पैदल यात्रीलाई खाने र बस्ने व्यवस्था मिलाउन पार्टीका भातृ र शुभेच्छुकलाई देउवाको आग्रह « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पैदल यात्रीलाई खाने र बस्ने व्यवस्था मिलाउन पार्टीका भातृ र शुभेच्छुकलाई देउवाको आग्रह


५ बैशाख २०७७, शुक्रबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण अलपत्र परेका र राजधानीबाट घर जान चाहने नागरिकबारे चासो देखाएका छन् ।

कोरोना भाइरस(कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन पछि राजधानीमा बस्न खानै असहज भएको भन्दै मजदुर राति राति हिँडेर गाउँ फर्किहरेको खबर सार्वजनिक भएसँगै देउवाले शुक्रवार उनीहरूलाई सहयोग गर्न सरकारसँग माग गरेका हुन् ।

पहिलो ट्विटमा देउवाले जनतालाई सुरक्षित तरिकाले गाउँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । ‘राजधानीबाट घर जाने ती जनताहरूलाई तत्काल गासवासको प्रबन्ध गरी सुरक्षित ढङ्गले गाउँ पुर्‍याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु’, देउवाले लेखेका छन् ।

दोस्रो ट्विटमा निमुखा नागरिकको पीडामा सरकार दर्शक बनेको भन्दै आपत्ति जनाएका छन् । ‘काठमाडौँमा श्रम गरिरहेका नागरिकहरू खाना र बस्ने व्यवस्था नुहदा सयौँ किलोमिटर पैदल हिँडेर घर गइरहेका छन्। सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो’, देउवाले दोस्रो ट्विटमा लेखेका छन्, ‘तर सरकारमा बसेकाहरू ती निमुखाहरूको त्यो यात्राको दर्शक मात्रै भएका छन्।’

तेस्रो ट्विटमा भने देउवाले दुःख पाएका नागरिकलाई पार्टीका भातृ र शुभेच्छुक संस्थाका साथीलाई सामाजिक दुरी कायम गर्दै खाने र बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

‘लकडाउनको कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिँडेर घर गइरहेका नागरिकहरूलाई नेपाली काँग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथीले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राति भए वासको प्रबन्ध मिलाउन आग्रह गर्दछु’, देउवाले तेस्रो ट्विटमा लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस