विकासका अवधारणा, आयामहरू र नवीनतम उपागम - प्रशासन प्रशासन

विकासका अवधारणा, आयामहरू र नवीनतम उपागम


प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार ०६:३०

विकासः गतिशील सामयिक परिवर्तनको प्रतिबिम्ब
विकास हर क्षेत्रको लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिबिम्ब हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । विकासलाई साधरणतया आर्थिक वृद्धिको पक्ष सँग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ ।यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो । अर्थ शास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ भने समाज शास्त्रीय अवधारणाले आर्थिक वृद्धि सँगसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ । विकास सम्बन्धी अवधारणा मानव सभ्यताको विकासक्रमसंगै कुनै न कुनै रूपमा प्रचलित रहँदै आएको भएता पनि पश्चिमी युरोपले १८औँ शताब्दी तिर अवलम्बन गरेको पुँजीवादी अवधारणा अन्तर्गतको आर्थिक समृद्धि तर्फ उन्मुख हुने रणनीति पछि विकासको अवधारणाले बढी मूर्त रूप पाउन थालेको देखिन्छ । त्यस्तै अर्थ शास्त्रका पिता एडम स्मिथको खुला अर्थतन्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतिलाई नै विकासको मूल आधार बनाएको छ । यसै बिचमा कार्लमाक्र्सले वर्ग सङ्घर्षको प्रतिफल र श्रमिक वर्गको हक हित र उन्नतिको स्वरुपलाईनै वास्तविक विकास हो भनेका छन् ।

‘विकासको एकल आवश्यकता अव साझा आवश्यकता, साझा अवधारणा र साझा प्रयासमा रूपान्तरण हुन पुगेको छ’

सन् १९७० को दशक भन्दा अगाडी सम्म विकास आर्थिक विषय वस्तु सँग बढी सम्बन्धित थियो जसले प्रतिव्यक्ति आय, कूल राष्ट्रिय उत्पादन, आर्थिक वृद्धिले सामाजिक उपादेयतामा पुर्‍याएको योगदान सँग सम्बन्धित रहेको थियो । तर १९८० को दशकको प्रारम्भ सँगै विगतको यो अवधारणामा व्यापक परिवर्तन भएको पाइन्छ । यो परिवर्तित अवधारणाले विकास भनेको अर्थतन्त्रको विकास हो तर यसले गरिबी, असमानता र बेरोजगारी पनि हटाउन सक्नु पर्दछ भन्ने मान्यतालाई बढी जोड दिएको छ । यसरी विकासलाई रोजगारी सिर्जनाको संयन्त्रको रूपमा समेत लिने गरिन्छ ।

विकास बहु आयामिक प्रक्रिया
विकास एउटा बहु आयामिक प्रक्रिया हो । यो आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तन सहितको उपलब्धिको समिश्रण हो । यदाकदा विकास र वृद्धि लाई पर्यायवाची शब्दको रूपमा समेत हेर्ने गरेको पाइन्छ । सामान्यतया यी दुई शब्द एकै जस्तो देखिने भएता पनि विकास अनन्त रहने र वृद्धि सीमित रहने धारणा अर्थशास्त्रीहरुको रहेको छ । तर विकास सकारात्मक परिवर्तन सहितको वृद्धि भने पक्कै हो । विकास एउटा प्रक्रियागत, योजनागत मानवीय प्रयास हो जसले मानव जीवनको गुणस्तर अभिवृद्धिहरूमा योगदान पु¥याएको हुन्छ । विकासका उद्देश्यहरू निम्नानुसार रहेका छन्
१. राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र यसमा दिगोपनाको प्रत्याभूति गर्ने ।
२. मानव जीवनका आधारभूत आवश्यकताहरू खाद्यान्न, आवास, कपडा, स्वास्थ्य शिक्षा, खाने पानी र सुरषाको उपलब्ध र वितरणमा प्रभावकारिता ल्याउने ।
३. जनताको जीवनस्तर उच्च तुल्याउन रोजगारीका अवसरहरूमा वृद्धि, आय, आर्जनका अवसरहरूको उपलब्धता, शिक्षा संस्कृति र मानवीय मूल्यको प्रवर्धनमा जोड दिने ।
४. राष्ट्रको सामाजिक आर्थिक स्थितिलाई सामयिक रूपान्तरण गर्ने ।
५. सरकारको प्रभावकारिता र विश्वसनीयता अभिवृद्धि गर्ने ।

विकास : वह आयामिक अन्तरसम्वन्धित विषय
विकास एउटा वहुआयामिक विषय हो यो निम्न पक्षहरू सँग अन्तरसम्वन्ध राख्ने विषय पनि हो ।
१. राजनीतिक विकास : प्रजातान्त्रिक राजनैतिक तथा शासकीय प्रणाली, आवधिक स्वतन्त्र र निष्पक्ष निर्वाचन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार , शक्ति पृथकीकरण र सन्तुलन जस्ता विषयहरू राजनैतिक विकास अन्तर्गत पर्दछन् । राजनैतिक परिपाटीमा स्वस्थ प्रतिस्पर्धा, निश्पक्ष निर्वाचनद्वारा जन अभिमतको कदर, सहिष्णु राजनैतिक प्रणाली जस्ता विषयहरू राजनीतिक विकास अन्तर्गत पर्दछन् । प्रजातान्त्रिक राजनैतिक प्रणाली, राजनैतिक स्थिरता र सरकारको स्थिरतालाई समग्र विकास प्रक्रियाको आवश्यकीय शर्तको रूपमा लिने गरिन्छ ।

२. आर्थिक विकास : प्रतिव्यक्ति आयमा वृद्धि, कूल राष्ट्रिय उत्पादनमा वृद्धि, पूर्वाधार विकास, उद्योगधन्दाहरूको विकास जस्ता विषयहरू आर्थिक विकासमा पर्दछन् । अर्थ शास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ । आर्थिक विकासलाई निम्न मात्रात्मक सूचकहरू वाट मापन गर्न सकिन्छ ।
 प्रतिव्यक्ति आयमा वृद्धि
 कूल राष्ट्रिय आयमा वृद्धि
 उत्पादन क्षमतामा वृद्धि
 उद्योगको स्थापना
 पूंजीको प्रवाह
 मेसिन, प्रविधि र औजारमा विविधीकरण
 पूर्वाधारको विकास
 प्राकृतिक श्रोत र साधनको समुचित परिचालन
 आर्थिक वृद्धि
 सहरीकरण
 आम्दानी र सम्पत्तिको समान वितरण

३. सामाजिक विकास : आम सरोकारका विषयहरू खास गरी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सांस्कृतिक विकास र सम्बध्र्दन , सीमान्तकृत वर्गको उत्थान, आदिवासी जनजातिहरूको उत्थान , सुसंस्कृत स्वस्थ र सभ्य र सामाजिक अन्तर सम्बन्धको विकास जस्ता विषयहरू सामाजिक विकासमा पर्दछन् ।समाज शास्त्रीय अवधारणाले आर्थिक वृद्धि सँगसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ ।
सामाजिक विकासलाई निम्न गुणात्मक सूचकहरूबाट मापन गर्न सकिन्छ
 शिक्षा, स्वास्थ्य र पोषण
 आत्मनिर्भरता
 राजनैतिक स्वतन्त्रता, स्व निर्णयको अधिकार
 राजनैतिक स्थिरता, शान्ति र सुरक्षा
 रोजगारीको अवसर
 आर्थिक,न्यायिक समानता र मानव अधिकार
 सुशासन
 सामाजिक सद्भाव

४. संस्थागत विकास : प्रजातान्त्रिक शासन प्रणाली र सो अनुरूप विभिन्न राजनैतिक र शासकीय संरचनाहरूको विकास, यस्ता संस्थाहरू विधि सम्मत रूपमा चल्नको लागि आवश्यक कानुनी संरचनाहरूको विकास संस्थागत विकास अन्तर्गत पर्दछन् । यसै अवधारणा अनुरूप निजी क्षेत्र, नागरिक समाज, सहकारी क्षेत्र जस्ता सस्थाहरुको शासकीय प्रक्रियामा सहयोगी र साझेदारिता रहने गरी आवश्यकीय संस्थागत संयन्त्रहरू विकास गरिएका हुन्छन् ।

विकासका नवीनतम उपागमहरु
विकास सबै देशको लागि अपरिहार्य र नैसर्गिक अधिकार भएता पनि यसको प्राप्तिको विषय त्यति सहज भने छैन । विकास को प्रारूप तयार गर्न, रणनीति तर्जुमा गर्न, कार्यक्रम कार्यान्वयन गर्न र विकास कार्यको दिगोपनाको सुनिश्चितताको लागि निम्न पक्षहरूको सबल उपस्थिति को आवश्यकता पर्दछ :
१. स्थिर राजनीतिक अवस्था
२. तटस्थ, प्रतिबद्ध र प्रभावकारी प्रशासनयन्त्र
३. व्यवहारिक तथा कार्यान्वयनमूलक योजना
४. जन सहभागिता र जन समर्थन
५. साधन श्रोतको उपलब्धता र औचित्यपूर्ण प्रयोग
६. भ्रष्टाचारको न्यूनीकरण
७. दूरदर्शिता तथा कार्यवद्धता
८. आन्तरिक र बाह्य विकास साझेदारहरूसँगको उचित समन्वय र सहकार्य

माथिका यी पूर्वशर्तका कारणले विकास प्रयास कुनै एक देश विशेषको एकल प्रयासले मात्र सम्भव छैन यसमा साझा सरोकार र साझा प्रयासको आवश्यकता महसुस हुन गएको छ जसको कारणले विकासमा साझा एजेन्डा र सहकार्यको अवधारणा विकास हुन पुगेको छ । यसै कारणले विकासको यो एकल आवश्यकता अव साझा आवश्यकता साझा अवधारणा र साझा प्रयासमा रूपान्तरण हुन पुगेको छ । तदनुरूप निम्न अवधारणाहरू प्रयोगमा आएका छन् :

विकासमा साझा विश्व अवधारणा

  • सहस्राव्दी विकास लक्ष्य
  • दिगो विकासको लक्ष्य
  • समावेशी विकास
  • सहभागितामूलक विकास,
  • गरीबी निवारण,
  • लैङ्गिक सशक्तीकरण
  • जलवायु परिवर्तनका नकारात्मक प्रभावको न्यूनीकरण र अनुकूलन

विकासको साझा विश्व अवधारणामा सहकार्यका माध्यमहरू

  • सार्वजनिक निजी साझेदारी, विश्वव्यापीकरणका मान्यताहरूको अनुसरण,
  • आर्थिक उदारीकरण
  • निजीकरण
  • बहु स्तरीय शासन
  • विकेन्द्रीकरण
  • शासन प्रणालीको प्रजातान्त्रीकरण

सामयिक परिवर्तनको आवश्यकता बोध
विकास गतिशील, बहु आयामिक , सामयिक ,आवश्यकीय, सकारात्मक परिवर्तनको प्रक्रिया हो । विकास आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तन सहितको उपलब्धिको सम्मिश्रण पनि हो । विकास सबै देशको लागि अपरिहार्य र नैसर्गिक अधिकार भएता पनि यसको प्राप्तिको विषय त्यति सहज भने छैन किनकि विकास को प्रारूप तयार गर्न, रणनीति तर्जुमा गर्न, कार्यक्रम कार्यान्वयन गर्न र विकास कार्यको दिगोपनाको सुनिश्चितताको लागि विभिन्न अन्तर सम्बन्धित पक्षहरूको सबल उपस्थिति र उचित व्यवस्थापनको आवश्यकता पर्दछ । विकास व्यवस्थापन को अवधारणा परम्परागत विकास प्रयासको अवधारणा भन्दा अलि फरक पनि छ किनकि विकास व्यवस्थापन विकासको रणनीतिक व्यवस्थापन हो जसले गरीवमुखी विकास, दिगो विकास, वातावरण मैत्री विकास प्रक्रियालाई मूल लक्ष्य बनाई विकास साझेदार, साधन श्रोत, आन्तरिक र बाह्य सह कर्ताहरूबिच साझा र समन्वयात्मक प्रयासहरूको सुव्यवस्थापनमा जोड दिई विकास प्रयासलाई पारदर्शी र समावेशी बनाउने प्रयास गर्दछ । नयाँ सार्वजनिक व्यवस्थापन , व्यवस्थापनवाद , बजार संयन्त्रमा आधारित सार्वजनिक प्रशासन, विश्वव्यापीकरणले निम्त्याएका अवसर र चुनौतीहरूको सन्दर्भमा विकास व्यवस्थापनको परम्परागत मान्यतामा सामयिक परिवर्तनको आवश्यकता बोध भएको हो । विकास प्रयासले आर्थिक सामाजिक उन्नतिको अतिरिक्त उदीयमान अवधारणाहरूको अन्तर सम्बन्धलाई सम्बोधन गर्नुपर्ने हुँदा विकास व्यवस्थापनले यी सबै पक्षको बिचमा सामन्जस्यता कायम गर्ने गर्दछ ।

(प्रशासन, विकास र सङ्घीयता विषयमा नियमित कलम चलाइरहने लेखक रेग्मीका लेखहरू प्रशासन डटकम र दामोदर रेग्मी डटकम डटएनपी मा पढ्न सकिन्छ)

Tags: , , ,

प्रतिक्रिया दिनुहोस