गोलभेँडाबाटै मनग्य आम्दानी « प्रशासन
prasaLogo
२२ श्रावण २०७७, बिहीबार

गोलभेँडाबाटै मनग्य आम्दानी


प्रकाशित मिति : 6 August, 2020 3:02 pm

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर रानीथोकका नारायणप्रसाद पौडेल र उनकी श्रीमती कमलाले व्यावसायिक कृषि थालेको आठ वर्ष पुगेको छ ।

कृषिप्रतिको लगावसँगै आयआर्जन राम्रो भएको त छ नै यतिखेर उनीहरू अरुका लागि पनि अनुकरणीय बनेका छन् । रोजगारीको खोजीमा भौँतारिएका युवा वर्गका लागि यहीँ बसेर केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका उनीहरूले यामअनुसारका तरकारीसँगै पछिल्ला समयमा बजारमा राम्रो माग बढिरहेका किवी, भुइँस्याउजस्ता फलफूलको खेतीसमेत थालेका छन् ।

कृषिको आधुनिकीकरणमा ध्यान दिँदै करिब दुई रोपनी क्षेत्रफलमा टनेल निर्माण गरी त्यहाँ लगाइएका गोलभेँडाले राम्रो उत्पादन दिन थालेको र त्यहीअनुरूप बजारको माग बढेपछि आफूहरूमा अझै उत्साह बढेको कृषक नारायणप्रसादले बताए । आफ्नो १७ वर्षसम्मको विदेश बसाइका क्रममा कृषि क्षेत्रका देखाइभोगाई समेतलाई व्यावसायिक कृषिमा उपयोग गर्ने गरेको उनले बताए ।

‘विदेशको बसाइका क्रममा पनि त्यहाँबाट विभिन्न जातका बीउ ल्याएर लगाउने गरेका थियौँ’, उनले भने, ‘कतारबाट ल्याएको बीउबाट तयार गरिएका बिरुवामा एउटै गोलभेँडा झण्डै आधा किलोसम्म फल्न थालेको छ ।’ पौडेल दम्पतीले एक रोपनी क्षेत्रफलमा किवीखेती पनि शुरु गरेको र यसै वर्षदेखि फल्न थालेको छ ।

नारायणप्रसादकी श्रीमती कमलाका अनुसार आठ वर्षअघिसम्म यो ठाउँमा गोलभेँडा लगाउनेभन्दा सबै हाँस्ने गर्दथे । शुरुमा आफूसहित चार महिलाले आँट गरेर गोलभेँडा लगाएको र त्यसबाट राम्रो उत्पादन भएपछि यहाँका धेरै सर्वसाधारणले यतिखेर यसको खेती थालेका छन् । जीवनोपयोगी कृषक समूह गठन गरी पहिलो वर्ष चार जनाबाट शुरु गरिएको गोलभेँडा खेती राम्रो उत्पादन भएसँगै दोस्रो वर्ष यहाँका २० घरपरिवारले घरघरमा गोलभेँडा लगाएको उनले जानकारी दिए ।

गोलभेँडाबाटै वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिँदै उनले व्यावसायिक कृषिबाट घरपरिवारको दैनिकी सञ्चालनका साथै छोराछोरीको पठनपाठन राम्रैसँग चलेको जानकारी दिए । उत्पादित गोलभेँडा एवं तरकारीको बजारलाई समस्या नभएको बताउँदै उनले टनेलबाट दुई दिनमा करिब ५० किलोसम्म बिक्री गर्ने गरेको उल्लेख गरे । उत्पादित तरकारी खोज्दै ग्राहक डोको लिएर घरघरमै आउने गरेको उनको भनाइ छ ।

पौडेलको बारीमा गोलभेँडाका साथै यामअनुसार काउली, बन्दा, आलु, साग, घिरौँला, लौका, काँक्रा आदिको पनि राम्रो उत्पादन हुने गरेको छ । व्यावसायिक कृषिमा लागेको आठ वर्ष पुगे पनि पौडेल दम्पतीले हालसम्म राज्यबाट कुनै सेवा सुविधा भने पाएका छन् । परम्परागत कृषिमा पनि पाउँदुर वर्षौँदेखि आफ्नो पहिचान बनाएको ठाउँ हो । विगतमा कोदोको राम्रो उत्पादन हुने स्थानका रूपमा यसले छुट्टै पहिचान बनाएको थियो ।

अनिकालका समयमा पनि पाउँदुरे कोदो कास्कीका विभिन्न स्थानमा पुग्ने गरेको र त्यही कुरामा आधारित भई ‘दुःखको पाउँदुर’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । पहिला–पहिला एउटै घरमा वार्षिक सात–आठ मुरीसम्म कोदो उत्पादन हुने गरेको भए पनि पछिल्ला समयमा जनशक्तिको अभाव, कोदो खेतीप्रतिको अनिच्छालगायतका कारण कोदोखेतीप्रतिको आकर्षण घट्दै गएको छ ।

‘पहिला कोदोको उत्पादन राम्रै हुन्थ्यो त्यस समयमा ढिँडो, रोटी खाँदा पनि लुकाएर खानुपर्ने अवस्था थियो”, पौडेलले भने, ‘अहिले उत्पादन एकदमै कम छ, कोदोको माग दिनानुदिन बढ्दो छ ।’ कृषिप्रतिको व्यावसायिकता बढेसँगै पछिल्लो समयमा महिला क्षमता अभिवृद्धि कार्यक्रममार्फत यहाँका १४ महिला मिलेर सामूहिक कुरिलो खेती थालेका छन् । यसै वर्षदेखि कुरिलोले राम्रो उत्पादन दिन थालेको कमलाले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस