अधिकृतबाट घरभाडा नलिने घोषणा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अधिकृतबाट घरभाडा नलिने घोषणा


१० बैशाख २०७७, बुधबार


जुम्ला । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गरेका छन् ।

चन्दननाथ नगरपालिका – ४ पीपलधारा मालाभिडका टोपबहादुर बुढाले सरकारले चैतको घरभाडा नलिन आह्वान गरेपछि आफूले पनि घरभाडा नलिने बताए ।

गत चैतको मासिक घरभाडा रु २० हजारसहित पानी र बिजुलीको महसुल पनि नलिने निर्णय गरिएको उहाँकी पत्नी सीताले जानकारी दिए । यसअघि चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले दुई घरको मासिक रु ३१ हजार ५०० र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले रु २१ हजार घरभाडा नलिने घोषणा गरेका थिए ।

यसैबीच उच्च अदालत सुर्खेत, जुम्ला इजलासले म्याद नाघेको नुन वितरण नगर्न र गर्न नलगाउन आदेश गरेको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि हिमा गाउँपालिकाले राहत वितरण गर्दा म्याद नाघेको नुन वितरण गरेको भन्दै सोही गाउँपालिका – १ का प्रतिभा शाही र नेत्रबहादुर शाहीले यही वैशाख ७ गते रिट निवेदन दायर गरेपछि अदालतले वैशाख ९ गते सो आदेश गरेको हो ।

मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दका अनुसार म्याद नाघेको नुनका विषयमा गाउँपालिका र गाउँ कार्यपालिकाका नाममा रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस