विवाद समाधानको उत्तम उपाय मेलमिलाप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विवाद समाधानको उत्तम उपाय मेलमिलाप


२१ माघ २०७६, मंगलबार


शान्तिका अग्रदूत भगवान् बुद्धका महान् वाणीहरू शान्ति, अहिंसा, सद्भाव, प्रेम र मेलमिलापलाई सबैले मनन गर्ने हो भने समाजमा विवाद उत्पन्न हुँदैन थियो होला । समाजमा विभिन्न सोच भएका मानिसहरूले बसोबास गरिरहेका हुन्छन् । सोच विचार नमिल्दा कुनै न कुनै कुरामा विवाद आउँछ । विवाद विनाको समाज कल्पना समेत गर्न सकिँदैन । त्यही विवादलाई न्यायोचित समाधान गर्नको लागि मेलमिलाप तल्लो तहदेखि नै प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा ल्याउन सके पक्कै पनि विवादको अन्त्य गर्न सकिन्छ ।

विवाद समाधानका औपचारिक र अनौपचारिक दुवै पद्धतिहरू क्रियाशील नभएको होइन । विवाद समाधानका अनौपचारिक पद्धति मेलमिलाप हो । समाजमा भएका विवादका पक्षहरूको इच्छा, चाहना र सक्रियतामा मेलमिलापकर्ताले वार्तालाई सहजीकरण गर्दै संवाद गराउने, समझदारी गराउने, समाधान पत्ता लगाउने आदि माध्यमबाट वार्तालाई सहजीकरण गराई विवादका पक्षहरूबाटै समाधान निकाल्न सक्ने वातावरण बनाई पक्षहरूलाई जीत जीत, प्राप्ति प्राप्तिको महसुस गराई विवाद निरूपण गर्ने विधि नै मेलमिलाप हो ।

नेपालमा २०६० सालदेखि मेलमिलाप पद्धतिलाई कानुनी आधार प्रदान गरी कार्यान्वयनमा ल्याउन सुरु भएको हो । २०७२ को संविधानले समेत विवाद समाधानका लागि मेलमिलाप लगायतका पद्धतिहरू आत्मसात् गरेको छ । मानिसले धेरै पढेर मात्र हातमा सीप छैन भने काम गर्न सहज हुँदैन । कानुन पढेर मात्र मेलमिलाप गराउन पाइन्छ र कानुन नपढ्नेले मेलमिलाप गराउन पाइँदैन भन्ने कतिपयलाई भ्रम पनि परिरहेको छ । कानुन पढ्ने होस् वा नपढ्ने दुवै तर्फलाई ज्ञान, सीप, कला र औजारको आवश्यक पर्ने भएकोले मेलमिलापको तालिम निकै आवश्यक पर्दछ ।

मेलमिलाप गराउनु भन्दा पूर्व तयारीमा मेलमिलापकर्ताको छनोट, मेलमिलापकर्ता र पक्षहरू बिच समय स्थान निर्धारण गर्नु पर्दछ । वार्ताको सुरुवातीमा स्वागत, स्थान ग्रहण, परिचय, भलाकुसारी, भौतिक सुविधा खाने पानी, शौचालयको बारेमा पनि बताइ राख्नु पर्दछ । वकिल, न्यायाधीश होइन, ठिक बेठिक पनि छुट्याइदैन र वार्तामा भएका कुराहरू गोप्य नै राखिन्छ, अदालतमा जस्तो औपचारिक हुँदैन । सबैले आफ्नो कुरा राख्न पाइन्छ । वार्तामा बस्दा पक्षहरूको सहमतिमा नियमहरू बनाउनु पर्छ । जसमा मोबाइल व्यवस्थापन, पालैपालो बोल्ने, कसैलाई अपमान नगर्ने जस्ता कुराहरू पर्छन् । यदि वार्ता गर्दै जाँदा नियम मिचियो भने बेला बेलामा सचेत गराउने देखि घटना प्रस्तुति तथा सूचना सङ्कलनमा दुवै पक्षलाई आ–आफ्नो कुरा राख्न खुल्ला प्रश्न गरी सहयोग गर्ने, एक अर्काको कुरा सुन्ने र सुनाउने वातावरण बनाइ अडानको सूचीकरण गर्ने, दुवै पक्षहरूलाई मनमा लागेका कुरा खुलेर भन्न सक्ने सीपको प्रयोग गर्ने विवादित विषयको पहिचान गरी के गर्दा हित हुन्छ, समस्याको समाधान कसरी हुन्छ भन्नेतर्फ जानु पर्दछ ।

वार्ताको अवस्था हेरेर आवश्यक परेमा पक्षहरूलाई छुट्टा छुट्टै राखेर पनि वार्ता गर्न सकिन्छ । मस्तिष्क मन्थन गराएर चित्त बुझ्दो विकल्प छनोट गर्न सक्ने सीप प्रयोग गर्दै सहमति गर्न सहजीकरण गर्ने । दुवै पक्षहरूले जीत जीतको महसुस गरेमा सहमति कार्यान्वयन गर्ने, यसरी विभिन्न चरणहरू पार गर्दै दुवै पक्षहरूलाई प्राप्ति प्राप्ति दिन सक्नु नै मेलमिलापकर्ताको दायित्व हो । यसमा ठिक बेठिक छुट्टाउन मिल्दैन र यसरी मिल्नुस् पनि भन्न मिल्दैन । तटस्थ, गोपनीयतामै रहेर आवश्यकता अनुसार गोप्य वार्ता गरी वार्तालाई सहज बनाइ सहजीकरण गरेर मेलमिलाप गरी पक्षलाई जीत जीतको महसुस गराउनु पर्दछ ।

अदालत जाँदा हैरानी, समय खर्च, पैसा खर्चले दिक्क भएका पक्षहरूलाई अब त्यो झन्झट व्योहोर्न नपरोस् । मेलमिलापकर्ताले जानेको सीप प्रयोग गरेर समाजमा भएका विवाद समाधान गर्दै लैजाने हो भने पक्कै समाजमा परिवर्तन आउला । मेलमिलापबाट नै समाजमा विवाद समाधान हुन सकोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस