयाँ’ कायम गरिएको थियो ।

कम्पनीको वार्षिक कारोबारको सीमासमेत घटाइएको थियो । वर्षमा ६० करोडको कारोबार रकमको सीमा तोकिएकोमा घटाएर ५५ करोडमा झारिएको थियो । छापिएका सामग्रीको ‘आउटपुट रिजोलुसन’ ‘८१२ डीपीआई २ एट बिट’ लाई झारेर ‘६०० डीपीआई २ एट बिट’ बनाइएको थियो ।

यसअघि सरकारले फ्रान्सको आईएन ग्रुपसँग सरकारीस्तर(जीटुजी) प्रक्रियाबाट सुरक्षण मुद्रण खरिद गर्न प्रक्रिया अघि बढाएकोमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको करोडौँ घुस मागेको अडियो प्रकरणपछि सो योजना तुहिन पुगेको थियो ।

बास्कोटाले सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका एजेन्ट विजय मिश्रसँग ७० करोडको डिल गरेको अडियो सार्वजनिक पछि सरकारले सुरक्षण मुद्रणको प्याकेजलाई टुक्र्याएर ठेक्का लगाउन थालेको छ ।

संसद्को सार्वजनिक लेखा समितिले गतवर्ष ८ फागुनमा आर्थिक घोटाला भएको ठहरसहित सेक्युरिटी खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिए पनि सुरक्षण मुद्रण केन्द्रले प्रतिनिधि सभा विघटित भएको मौका छोपी नयाँ टेन्डर खुलाएको थियो ।

पछिल्लो समय सरकारी सर्भरको सुरक्षा तथा उपकरणमासमेत कुरा उठ्न थालेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौललगायतकै ग्रुपहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहँदै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र एक उदाहरण मात्रै हो । हरेक वर्ष करोडौँ खर्च गर्दै आएको केन्द्रले सामान्य इन्टरनेटसमेत राम्ररी चलाउन नसकेर आजित छन् मन्त्रालयहरू । यहाँ राखिएका भनिएका उपकरणहरूको गुणस्तर तथा क्षमताकै कारण सरकारी डोमेनहरूसमेत राम्ररी चल्दैनन् मात्रै सरकार तथा राष्ट्र प्रमुखहरूकै मेल ह्याक हुन्छन् ।

लाइसेन्सका लागि फारम भर्न राखिएको १२ बजे कुर्नुपर्ने सर्भर पनि यहीँको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस