पाल्पाका किसान केरा खेतीतर्फ आकर्षित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाल्पाका किसान केरा खेतीतर्फ आकर्षित


१५ श्रावण २०७७, बिहिबार


रामपुर । पाल्पाका किसान अन्नबालीभन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् ।

परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा केराका बिरुवा लगाउन थालेका छन् । केरा खेतीतर्फ आकर्षित गर्नका लागि प्रदेश सरकारले पाल्पामा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेपछि यहाँका किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत अनुदान कार्यक्रम ल्याएपछि किसानले खेतबारी र बाँझो जमीनमा केरा लगाएर हराभरा बनाउन थालेका छन् ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । जिल्लाको रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाको ज्यामिरे क्षेत्रमा व्यावसायिक रुपमा नै केरा खेती गरिएको छ । बगनासकाली गाउँपालिका–६ शिखरडाँडामा ओम कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओम पचभैयाले २० रोपनी क्षेत्रफलमा केरा लगाएका छन् ।

अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले केराखेतीतर्फ आकर्षित भएको किसानको भनाइ छ । किसानका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमीनलाई उपयोगमा विस्तारै केरा खेती विस्तार गर्दै लगिएको छ । केरा खेतीलाई अन्नबालीको जस्तो स्याहारसुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यकता नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छाडेर केराखेतीतर्फ लागेको किसानले बताएका छन् ।

अन्नबालीको तुलनामा किसानमा केरा खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । केरा खेती विस्तार तथा प्रवद्र्धनका लागि कृषि ज्ञानकेन्द्र पाल्पाले आव २०७६/७७ मा ५० प्रतिशत अनुदानमा रु एक लाखको एक हजार ६०० ‘जि नाइन’ जातको केराको बिरुवा, युरिया, पोटास तथा प्राङ्गारिक मल सहयोग गरेको छ । रामपुर नगरपालिका–६ मा सञ्चालित रामपुर केरा पकेट क्षेत्र समितिलाई २०७६/७७ मा ५० प्रतिशत अनुदानमा पाँच वटा हाते ट्याक्टर, जि नाइन जातको ९भाइरसजन्य रोगबाट मुक्त० तीन हजार केराका बिरुवा, युरिया, पोटास, प्राङ्गारिक मल उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केरा पकेट क्षेत्रका रुपमा रामपुर चिनाउने र यसैबाट प्रशस्त आयस्रोत लिन सकिने हुँदा पकेट क्षेत्र विस्तारमा लागेको समितिका अध्यक्ष लोकनाथ ढकालले बताए । उनले धान मकै गहुँ राम्रै उत्पादन हुने करिब नौ रोपनी जग्गामा मालभोग, जि नाइन र उइलियम जातको ९०० बोट केरा लगाउनुभएको छ । केराको खेतीका लागि राम्रो सम्भावना बोकेको हुँदा रामपुर नगरपालिका क्षेत्रका किसानले अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी गर्न सक्ने कृषि शाखा प्रमुख रामहरि पाण्डले बताए। रामपुर नगरपालिका क्षेत्रमा करिब ५०० रोपनी क्षेत्रफलमा केरा खेती गरिएको छ । व्यावसायिक रुपमा यहाँका २५ कृषकले केरा लगाएका छन् ।

यो क्षेत्रका लागि उत्तम मानिएको जी नाइन, उइलियम हाइब्रिड, रगुस्ता, मालभोग जातको केरा कृषकले लगाएका छन् । फालिएका जग्गा सदुपयोगमा आउने हुँदा पनि पछिल्लो समय कृषकले व्यावसायिक तबरबाट केरा लगाउन थालेका हुन् । कृषि शाखाले केरा खेती सम्बन्धमा स्थलगत रुपमा प्राविधिक सेवा दिन थालेपछि कृषकले व्यवसाय बढाउँदै गएका छन् ।

जिल्लामा केरा खेती गरिने ६७ हेक्टर जमीनमध्ये हाल उत्पादनशिल ५७ हेक्टर जमीनमा केरा लगाइँदै आएको कृषि ज्ञानकेन्द्र पाल्पाका वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार वार्षिक रुपमा यहाँ ८७० मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।

बाँझो रहेका जग्गा सदुपयोग हुने, बजारमा केराको माग बढ्न थालेपछि कृषकले व्यावसायिक तबरबाट केरा खेती शुरु गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । केरा पकेट क्षेत्रका लागि कम्तीमा २०० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्नेछ । केराका लागि व्यावसायिक सम्भावना जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिका–१ को हुँगी क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस