गाउँमा नआउन र गाउँबाहिर नजान उर्दी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

गाउँमा नआउन र गाउँबाहिर नजान उर्दी


प्रशासन संवाददाता

२६ चैत्र २०७६, बुधबार


गलेश्वर । कोरोना भाइरस (कोभिड— १९) को सङ्क्रमणबाट जोगिन म्याग्दीको ग्रामीण भेगका स्थानीयवासीले अपरिचित व्यक्तिलाई गाउँमा छिर्न दिएका छैनन् ।

गाउँ आउने बाटो बन्द गरेर उनीहरुले अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिएका हुन् । छिमेकी जिल्ला बागलुङकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै बागलुङ जोड्ने नाकामा पर्ने पक्की पुल, झोलुङ्गेपुल र पैदलयात्रामा समेत स्थानीयवासीले कडाइ गरेका छन् ।

त्यसैगरी तीन साता लामो लकडाउनका कारण घरमा बस्न दिक्क लागेपछि जिल्लाको पर्यटकीयस्थल टोड्केमा जाने मानिसको सङ्ख्या बढ्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भयले स्थानीयवासीले बाटोमा पर्खाल लगाई सूचना बोर्ड नै टाँस गरेर गाउँमा आउन पूर्ण निषेध गरेका छन् । लकडाउनको उल्लङ्घन भइरहेको अवस्थामा नाका नै बन्द गरेर अत्यावश्यकबाहेक अन्य सवारीलाई गाउँ छिर्न नदिने एउटै उपाय नाका बन्द नै भएको मङ्गला गाउँपालिका—२ भाइवाङका युवा सन्देश आचार्यले बताए । ‘सडक बन्द नगरेसम्म लकडाउनको प्रभावकारी कार्यान्वयन देखिएन, अति आवश्यक परेकालाई युवाको सहयोगमा बाटो खुल्ला गर्छौं’, उनले भने।

जिल्लाका मङ्गला गाउँपालिकाका कुहूँ, डडुवा, बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, अन्नपूर्ण गाउँपालिकाको घारलगायत गाउँका नाका बन्द गरिएको छ । एक गाउँबाट अर्को गाउँमा अनावश्यक हिँड्न प्रतिबन्ध लगाएको छ भने अरु ठाउँबा आफ्नो गाउँमा कोही पनि नआउन र अत्यावश्यक कामबाहेक आफ्नो गाउँबाट कोही पनि बाहिर नजान ती गाउँका जनप्रतिनिधि र सचेत युवाले उर्दी नै जारी गरेको लाल युवा क्लब पूर्णगाउँका सचिव सागर सुवेदीले बताए । उनले भने, ‘बाहिरबाट गाउँ भित्रनेलाई मात्रै होइन, गाउँमा पनि खेतबारीको काम गर्दा भीडभाड नगर्न, समूह बनाएर छलफल नगर्न, बिनाकाम गाउँमा नडुल्न र साबुनपानीले नियमित हात धुनका लागि गाउँलेहरुमा सचेतनामूलक अभियान नै सञ्चालन गरिएको छ ।’

ग्रामीण सडकमा ठाउँठाउँमा ढुङ्गा थुपारिएको छ भने केहीमा ह्युमपाइपसमेत राखेर बाटो बन्द गरिएको छ । एउटै वडाभित्र रहेका अर्को गाउँमा जानसमेत रोक लगाइएको छ । यसका साथै स्थानीय तहहरुले स्वयंसेवक दस्ता गठन गरेर परिचालनसमेत गरेका छन् । लकडाउनको अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम बढेपछि यस्तो गर्नुपरेको बेनी नगरपालिका—१० पात्लेखेतका युवा भीमनाथ शर्माले बताए । केही बस्तीमा सडक छेक्न लगाइएको र बारमा नै कोरोना भाइरसबाट बच्ने उपायलगायत सन्देश लेखेर टाँसिएको छ ।

सीमाबाट आवतजावत गरेमा पाँच हजार जरिवाना

कोराना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच हजार जरिवानासहित आफ्नै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको मङ्गला गाउँपालिका योजना शाखाका कर्मचारी सिजन रोकाले जानकारी दिए ।

म्याग्दीको मङ्गला र बाग्लुङको ताराखोला गाउँपालिकाले दुईवटै स्थानीय तह जोड्ने देउरालीको सिमानाबाट आवतजावत गर्नेलाई क्वारेन्टाइन र पाँच हजार नगद जरिवाना गर्ने निर्णय भएको मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिए । साथै, बाग्लुङतर्फबाट बिभिन्न नाका हुँदै पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

विपन्न र श्रमिकलाई राहत वितरण

म्याग्दीको बेनी नगरपालिका—२ ज्यामरुककोटले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकलाई राहत वितरण शुरु गरेको छ ।

वडाअध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडा सचिव राजाराम शर्मा सापकोटालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले मङगलबार बगरफाँट र खबराका विपन्न एंव श्रमिक परिवारलाई राहत वितरण गरेका हुन् ।

पहिलो चरणमा लकडाउनका कारण आयस्रोत गुमेर प्रभावित भएका ज्यामरुककोटका ८९ परिवारलाई राहतका लागि छनोट गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए । वडा कार्यालयमा प्राप्त आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरुको बैठकले ती परिवारलाई छनौट गरेपछि राहत वितरण गर्न थालिएको उनले बताए । उनका अनुसार, प्रति परिवार एक बोरा चामल, तीन किलोग्राम दाल, २ किलोग्राम नुन, चार लिटर खाने तेल, दुई किलोग्राम चिनी र ४ वटा साबुनका दरले राहत वितरण गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस