छाडा कुकरलाई खाना र पानी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छाडा कुकरलाई खाना र पानी


६ बैशाख २०७७, शनिबार


बनेपा । बनेपा नगरपालिका–८ का सर्वश्री अधिकारीले बजार क्षेत्रमा छाडा छाडिएका सामुदायिक कुकुरलाई खाना (बिस्कुट, पाउरोटी, केक) र पानी खुवाउँदै आएको करिब २५ दिन भयो ।

उनले हरेक दिन बनेपाका विभिन्न ठाउँमा पुगेर छाडा कुकुरलाई बिस्कुट, पाउरोटी, केकलगायतका खाना र पानी दैनिकरूपमा ख्वाउँदै आएका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण खानाको अभावमा छटपटाइ रहेका छाडा कुकुरलाई बनेपा नगरपालिका–८ का सर्वश्री अधिकारी र रोहित श्रेष्ठले खाना र पानीलगायतको व्यवस्था गर्दै आएका छन् । करिब तीन साता अगाडिदेखि उनीहरूले सडकका विभिन्न ठाउँ र खम्बामा भाँडासमेत झुण्ड्याएर अरुलाई पनि अभियानमा साथ दिन प्रेरित गर्दै आएका छन् । त्यससँगै सडकपेटीमा बेवारिसे अवस्थामा रहेका मान्छेलाई समेत खानाको व्यवस्था गर्दै आइरहेको अधिकारीले बताए।

घर, पसल र होटल बन्द भएपछि छाडा रहेका ती पशु चौपायले खाना र पानीसमेत नपाउने अवस्था देखेपछि खाना र पानीको व्यवस्था गर्दै आएको सर्वश्री अधिकारीले बताए। बजार क्षेत्रमा भेटेका जतिलाई ख्वाउने र नभेटेकालाई पछि खान मिल्ने गरी भाँडामा हालेर बिजुली र अन्य खम्बामा बाँधेर राख्ने व्यवस्था मिलाएको उनले बताए। “बनेपाको पुलबजारदेखि बुडोलसम्म र पनौतीको ढलमलेसम्मका बजारक्षेत्रमा रहेका कुकुर, गाईलगायतका पशु चौपायलाई खाना र पानीको व्यवस्थापन गर्दै आएका छौँ”, उनले भने, “घर पसल र होटल बन्द भएपछि खाना नपाएर छट्पटिएर बसेका प्राणीको प्राण धान्नका लागि यो अभियान चलाएका हौँ ।”

“आफ्नो ज्यानको कसलाई पो माया नहोला र ? त्यो पनि यस्तो महामारीको बेलामा । तर यी भोक र प्यासले छट्पटिएका सडकमा आश्रित मानव तथा पशुपक्षीलाई पनि त केही गर्नुपर्‍यो नि होइन त ?”, उनले भने, “प्रशासनसित अनुमति लिएर हामी सुरक्षित भएर बजारका विभिन्न ठाउँमा पुगेर यस्तो काम गर्दै आइरहेका छौँ ।” बनेपामा अहिले त धेरै मानिसले पनि पशुपक्षीलाई दानापानी दिन थालेको उल्लेख गर्दै उनले अरुले पनि यसको सिको गर्दै अगाडि बढ्न आग्रह गरे ।

त्यसका लागि बनेपाको बाहिरी र भित्री सडक छेउमा रहेको खम्बामा करिब ८० ठाउँमा त्यसरी भाँडा झुण्ड्याएर राखिएको छ । ती ठाउँमा बेकरीले बचेको पिठो बनाएर दिइरहेका छन् । आफूहरूले चलाएकोे अभियानमा बाटोमा हिँड्नेले पनि रु २०० देखि रु एक हजार सहयोग गरेको अधिकारीले बताए । ‘प्रोजेक्ट डक फिड’ नाम दिएर चलाएको अभियानमा नगरपालिकाले साथ दिएमा छाडा चौपायले बाँच्न पाउने अधिकार प्राप्त गर्ने उनको भनाइ छ ।

त्यसरी काम गरेर हिँड्दा परिवारले जोखिम मोलेर काम नगर्न आग्रह गरिरहे पनि छाडा पशुले पनि जिउन पाउने अधिकारलाई सुनिश्चित गर्न मैले निरन्तर सहयोग गर्दै आएको उनले बताए । “हाम्रो कामलाई देखेर धेरैले म्यासेन्जरमा र प्रत्यक्ष भेटेर कुराकानी गरेर नगद र सामान दिएर सहयोग गर्दै आइरहुनभएको छ”, उनले भने, “यो अभियान बन्दाबन्दी नखोलेसम्म जारिरहनेछ ।” ग्लोब्स, मास्क र स्यानिटाइजर प्रयोग गरेर त्यसरी काम गरिरहेका छन् । त्यसरी हिँड्दा अलि असुरक्षित महसुस हुने भएकाले आफूहरूलाई पनि कतैबाट व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध भएमा राम्रो हुने उनको भनाइ छ ।

उनीहरूको काम देखेर शुक्रबार ज्योति लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रशिला सिग्देल तिमल्सिनाले तीन बाक्सा बिस्कुट सहयोग गरे । सामुदायिक पशुलाई बन्दाबन्दीको बेलामा पनि खाना र पानी ख्वाउँदै गरेको देखेपछि आफ्नो तर्फबाट सानो सहयोग गरेको उनले बताए । नेपाल एनिमल एण्ड वेलफेयर रिसर्च सेन्टरका प्रतिनिधि रोहित श्रेष्ठका अनुसार बनेपा नगरभरिमा करिब दुई हजारभन्दा बढी कुकुर रहेका छन् ।

यसैगरी पनौती नगरपालिका पशुपक्षी शाखाको आयोजना र नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको संयोजनमा पनौती नगरभित्रका सामुदायिक कुकुरलाई खाना र पानीको व्यवस्थापन गर्दै आएको जनाएको छ । शाखा प्रमुख मणि सापकोटाका अनुसार नगरपालिकाभित्रका सबै बजार क्षेत्रमा सामुदायिक कुकुरलाई खानापानीको व्यवस्था गरिरहेको छ । “उहाँहरूसँग ज्ञान र स्रोत साधन पनि भएकाले नेपाल एनिमल वेलफेयर रिसर्च सेन्टरको सहयोगमा नगर पशुपक्षी शाखाले पशु चिकित्सकसमेत पठाएर गर्नुपर्ने काममा आवश्यक सहयोग गरिरहेका छौ”, सापकोटाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस