‘अपरिचित देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउनू’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘अपरिचित देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउनू’


४ जेष्ठ २०७७, आइतबार


ललितपुर । गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम मुलुकमा बढ्दै जाँदा एक महिलाको समेत मृत्यु भएको समयमा आफू पनि सुरक्षित रहने र आफ्नो गाउँ या समुदायलाई पनि सुरक्षित बनाउन नगरपालिकाले उक्त सूचना जारी गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनामा चिया र मदिरा पसल पूर्णरूपमा बन्द गर्न आह्वान गरिएको छ । किराना, तरकारी तथा खाद्यान्न पसल बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न दिइने बताइएको छ । आवश्यक कामकाजबाहेक एक गाउँटोलबाट हिँडडुल गर्न र सार्वजनिकस्थलमा जमघट नहुन सूचनामा अनुरोध गरिएको छ ।

गोदावरीका औषधि पसल २४सै घण्टा खोल्न सकिने र कृषि तथा खेतीपातीसम्बन्धी कार्य गर्दा भीडभाड नगरी थोरै सङ्ख्यामा सामाजिक दूरी कायम राखी गर्न र गराउनसमेत अपिल गरिएको छ ।

आज र भोलि कोरोना परीक्षण हुँदै
गोदावरीमा आज र भोलि दुई दिन कोरोना परीक्षण गरिने भएको छ ।

कारोना महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गरिरहनुभएका स्वास्थ्य, सञ्चार र सुरक्षकर्मी, राहत वितरण कार्यमा खटिनुभएका व्यक्ति, औषधि पसल र फोहरमैला व्यवस्थापनमा कार्यारत मानिसलगायत कोभिड–१९ प्रभावित जिल्लाबाट आएका व्यक्ति, एम्बुलेन्स चालक, वडामा आएका नयाँ व्यक्ति, तरकारी बिक्री वितरणमा संलग्न व्यक्ति तथा जनप्रतिनिधिको आरडिटी र पिसीआर दुवै माध्यमबाट परीक्षण गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस