रामपुरमा १३५ नागरिक होम क्वारेन्टाइनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रामपुरमा १३५ नागरिक होम क्वारेन्टाइनमा


१६ चैत्र २०७६, आइतबार


रामपुर, पाल्पा । भारतलगायत विभिन्न मुलुकबाट फर्केका १३५ जना रामपुर नगरपालिकामा होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट सजग रहन नगरपालिकामा बाहिरबाट भित्रिएका १३५ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।

वडावडामा विदेशबाट फर्केका नागरिकको लगत सङ्कलन गरी उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

होम क्वारेन्टाइनमा बसेका नागरिकहरु पनि सुरक्षित तरिकाले घरमा बसेका छन् । नगरपालिकाले गाउँगाउँमा दुई वटा घुम्ती टोली खटाएको छ । नगर प्रमुख थापाको नेतृत्वमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाली सेना, स्वास्थ्यकर्मी सहितको टोली गाउँ गाउँमा परिचालित छन् ।

खाद्यान्न तथा नगद सहयोग
नगरपालिकाले तयार पारेको क्वारेन्टाइन कक्षमा बसेका नागरिकका लागि ग्रामीण जागरण युवा समाजले खाद्यान्न तथा नगद सहयोग गरेको छ ।

नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन कक्षमा बसेका नौ नागरिकका लागि खाद्यान्न तथा नगद सहयोग गरिएको हो । समाजले शनिबार दाल, चामल, तरकारी, दूध, अण्डा, तेल, फलफूललगायतका खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष मनोरथ भट्टराईले बताए ।

क्वारेन्टाइन कक्षमा बसेका नागरिकलाई खाद्यान्नसहित रु ३१ हजार ५०० वडाध्यक्ष हिमाल मल्ललाई हस्तान्तरण गरिएको छ । समाजका सदस्य, सामाजिक व्यक्तित्वहरुबाट प्राप्त खाद्यान्न तथा रकम सहयोग गरिएको उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताए । क्वारेन्टाइनमा रहेका नागरिकलाई शनिबार बिहानसम्म होटलबाट खानाको व्यवस्था गरे पनि अहिले होटल पाउनै मुस्किल भएको वडाध्यक्ष हिमाल मल्लले बताए ।

स्थानीय तहको सक्रियता
यसैबीच जिल्लासँग जोडिएका विभिन्न सीमानाकामा उच्च निगरानी बढाइएको छ । भारतलगायत विभिन्न मुलुकबाट नेपाल आएका नागरिक लुकिछिपी गाउँगाउँमा प्रवेश गर्न थालेपछि सीमानाकामा उच्च निगरानी गर्न थालिएको हो ।

पाल्पाको तराईसँग जोडिएको निस्दी गाउँपालिका, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकालगायतका विभिन्न नाकामा निगरानी गर्ने काम भइरहेको छ । एकअर्का स्थानीय तहसँग जोडिएका सीमानाकामा पनि सोधपुछ र स्वास्थ्य परीक्षण गर्ने काम भएको छ । अनुमतिबिना बाहिरबाट आएका नागरिकलाई सिधै प्रवेश गर्न दिइएको छैन ।

कोरना भाइरसको सङ्क्रमण रोक्न स्थानीय तहहरु सक्रिय भएर लागेका छन् । बाहिरबाट यहाँ भित्रिने नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइएको छ । जिल्लाका दश वटै स्थानीय तहले आआफ्नै क्षेत्रमा बाहिरबाट घर फर्केका नागरिकको खोजीतलासी, ठाउँठाउँमा स्वास्थ्य सहायता कक्ष, गाउँगाउँमा घुम्ती टोली परिचालन गरिरहेका छन् ।

भाइरस सङ्क्रमणबाट सचेत रहन नगरपालिका तथा गाउँपालिकाका कार्यालयहरुले टोलटोलमा माइकिङ गरी नागरिकलाई सचेत बनाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस