सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो


१६ चैत्र २०७६, आइतबार


लहान । कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडेको सिरहा कारागारले जनाएको छ ।

कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीबाट रकम तिराएर छाडिएको हो ।

कूल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिलासहित ५५१ कैदीबन्दी छन् ।

नेकपाका नेताले बाँडे साबुन र स्यानिटाइजर
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका युवानेता प्रमोदकुमार यादवले व्यक्तिगतरूपमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई स्यानिटाइजर र साबुन वितरण गरेका छन् ।

सप्तरीको इलाका प्रहरी कार्यालय बोदे बसाईन तथा सशस्त्र प्रहरी बेसक्याम्पलाई साबुन र स्यानिटाइजर वितरण गरेको नेकपा सप्तरीका सदस्यसमेत रहेका यादवले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस