कोरोना भाइरस : १८ लाख ५३ हजार संक्रमित, १ लाख १४ हजारको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कोरोना भाइरस : १८ लाख ५३ हजार संक्रमित, १ लाख १४ हजारको मृत्यु


१ बैशाख २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विश्वभरि एक लाख १४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । १८ लाख ५३ हजार ४ सय ९६ संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभरि ७५ हजार १४५ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा करिब छ हजार संक्रमितको मृत्यु भएको अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयले जनाएको छ ।

म्यारिल्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पाँच लाख ६० हजार ४३३ जनामा संक्रमणको पुष्टि भएको छ ।

अमेरिकामा सोमबार बिहानसम्म पछिल्लो २४ घण्टामा करिब २७ हजार नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिनेमा अमेरिका, फ्रान्स, रुस र भारतमा सबैभन्दा बढी छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित स्पेनमा संक्रमित हुने एक लाख ६६ हजार ८३१ पुगेको छ । स्पेनपछि इटालीमा संक्रमित हुने एक लाख ५६ हजार ३६३ रहेको छ । फ्रान्समा एक लाख ३३ हजार ६७० जना कोरोनाभाइरसका संक्रमित छन् ।

जर्मनीमा एक लाख २७ हजार ८५४ जना संक्रमित छन् । जर्मनीमा तीन हजार २२ जनाको मृत्यु भएको छ ।

अमेरिका, इटाली, स्पेन, फ्रान्सपछि बेलायतमा कोरोनाभाइरस संक्रमणबाट करिब दशहजार ६१२ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ६५७ जना संक्रमितको मृत्यु भएको छ।
बेलायतमा कोरोनाभाइरस संक्रमित भने ८५ हजार २०६ पुगेको छ । संक्रमितको अपेक्षा मृत्यु दर यूरोपेली राष्ट्रमध्ये बेलायतमा सबैभन्दा बढी देखिएको छ ।

इरानमा ७१ हजार ६८६ र टर्कीमा ५६ हजार ९५६ जना संक्रमित भएका छन् । इरानमा चार हजार ४७४ जना संक्रमितको मृत्यु भएको छ । अर्को यूरोपेली राष्ट्र बेल्जियममा २९ हजार ६४७ जनामा संक्रमणको पुष्टि भएको छ । बेल्जियममा तीन हजार छसय जनाको मृत्यु भएको हो ।

रुस र भारतमा पछिल्ला दिनहरुमा नयाँ संक्रमित थपिनेको संख्यामा वृद्धि हुँदै आएको छ । आइतबारसम्म दश हजार मात्रै संक्रमित पुष्टि भएको रुसमा सोमबार बिहानसम्म १५ हजार ७७० जनामा संक्रमणको पुष्टि भएको छ । भारतमा संक्रमित हुने नौ हजार २०५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस