दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा


२० बैशाख २०७७, शनिबार


नयाँदिल्ली । भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिएका हुन् ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उनले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिएका हुन्।

उनका अनुसार देशभरका २८४ जिल्लालाई ‘ओरेन्ज जोन’ र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।’ उनका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले संक्रमणमुक्त भइसकेका छन् ।

देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस