एक जनाको सङ्क्रमण भेटाउन एक लाख खर्च ! « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एक जनाको सङ्क्रमण भेटाउन एक लाख खर्च !


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । नेपालमा एक जना सङ्क्रमित पत्ता लगाउन एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भइरहेको छ ।

अहिलेसम्म ३० हजार ४८३ सङ्क्रमित पत्ता लगाइएको र पाँच हजार ५ सय प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरिसकेको छ । तीन अर्व १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ पिसिआर परीक्षण खर्च भएको छ । “एउटा सङ्क्रमण भेटाउनका लागि सरकारले अहिले एक जनामा एक लाख ४ हजार ६३० रुपियाँ खर्च भएको छ । उपचारमा खर्च एक व्यक्तिको ३० दिन राख्दा चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ, ”, उनले भने, “ यसरी कोरोनाको जाँच गर्ने र पत्ता लगाउने र उपचार गर्ने पद्धति धेरै नै खर्चिलो भएको छ । जरुरी काम नपरीकन बाहिर ननिस्कनु होला ।”

उनले बाहिर निस्कनै प¥यो भने दुई मिटरको दूरी कायम गरी मास्क र स्यानिटाइजर प्रयोग गर्न तथा घर गइसकेपछि साबुन पानीले मिचिमिची हात धुन अनुरोध गरेका छन् ।

नेपालमा अहिलेसम्म गरिएको परीक्षणमा पाँच लाख ४९ हजार ४१६ जनामा सङ्क्रमण देखिएको छैन । यस्तै १८ हजार २१४ जना निको भई घर फर्किसकेका छन् भने १३७ जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ ।

यसै गरी सङ्क्रमित बढ्न थालेपछि सघन उपचार कक्ष र भेन्टिलेटरमा उपचार गराउने सङ्क्रमित बढेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइसियुमा १३३ र भेन्टिलेटरमा १५ जना छन् । यस्तै पाँच सयभन्दा बढी सङ्क्रमित रहेका ६ जिल्ला मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ छन् । सङ्क्रमित शून्य रहेका जिल्लामा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला छन् ।

उनले सङ्क्रमण रहेका टोल टोलमा अहिले पनि खुला हिँड्ने र नाचगान गरिएको पाइएकाले त्यसो नगर्न अनुरोध गरे । उनले धेरै जनामा सङ्क्रमण फैलियो भने उपचारका लाािग समस्या झनै थपिने बताए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्थानीय तह, क्लब र टोललाई व्यक्तिगत भेटघाट र सामूहिक भेट गर्दा निगरानी गर्न र स्वास्थ्य सचेतना अभियान सञ्चालन, अनुगमन गर्न तथा स्वास्थ्य मापदण्डअनुसार पालना नगरे सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस