मृत–आत्माको शान्तिका लागि ‘डसिया’ मनाउँदै थारु - प्रशासन प्रशासन

मृत–आत्माको शान्तिका लागि ‘डसिया’ मनाउँदै थारु


प्रकाशित मिति : १९ आश्विन २०७६, आईतवार १०:३८

गुलरिया । थारु समुदायको ‘डसिया’ सँगसँगै दशैं पनि घरआँगनमा प्रवेश गरिसकेको छ । पछिल्लो समयमा प्रचारमा डसिया र दशैं एउटै हो भन्ने कुराले ठाउँ पाएको देखिन्छ । यो पर्व लगभग उही तिथि उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वाभाविक पनि हो । नेपालमा तराईका २२ जिल्ला र सुर्खेतमा थारुहरुको मुख्य रुपमा बसोबास रहँदै आएको मानिन्छ । पछिल्लो जनगणना २०६८ अनुसार काठमाडौँ उपत्यकामा मात्रै दशौं हजार थारुको बसोवास छ । यो जनगणनाले ७७ जिल्लामध्ये पूर्वी रुकुमबाहेक सबै जिल्लामा धेरथोर सङ्ख्यामा थारुहरुको बसोबास रहेको देखाएको छ ।

थारू समुदायमा ‘डसिया’ पर्व मनाउने सामाजिक मूल्य, मान्यता र विधि छ । तर यससँग जोडिएका मिथक हेर्‍यौं भने भिन्न भिन्नै रहेका भेटाउँछौँ । पहिले बरघर, भलमन्सा, मतहवा प्रणालीमा चल्ने थारु समुदाय हरेक वर्ष असोज महीनामा पर्ने औंशीभन्दा अगावै असोज वा कात्तिक कुन महीनामा डसिया मनाउने भन्ने प्रगन्ना क्षेत्रका डेशबन्या गुरुवा र मटहवाहरु बसेर निर्णय गर्ने अभ्यास थियो । हरेक प्रगन्नामा नयाँ खाद्यान्नको उत्पादनको अवस्थालाई हेरेर असोज वा कात्तिक महीनामा डसिया मनाउने निर्णय हुन्थ्यो । असोज महिनामा मकै तयार भए पनि धानलगायत अन्य खाद्यान्न पाकिनसक्ने भएकाले प्रायः कात्तिक महीनामा डसिया पर्व मनाउने चलन थियो तर, अहिले प्रविधि र अनुसन्धानले चाँडै नै धान लगायतका अन्न फल्ने र बजारमा पनि सहजै किन्न पाउने भएकाले राज्यले तोकेको महीना र मितिमा डसिया मनाउने चलन बसिसकेको छ । थारू समुदायमा डसिया खासगरी आफ्ना दिवङ्गत पुर्खाहरुको मृत–आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै मनाइन्छ ।

देउता नुहाउने काम थारू समुदायमा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छुट मान्ने चलनअनुसार डसियामा पनि पुर्खाहरुको मृत्युको कारण छुट मानिने भएकाले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउताअनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने । भित्तामा बकुल्ला बनाउने गरिन्छ ।

दाङ देउखरका साहित्यकार तथा थारु बुद्धिजीवी छविलाल थारुले थारु समुदायले आफ्ना मृत पुर्खाको आत्माले शान्ति पाओस् र बकुल्लामाथि चढेर सवार भई सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन रहेको बताउँछन् ।

थारू आफ्नो मौलिक देउताहरु खेंखरी–मैयाँ, सौंरा, लागुबासु, धमराज, चुरिनियाँ, भेंर्वा, पूर्वी लगायतका देउताहरुलाई जल, रक्सी, जमरा र बाबरी चढाएर परम्परागत मान्यता अनुसार पूजा गर्छन् । थारूहरुको आफ्नै मौलिक देउता छन् । आफ्नो मौलिक परम्पराअनुसार पूजापाठ पनि गर्छन् तर, हिन्दुहरुको देवतालाई सम्मान गर्ने र भाइचाराको सम्बन्ध राख्ने पनि थारूहरुको स्वभाव हो ।

जिउँरा ढर्ना
थारू समुदायमा डसिया डेशबन्या गुर्वा र मतहवासहितको छलफलबाट निर्णय भएको (असोज वा कात्तिक) औंशीको दिन या दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डसियाको शुभारम्भ गरिनछ । जमरा कोरा मल्सी (प्रयोग नगरिएको माटोको भाँडा) मा राख्ने चलन छ जुन मकैको जमरा हुन्छ । मल्सी नभए डेहुरारको पाटामाथि भुईमा पनि राख्ने चलन छ ।

श्राद्ध :
पञ्चमीको दिन दहित, रतगैयाँ थरका थारूले पितृ पूज्छन् जसलाई श्राद्ध डेना भनिन्छ । श्राद्धका लागि उनीहरुले सबै चिज चोरेर पुज्छन् । श्राद्धको दिन उनीहरुलाई तरकारी, केरा, माछा चोर्न मिल्ने हुन्छ । त्यो दिन चोरी गर्न छुट हुन्छ । चोर समातिए पनि जरिवाना नगर्ने वा आममाफी दिने थारु समुदायमा नियम हुन्छ । समय क्रमसँगै केही सामाजिक नियमहरू फेरिएका छन् । पूजाको नाममा अर्काको बारीमा तरकारी, केरा चोरी गर्ने चलन हराएको छ ।

बानढुप’ पिस्ने वा माग्न जाने :
डसियामा कुल देवतालाई ‘बानढुप’ पनि चढाइन्छ । डसियामा बानढुप अनिवार्य हुन्छ । बानढूप भनेको गुर्वाहरुले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धानको फूललगायत सात किसिमको फूला लोर्हके (फूल टिपेर) सिलौतामा पिसेर बनाएको विशेष धूप हो जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । आफ्नो घरगरुवा (पण्डित) को घरमा रक्सी लगायत कोशेली लिएर ढिक्रहवा भन्दा अगावै बानढुप लिन जान्छन् । कट्कटुवा मडुवा, दहित, जगनथ्या, डेमनडउरा थरकाले आफैं बनाउने गर्दछन् ।

‘पैन स्टोपि ढुइना’
सप्तमीको दिन देउता भएको घरका मान्छेहरु ‘पैन स्टोपि’ धुन्छन् । पैन स्टोपि ढिक्रि उसिन्ने ढकियालाई भनिन्छ जुन त्यस दिन अनिवार्य रुपमा धुने चलन छ । धुने काम घरको गढुनियाँ (घरमूली महिला) ले गर्छिन् ।

बान चिर्ना :
कुल देउतालाई आफ्नो रगत चढाउनेलाई बान चिर्ना भनिन्छ । ढिक्रहवा (अष्टमी) को बिहान गरुवा बनिसकेको पुरुषले नुहाएर धारिलो छुरा या नयाँ ब्लेडले निधार, छाती, घुँडा र पैताला चिरेर रगत निकाली कुल देवतालाई चढाउने गर्दछन् । यसरी चढाएको रगत देवीको बाहन सिंहलाई चढाएको मानिन्छ । पौराणिक कथनअनुसार देवी बाहन सिंहले मानव बलि खाने गरेको र पछि डेशबन्या गुरुवाले मानव बलि नखानु बरु एक वर्षमा डसियाको ढिक्रहवामा बिहान ‘म आफ्नै रगत चढाउँला’ भनेर मनाएका कारण गुरुवा बनेका पुरुषहरुले आफ्नो रगत चढाउने परम्परा बसेको बढैयाताल गाउँपालिका–८ का गुरुवा कालु थारुले बताए । यदि सो दिन रगत नचढाए सिंह रिसाएर दुःख दिने गर्दछ भन्ने मान्यता छ । यो कार्य डसियाको ढिक्रहवाको बिहान अनिवार्य रुपमा गर्नु पर्ने मान्यता छ । अन्यथा अनिष्ट हुने जनविश्वास छ ।

ढिक्रहवा
अष्टमी (ढिक्रहवा) को दिन देउता पूज्ने घरको गढुर्या–गढुनियाँ (घरमूली महिला–पुरुष) लाई दिनभरि भोकै बस्नु पर्छ । साँझ डेहुरार रहेका र आँगनमा रहेका सबै देउताहरुलाई नुहाएर सुन पानी छर्केर नयाँ दियो बालिन्छ । गोलो ढिक्रि, बाबरी, जमरा, रक्सी (टौला र बजारि) र जल चढाएर पूजा गरिन्छ ।

देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रुपमा कुपिण्डोको भेंडा बनाएर त्यसकै पूजा गर्छन् । त्यसै गरी गोठमा धर्मराज, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउताहरुलाई पनि पूज्दछन् । पूजा गर्ने बेला बानढुप चढाउँछन् । सिन्दुर र कजरा (खरानी) को टीका पनि लगाउँछन् । पूजा गर्ने बेला मादल बजाई ट्रासन गर्छन् । मादल बजाउनेलाई झ्वाङ्ग मर्ना भनिन्छ । यसरी पूजा गरी दिनभरि भोकै बसेका गढुर्या–गढुनियाँ र परिवारका सदस्य सँगै बसेर भोजन ग्रहण गर्छन् ।

अखरिया खेल्ना :
गुर्वाहरुमा जब देउता चढ्छ तब काँप्दै डेहुरार, बहरी र आँगनमा अखरिया खेल्छन् । अखरिया खेल्नु भनेको मादलको तालमा लठ्ठी लिएर काम्दै नाच्नु हो । गुर्वाहरुमा जब देउता चढ्छ तब काँप्दै डेहुरार, बहरी र आँगनमा अखरिया खेल्छन् । अखरिया खेलेको दिनलाई नयाँ गुर्वा बन्ने–बनाउने दिनको रुपमा पनि लिइन्छ । सुस्वाइबेर (गुर्वा खेल्ने) बेला पच्रा गाउँछन् ।
‘हेरि लेओ रि मैया हेरि लेओ रि,
आपन घरडुवार हेरि लेओ रि ।’

देउता जगाइना :
ढिक्रहवा रात रातभरि देउता जगाउँछन् । देउता जगाउनुलाई दियो जगाउने पनि भनिन्छ । रातभरि जाग्नु पर्ने हुनाले नाचगान पनि गर्छन् । नाचगान नभए बर्किमार गाएर रात काट्छन् । देउता जगाउनेहरुलाई डेहुरारको पाटा माथिको रक्सी पिउन मिल्छ । पाटामा राखिएको रक्सीलाई भेंर्वाको रक्सी पनि भनिन्छ । मटहवा भलमन्साको घरको आँगनमा डसियामा नाचिने सखिया नाच थारु युवायुवतीले रातभर नाच्ने गर्दछन् ।

मुर्घिहवाः
ढिक्रहवाको दोस्रो दिन मुर्घिहवा (नवमी) को बिहानै गढुरियाँ नुहाएर फेरि सबै देउताहरुलाई हिजोको जस्तै जमरा–बाबरी चढाएर कुखुरा पुज्ने गरिन्छ । पुज्नु भन्दा पहिले पाटा माथिको कुशको बहर्नी (झारु) हटाएर नयाँ बहर्नी राख्छ जुन एक वर्षपछि दोस्रो डसियासम्मको लागि मात्रै राखिन्छ । हरेक अर्कोे डसियामा पुरानो हटाएर नयाँ बहर्नी राखिन्छ । देउता भएका घरका मानिसले सातदेखि १५ वटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् । बलिसँगै जमरा, बाबरी, रक्सी, बानढुप चढाएर देउताहरुलाई सेतो टीका चढाउँछन् । देउता नभएको मानिसले एक अथवा तीनवटा सम्म कुखुरा कुल देउटा रहेको गोत्र कहाँ गएर पूज्दछन् । बलि सबै देउताहरुलाई चढाइन्न । देउता हेरेर दूध, पानी, रक्सी, जाँड पुज्ने चलन छ । ‘जँडछब्बा’ थारू आफ्नो ‘नक्छेडिया’ देउतालाई जाँड चढाउँछन् । जाँड चढाउने चलन अन्य थरका थारूहरुमा छैन । पूजामा सबै गोत्र–थरका थारूहरुमा केही भिन्नता पाइन्छ । यो प्रत्येक गोत्र–थरका थारूको देउता फरक–फरक भएको कारणले यस्तो भएको हो ।

पिट्टर’ डेनाः
ढिक्रहवाको दोस्रो दिन मुर्घिहवाको दिनलाई ‘पिट्टरहवा’ पनि भनिन्छ । डेहुरार ‘पिट्टर’ दिने चलन पनि छ । पिट्टर दिँदा पुस्तान्तर अनुसारको खानेकुरा राख्ने चलन छ । जस्तै, सात पुस्ताका पुस्ताको पितृहरुलाई सम्झिँदा सात वटा टपरीमा खाने कुरा राखिन्छ । पाँच पुस्ताको पितृलाई पाँच टपरीमा अथवा जति पुस्ताका पितृहरुलाई सम्झिने हो त्यही अनुसार खानेकुरा दिने चलन । पितृलाई चढाएको खाना परिकार छोरा मान्छेले मात्र खानु हुन्छ भन्ने मान्यता भए पनि आजभोलि छोरीले पनि खान थालेका छन् ।

पिट्टर पुह्वाइनाः
डसियाको पूजा सकिएपछि महिलाहरु नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । ढिक्रहवा र पिट्रहवाको पूजा सकिएपछि पूजा गर्दा बचेको सामग्री र अन्य फोहर नदीघाट, कुलामा सेलाउन जानेलाई पिट्र पुह्वाए जैना भनिन्छ । पिट्टर सेलाउन जाँदा करैमा छाँकि, समूह–समूहमा महिलाहरु ढकियामा डेहुरार राखिएको पुरानो बहर्नी पूजा गरेको जमरा, बाबरी, कुपिण्डोको भेंडा लगायत जुन–जुन ठाउँ पूजा गर्छन् त्यहाँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । खानपिनको लागि छाँकि र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाइसकेपछि सबैजना मिलेर आफूसँग लिएर आएको छाँकि सबै मिली खान्छन् र मनोरञ्जन पनि गर्छन् । घाटमै सखिया नाच पनि नाच्ने गर्छन् ।

डसियाको अन्तिम दिन बिहानै कुल देवतालाई चामल पिसेर बनाएको सेतो टीका लगाइदिएर जमरा, बाबरी चढाउने परम्परा छ । परिवारका अन्य सदस्यहरुलाई पनि घरका मूलीले सेतो टीका लगाइदिन्छन् । कुलदेवतालाई टीका लगाइदिएपछि भलमन्साको घरमा जम्मा भई गाउँको कुल देउताको थानमा गएर सेतो टीका जमरा बाबरी चढाउने परम्परा छ ।

भलमन्साको घरमा गएर सामूहिक रुपमा टीका लगाउने पनि गर्दछन् । यसलाई ‘राजा–टीका’ भनिन्छ । गाउँको महटवा अथवा ककन्डरवाले भुइँह्यारथानमा टीका लगाइसकेपछि गाउँको टीका खुल्छ । गाउँभरि घर–घर आफ्नो मान्यजनहरुको हातबाट टीका लगाउँछन् र आशिर्वाद थाप्छन् । यो टीका सेतो पिठोको हुन्छ । सेतो टीका शोकको टीका हो । यसलाई शान्तिको प्रतीक रुपमा पनि लिइन्छ ।

टीका लगाइसकेपछि गाउँका बठिनियाँहरु (तरुनी केटीहरु) घर–घर गई नाचगान गर्छन् । यसलाई ढुर झर्ना भनिन्छ । बठिनियाँहरु बर्का नाच, सखिया, पैंया नाच नाच्छन् । नाच गाउँको मुखियाको घरबाट शुरु हुन्छ र गाउँभरि नाचिन्छ । सखिया नाच मादलको तालमा मजुराले नाच्ने नाच हो । यो नाचमा गीत पनि गाइन्छ तर, गीत गौण हुन्छ । कहिले गोलाकार त कहिले पंक्तिबद्ध भई नाचिने यो नाच हात खुट्टाको ताल मिलाएर शरीरलाई लचिलो पारी मजुरा बजाइन्छ ।
‘सखि रे ! लेउ लेउ इसरु रे
आपन भाट भटौरा,
सखि रे ! जाओ रे इसरु हरवा उहारे’
युवतीहरु ठरपैंया (विशेष ताल) मा नाच्छन् । पैयाँ पनि मादलको तालकै प्रधानता हुन्छ । यो पनि मजिराले नाच्छन् । ठरपैयाँ लगाउने बेला गाउने गीत यस किसिमको छ :
‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,
ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’

भने गाउँका झरालीहरु पनि झुमरा, हुर्डुङ्वा, छोक्रा लगायतका नाच नाचेर मनोरञ्जन गर्ने गर्छन् ।

जिउँरा लगाए जैना :
मुर्घिहवा (नवमी) को दिन साँझ नयाँ बिहे गरेका दुलहाहरुले आफ्नो ससुरालीमा टीका थाप्न जाने छुट्टै चलन पनि छ । यसलाई जिउँरा लगाए जैना भनिन्छ । टीका थाप्न जाँदा एउटा भाले कुखुरा, मचिया (सुटलीले बुनेर बनाइएको मुडा जस्तै चार खुट्टे बस्ने साधन), हाते पङ्खा लिएर जान्छन् । मचिया रातो, हरियो रङ्गले रंगाइएको डोरीले बुनेको हुन्छ भने हाते पङ्खा सिरिसको डाँठ धागोेले बुनेको अथवा सिरिस नभए बाँसले बुनेको हुन्छ । बेनामा चारैतिरबाट कपडाले बेरेको हुन्छ र मयूरको प्वाँख लगाएर सुन्दर पारिएको हुन्छ ।

घरबाट निस्किने बेला साजल चाउर (साजेको अछेता) खल्ती अथवा लुगाको एउटा कुनामा बेरेर राख्छन् । टीका थाप्न जाँदा भूत–बोक्सी अथवा नजर लाग्छ भनेर त्यसो गरिएको हो ।

टीका थाप्न गएको बेला मासुमा कुखुराको फिलौंडा विशेष हुन्छ । टीका थाप्दा ससुरालीबाट केही रकम अथवा कुनै उपहार दिएर बिदाइ गरिन्छ । टीका दुलहीको मामाघर, दिदी–बहिनीको घर, ठूलाबुवा, काका, फुपूहरुको घरमा पनि लगाउने चलन छ तर, बढैयाताल गाउँपालिका–८ का भलमन्सा दुर्गा थारु आजभोलि यो चलन पनि हराउँदै गएकामा चिन्ता ब्यक्त गर्छन् ।

डसियासँग थारू समुदायको धेरै चिज जोडिएको छ तर समयको प्रवाहसँगै थारूहरुले आफ्नो मौलिक संस्कृतिहरु छोड्दै गएका छन् । बाह्य संस्कृतिको पछि नलागी आफ्नो पहिचानसंँग जोडिएको डसिया जस्तो मौलिक संस्कृतिलाई समय सापेक्ष बनाउन युवा जमात लाग्नुपर्ने साहित्यकार तथा संकृतिकर्मी सुशील चौधरी बताउँछन् ।

Tags:

प्रतिक्रिया दिनुहोस