सरकारी सेवामा कार्यालय समय र यसको उपयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी सेवामा कार्यालय समय र यसको उपयोग


३ माघ २०७७, शनिबार


‘टाइम म्यानेजमेन्ट’ पुस्तकमा रिचार्ड वाल्सले पल सोङ्गाजलाई उद्धृत गर्दै लेखेका छन् – ‘आजसम्म कसैले पनि कार्यालयमा पर्याप्त समय व्यतीत गर्न नपाएको भनेर मर्ने बेलामा पछुतो गरेको सुनिएको छैन ।’

यस भनाइबाट जीवनमा कामजत्तिकै विश्रामको पनि महत्त्व भएको र कार्यालय समयको अत्युत्तम सदुपयोग गरी घरपरिवारसँग पनि पर्याप्त समय व्यतीत गर्नु जरुरी रहेको स्पष्ट हुन्छ । यस सन्दर्भमा कामदारहरूले वर्षमा केही समय अनिवार्यरुपमा बिदा लिनुपर्ने युरोपेली मुलुकहरूको व्यवस्था उपयुक्त मान्न सकिन्छ । उदाहरणका लागि फ्रान्स र स्पेनमा कम्तीमा पाँच हप्ता र स्वीट्जरल्याण्ड र ग्रिसमा चार हप्ता अनिवार्य बिदा लिनुपर्ने व्यवस्था गरिएको पाइन्छ ।

हाम्रो देशको सन्दर्भमा सार्वजनिक र सरकारी निकायहरूमा तत् तत् निकायका नियम कानुन अनुरूप एवं नेपाल सरकार गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित गरिने सूचना समेतका आधारमा कार्यालय समय र बिदा निर्धारण गरिएको छ ।

उदाहरणका लागि, निजामती सेवा ऐन २०४९ को दफा ४१ मा निजामती कर्मचारीहरूले नेपाल सरकारबाट निर्धारित समयमा नियमितरुपले कार्यालयमा हाजिर हुनुपर्ने र निजामती सेवा नियमावली २०५० को परिच्छेद ९ मा कर्मचारीले भैपरी, पर्व, घर, बिरामी, किरिया, अध्ययन र असाधारण बिदा लिन पाउने व्यवस्था गरिएको छ । सोही परिच्छेद अन्तर्गत नियम ५४ मा निजामती कर्मचारीहरूको सबै समय नेपाल सरकारको अधीन हुने उल्लेख छ ।

केही समय अगाडि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न नेपाल सरकारबाट समिति गठन भई उक्त समितिको प्रतिवेदनसमेत सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा विश्वका १२७ मध्ये ११६ र सार्कका अन्य सबै मुलुकमा हप्तामा दुई दिन बिदा दिने प्रचलन रहेको उल्लेख छ ।

साथै उत्पादकत्व वृद्धि, खर्च कटौती, पर्यटन प्रवर्द्धन, लैङ्गिक समानता, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन एवं पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै दुई दिन सार्वजनिक बिदा उपयुक्त हुने सिफारिस गरेको छ । वर्क फ्रम होम र फलेक्सी टाइमको अवधारणा लागू हुँदै गएको वर्तमान विश्व परिवेशमा सेवाग्राही र कार्यालयको काममा नकारात्मक असर नपर्ने गरी कर्मचारीहरूलाई हप्तामा दुई दिन सार्वजनिक बिदा दिनका लागि गरिएको पहलकदमीलाई स्वागतयोग्य मान्न सकिन्छ ।

यसै सन्दर्भमा निजामती सेवालाई जीवन वृत्ति बनाई सोही सेवाको सर्वोच्च पदबाट निवृत्त भएका पूर्व मुख्यसचिव विमल कोइरालाले कार्यालयमा गफ गरेर वा कार्यालयको काम नगरेर बिताएको समय कार्यालय समयमा गनिँदैन भनी दिएको अभिव्यक्ति मनन गर्नु सान्दर्भिक देखिएको छ । यस्तै हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति विना लोक सेवा तयारी कक्षामा निजामती कर्मचारीले पढाउन नपाउने गरी बन्देज लगाएको छ । यी भनाई र पहलकदमी नेपालमा कार्यालय समयको अत्युत्तम उपयोग हुनुपर्ने दिशामा लक्षित रहेकोमा दुई मत नहोला ।

प्रभावकारी कार्यालय समय व्यवस्थापनका लागि कार्यालयको अधिकांश समय कुन कुन कार्यमा र कसरी खर्च भइरहेको छ भन्ने पत्ता लगाउनु आवश्यक छ । उदाहरणका लागि, मिटिङमा धेरै समय खर्च हुने गरेको भए उत्पादक मिटिङमा बढी खर्च हुन्छ कि अनुत्पादक मिटिङमा ? यस्ता अनुत्पादक मिटिङ र यस्तै अन्य अनावश्यक कार्यमा नीति निर्माण तहका पदाधिकारी कर्मचारीहरूको कार्यालय समय व्यतीत हुनुका कारणले नीति निर्माणमा असर परेको त छैन ?

कार्यालय समय अनुत्पादक कार्यमा खर्च हुनु व्यक्ति विशेषको प्रवृत्तिगत समस्या हो कि यो संगठनात्मक संस्कृति नै बनेको छ ? कार्यालय समयमा व्यस्तता मात्रै बढेको छ कि उत्पादकत्व पनि बढेको छ ? कम समयमा बढी काम गर्न वा त्यही समयमा बढी काम गर्नमा मात्र जोड दिइरहेका छौँ कि सही काम छनौट गर्नमा पनि जोड दिइरहेका छौँ ? समय व्यवस्थापनका लागि यी र यस्तै अन्य विविध पक्षका बारेमा अध्ययन विश्लेषण गरिनु जरुरी भएको छ ।

नेपालमा कार्यालय समयको सदुपयोगका बारेमा खासै अध्ययन विश्लेषण भएको पाइँदैन । कार्यालयमा अवलोकन विधिबाट शोध कार्य गर्ने हो भने सरकारी कर्मचारीहरूको कार्यालय समयको बिहानको १ घण्टा र बेलुकाको आधा घण्टा राष्ट्रिय चिन्तन व्यक्तिगत गन्थन भनसुन र मनसुनका विषयमा गफगाफ गर्नमा तथा दिउँसोको १ घण्टा भोजनालयमा र पटक पटक गरी करिब आधा घण्टा शौचालयमा व्यतीत हुने साथै दिनको औसत करिब १ घण्टा अनुत्पादक मिटिङमा एवम् जङ्क मेल ब्रेकिंग न्युज सामाजिक सञ्जाल हेर्न तथा सो सम्बन्धी गन्थन गर्नमा बित्ने गरेको तथ्य उजागर नहोला भन्न सकिन्न ।

यसबाहेक कार्यालयको समय व्यक्तिगत प्रयोजनमा उपयोग गरी वा दिनभरि कार्यालयको कुनै पनि काम नगरी कुनै कर्मचारीको पुरै कार्य दिन त बित्ने गरेको छैन भन्ने कुरा सघन अनुगमन र विश्लेषणबाट मात्रै पत्ता लाग्न सक्दछ ।

कार्यालय समयको उचित व्यवस्थापनका लागि कामै नगरी समय व्यतीत गर्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेर मात्र पुग्दैन काम गरिरहेको समयमा पूरा ऊर्जाशील भई काम गर्नका लागि उत्प्रेरित गरिनु समेत आवश्यक छ ।

कार्यालय समयलाई म्याराथनका रूपमा नभई छोटो छोटो दूरीको दौडका रूपमा उपयोग गर्दा बढी प्रभावकारी हुने मान्यता रहेको पाइन्छ । एक घण्टामा ५०/५५ मिनेट पूरा ऊर्जाशील भई काम गर्ने र १० १५ मिनेट ब्रेक लिने सुझाव रिचार्ड वाल्सले दिएका छन् । यस्तै प्रकृतिको धारणा जिम लोर र टोनी स्वार्जले दि पावर अफ फुल इन्गेजमेन्ट नामक पुस्तकमा राखेका छन् । सरकारी कर्मचारीहरूलाई यस किसिमका अवधारणाहरूसँग परिचित गराउने र व्यवहारिक तालिम दिने कार्य फलदायी हुन सक्दछ ।

हाम्रो देशमा सार्वजनिक क्षेत्रमा पर्याप्त भौतिक, मानवीय र वित्तीय स्रोतको कमी रहेको र भएको स्रोतको पनि अत्युत्तम उपयोग हुन नसकेको चर्चा धेरै सुनिन्छ । तर समयको सदुपयोग हुन नसकेको बारेमा कमै मात्र चासो र चिन्ता प्रकट भएको पाइन्छ । समय मात्रै यस्तो स्रोत हो, जुन कार्यालयमा बिहान १० बजे पुग्नेवित्तिक्कै सबैलाई निःशुल्क र समानरुपमा प्राप्त हुन्छ । हरेक दिन कार्यालय समयका रूपमा आफूलाई प्राप्त भएका पूरा ६/७ घण्टाका अमूल्य क्षणहरूको सदुपयोग सबै सार्वजनिक पदाधिकारी र कर्मचारीले गर्न सकेमा देशले काँचुली फेर्न धेरै समय लाग्ने थिएन कि ।

‘हाव सक्सेसफुल पिपल थिंक’ पुस्तकमा लेखक जोन सी म्याक्सवेलले माइकल मन्टेनको भनाई उद्धृत गर्दै लेखेका छन् –‘जीवनको मूल्य दिनहरूको सङ्ख्यामा नभई दिनहरूको उपयोगको आधारमा निर्धारित हुन्छ । हामी लामो जीवन बाँचेर पनि थोरै मात्र बाँचेका हुन सक्छौँ ।’

यस्तै अर्का विदेशी लेखक रिचार्ड वाल्सले त माइकल फल्टिनोको भनाई सापटी लिँदै ‘हामीले ७ वर्ष बाथरुममा, ६ वर्ष खाना खानमा, ५ वर्ष लाइनको कुराइमा, ३ वर्ष मिटिङमा, २ वर्ष टेलीफोनमा, ८ महिना जंकमेल खोल्नमा र ६ महिना ट्राफिक लाइटमा गरी जीवनको करिब एक चौथाइ समय व्यतीत गरिरहेका हुन्छौँ’ भनेका छन् । यसबाट सामान्यतया जीवनको थोरै मात्र अंश सार्थक कार्यमा व्यतीत हुने अनुमान गर्न सकिन्छ । कार्यालय समयको उपयोगको सन्दर्भमा पनि यही तथ्य नै सत्य हो ।

अन्त्यमा, विषय परिस्थिति र जीवनको अति उत्तरार्द्धका क्षणहरूमा मानिसले जीवनमा सहज र उर्वर समयको सदुपयोग गर्न नसकेको भनी पश्चात्ताप गरेको पढ्न, हेर्न वा सुन्न पाइन्छ । जसरी नदीको कुनै विन्दुमा हरेक क्षण नयाँ पानी बगिरहेको हुन्छ र बगेको पानी फर्केर आउँदैन, त्यसै गरी जीवनमा हरेक पल नयाँ हुन्छ र एकचोटी मात्र आउँछ । त्यसैले जिन्दगी नदीजस्तै बगिरहन्छ भन्ने गरिन्छ । समयको सही सदुपयोग भएन भने पनि नदीको पानी बगेर गएजस्तै समय र समय सँगसँगै जीवन पनि बितेर जाने निश्चित छ । तलको देउडा गीतको इङ्गित गरेजस्तै–
आकाश उड्न्या पन्छी पानी खान्या रैछ
मै त भन्थ्यौं दिन झानान् उमर झान्या रैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस