इटलीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी फेरि अस्पताल भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इटलीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी फेरि अस्पताल भर्ना


एजेन्सी

१२ चैत्र २०७७, बिहिबार


रोम । इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी फेरि अस्पताल भर्ना भएका छन् ।

अदालतमा सुनुवाई चलिरहेका बेला उनलाई बुधबार फेरि अस्पताल भर्ना गर्नुपरेको उनका वकिलहरूले जानकारी दिएका छन् ।

‘गत सोमबारदेखि नै उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो, त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ,’ मिलानमा भएको सुनुवाइका क्रममा उनका वकिल फेडेरिको सेक्केनीले भने।

सन् १९८० को दशकदेखि इटलीमा प्रभावशाली व्यक्तिका रूपमा रहेका बेर्लुस्कोनी इटलीको तीन पटक प्रधानमन्त्री बनेका थिए ।

उनी सञ्चार उद्यमीसँगै अरू धेरै व्यवसायिक संलग्नताका कारण देशमा प्रभावशाली बन्दै राजनीतिक नेतृत्वमा आएका हुन् ।

लामो समय देशमा निर्णायक जस्तै बन्दै आएका बेर्लुस्कोनी पछिल्लो केही समयदेखि अस्वस्थ भएका छन् । उनी अहिले ८४ वर्ष पुगेका छन् ।

सन् २०१६ मा उनको मुटुको शल्यक्रिया गरिएको थियो । गत सेप्टेम्बरमा पनि उनलाई ११ दिन अस्पताल राख्नु परेको थियो । उनलाई त्यतिबेला कोरोना भाइरसको सङ्क्रमणसमेत पुष्टि भएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सक र उनका सहयोगीहरूले बेर्लुस्कोनीको अवस्था स्थिर नै रहेको र चिन्ता गर्नु नपर्ने बताएका छन् ।

शक्ति र स्रोतको दुरूपयोग गरेको र आर्थिक अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस