ईयूबाट यूके आधिकारिक रूपमा बाहिरियो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ईयूबाट यूके आधिकारिक रूपमा बाहिरियो


१८ माघ २०७६, शनिबार


काठमाडौँ । युरोपेली सङ्घ (ईयू)बाट बेलायत पूर्णरुपमा बाहिरिएको छ । ४७ वर्षको लामो सम्बन्धबाट जनवरी ३१ मा ब्रिटेन ईयूबाट पूर्णरुपमा बाहिरिएको हो । योसँगै ईयू र ब्रिटेनबीचको करिब आधा शाताब्दी लामो सम्बन्धको अन्त्य भएको छ ।

साढे तीन वर्षअघि ब्रिटेनका जनताले ईयूबाट अलग्गिनको लागि जनमत संग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए ।
ब्रिटेन ईयुबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ ।

सन् २०१६ को जुन २३ तारिखमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए।

त्यसपछि ब्रिटेन ईयूबाट बाहिरिने प्रक्रिया सुरु भएको थियो। तर त्यस क्रममा ब्रिटेनले विभिन्न खाले व्यवधानको सामना गर्नुपर्‍यो।

यस अवधिमा त्यहाँ दुई पटक प्रधानमन्त्री पनि फेरबदल भए।

जनमतसङ्ग्रहलगत्तै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडेका थिए।

त्यसपछि प्रधानमन्त्री बनेकी टरिजा मेको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु र लागू गर्नु थियो।

तर ब्रक्जिटका विभिन्न सर्तहरूबारे सांसद्‍को समर्थन हासिल गर्न नसकेपछि उनले पनि राजीनामा दिइन् र अहिलेका प्रधानमन्त्री बोरिस जोनसनसमक्ष उक्त दायित्व आइपुग्यो।

प्रधानमन्त्री जोनसनले ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिनुपूर्व सामाजिक सञ्जालमा एउटा सन्देश जारी गरेका थिए।

अलग हुनुभन्दा एक घण्टाअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले सबै भावनालाई साथ लिएर अघि बढ्ने वाचा गरेका छन्।

जोनसनले ‘यो राजनीतिक गतिरोध कहिले समाप्त होला वा नहोला भनेर सबैभन्दा बढी चिन्तित बनेको तेस्रो समूह’ पनि रहेको बताए।

उनले भने, ‘म सबै भावनाहरूको बुझ्छु र विशेषगरी सरकार तथा मेरो यो जिम्मेवारी हो कि यो देशलाई साथ लिएर अघि बढौँ।’

सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन्।

जस्तो कि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्।

त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य यूकेले राखेको छ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि ‘देश अगाडि बढ्नुपर्थ्यो’ र युरोपली सङ्घसँग ‘राम्रो सम्बन्ध बनाइरहनुपर्थ्यो’ भनेका छन्।

विना आधार अमेरिकासँग ‘सम्झौत गर्न हामफाल्न नहुने’ पनि उनले बताए।

उनले सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि ईयूबाट बाहिरिने दिन सबैका लागि धेरै महत्त्वपूर्ण भएको पनि बताए।

योसँगै जनमतसङ्ग्रहपछि भएका तीनवर्षभन्दा लामो समयको राजनीतिक तर्कवितर्कको अन्त्य भएको छ। उक्त जनमतसङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो।

प्रधानमन्त्रीले सन्डरल्याण्ड शहरमा मन्त्रिपरिषद् बैठक गर्दैछन्।

जनमतसङ्ग्रहपछि ब्रेक्जिटको पक्षमा मतपरिणाम आएको घोषणा गर्ने पहिलो शहर सन्डरल्याण्ड नै हो।

सन् २०१६ मा ईयूबाट यूके बाहिरिनुपर्ने भन्दै अभियान चलाएका प्रधानमन्त्री जोनसनले आशावादी सन्देश दिने प्रयास गरेका छन्।

‘आजको रात भन्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो शुरूवात हो,’ डाउनिङ स्ट्रिटमा खिचिएको भिडिओ सन्देशमा उनले भने।

‘यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ। यो क्षण साँचो रूपमा राष्ट्रिय नयाँपन र परिवर्तनको हो।’

Tags :
प्रतिक्रिया दिनुहोस