पीडितले समन्वय नगरी दिँदा अनुसन्धानमा अफ्ठेरो : अपराध अनुसन्धानविद् ठकुरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पीडितले समन्वय नगरी दिँदा अनुसन्धानमा अफ्ठेरो : अपराध अनुसन्धानविद् ठकुरी


१६ आश्विन २०७६, बिहिबार


आम बुझाई हुन्छ कि उच्च पदमा आसीन व्यक्तित्वहरू आदर्शवान हुन्छन् । त्यसैले त उनीहरूका हरेक गतिविधिहरू हरेक व्यक्तिका लागि अनुसरणीय तथा अनुकरणीय हुन्छन् । तर त्यस्ता केही घटना जसले एक छिनका लागि भए पनि समाज तरङ्गित बन्न पुग्छ । सभामुख कृष्ण बहादुर महरा माथि लागेको करणी आरोप यसैको एक ज्वलन्त घटना हो । आफ्नै कार्यालयमा कार्यरत एक महिला कर्मचारीको डेरामा पुगेर सँगै रक्सी पिएको र जवर्जस्ति करणी पश्चात् कुटपिट गरेको गम्भीर आरोप खेपिरहेका महरा यति बेला चर्चाको शिखरमा छन् । राजनीतिक उच्च पदस्थ व्यक्तिमाथि लागेको गम्भीर आरोप र विकसित घटनाक्रम प्रकरणबारे अपराध अनुसन्धानविद् हेमन्त मल्ल ठकुरीसँग प्रशासन डटकमले गरेको कुराकानी ।

महरा प्रकरणबारे तपाईको बुझाई के छ ?

कसैले देखे पनि नदेखे पनि र उजुरी गरे पनि नगरे पनि फौजदारी संहिताअनुसार घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाउनु पर्छ नै । जहाँसम्म महराको केश छ यसमा दुईवटा कुरा बुझ्नु पर्ने हुन्छ । पहिलो कुरा त नेपालमा मात्रै होइन कि विश्वका जुनसुकै देशमा पनि भिआइपीहरूलाई कुनै चार्ज लाग्दा एक छिन कन्फ्युजन हुन्छ । र, दोस्रो कुरा महरा गृहमन्त्री भएर प्रहरी सङ्गठन राम्ररी चलाई सकेको व्यक्ति पनि भएकोले उहाँबाट यस्तो भएको होला भनेर अनुमान नगरेपछि हल्का कन्फ्युजन भएको होला जस्तो लाग्छ । यदि म भएको भए पनि यस्तो अवस्था आउँथ्यो होला । त्यसैले प्रहरीलाई सापेक्ष लगाउने ठाउँ मैले देख्दैन ।

तर उजुरी आएपछि कानुनी कारबाही अगाडी बढाउनै पर्छ । प्रहरीले प्रक्रिया अगाडी बढाएको देखिन्छ । मुख्य समस्या के हो भने जो पीडित हुनुहुन्छ, उहाँले समन्वय नगरेको अवस्था छ । कुरामा एकरूपता छैन । सुरुमा अडियो, भिडियो लगायत सबैमा एकथरी आयो भने त्यसपछि फेरी अर्को कुराहरू बदलिँदै गएकोले उहाँको सहयोग आवश्यक पर्छ । बलात्कारको घटनामा महत्वपूर्ण भनेको एउटा त घटनास्थल हो, अर्को भनेको जसको रेप भएको छ त्यो मान्छे महत्वपूर्ण छ । किनकि प्रमाणहरू त्याहाँ छ । बलात्कार भएको होला नहोला त्यो आफ्नो ठाउँमा छ यदि भएको रहेछ भने अदालतमा प्रमाणित गर्न सक्ने प्रमाणका लागि समन्वय नगरिदिँदा अफ्ठेरो भएको हो जस्तो लाग्छ मलाई ।

बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिएन भनेकै आधारमा प्रहरीले अनुसन्धान नै नगर्ने त ?

बलात्कारको घटना भनेको गम्भीर मुद्दा हो । त्यस्ता किसिमका उजुरी आएपछि त्यहाँ भएका प्रमाणहरू सङ्कलन गरेर अघि बढाउनु पर्ने हो, हुन त पीडितले उजुरी गर्न आउँछु भनिन् तर गइनन् एउटा कुरा । राती नै प्रहरी त्यहाँ पुगिसकेकोले प्रमाणहरू सङ्कलन गर्नुपर्ने थियो । केही प्रमाणहरू त्यहाँ छुटेका छन् । उसलाई त्यति बेला नै फकाएको भए उजुरी दिन्थिन् कि ? त्यो अनुमान मात्रै गर्ने कुरा हो । तर घटनास्थललाई सुरक्षित गर्नु पर्ने हो त्यो गरिएन । गल्ती भयो होला । उसले पछि दिन्छु भने पनि तत्काल उजुरी लिनु पर्ने थियो ।

आफैले प्रहरी बोलाएकी महिलाले एकाएक जुन बयान फेरेकी छिन्, प्रहरीले घटनास्थल र पीडित महिला सुरक्षित नराखेकै कारण त्यो बिचमा केही चलखेल भएको हो कि ? यसमा प्रहरी चुक्न त पुगेन ? महिलाले बयान फेर्नुको कारण के हुन सक्छ ?

घटना केही न केही भएको छ । अब रेप नै भएको हो कि या अरू केही हो ? तर घटना भएको छ । त्यसपछि विभिन्न किसिमका दबाबहरू सिर्जना भए कि ? उहाँको पछिल्लो अन्तर्वार्ता हेर्दा पनि उहाँको अनुहारमा पनि एक किसिमको तनाव देखिन्छ । कुरा फेर्नका लागि दबाबहरू आएपछि जुन कुरा भएको थियो त्यो बाट बाहिर जानको लागि जुन फिलिङ्समा आउनु पर्ने त्यो देखि टाढा हुँदै गएको देखेँ मैले । र, त्यो दबाबले गर्दा प्रहरीको सम्पर्कमा आउन नखोजेको र जुन ठाउँमा उजुरी गर्नुपर्ने त्यो ठाउँमा जान सक्ने अवस्था देखेन मैले ।

घटनाक्रमसँगै महिलाको फेरिएको बयान हेर्दा अनुसन्धान प्रक्रियामा अझ आम चासो बढेको छ । यो घटनाको निष्पक्ष अनुसन्धान हुन सकेन र कहीँ कतै चुक्न पुग्यो भने प्रहरीको समग्र अनुसन्धान प्रक्रियामा नै ठुलो प्रश्न चिन्ह खडा हुने देखिन्छ, के अनुसन्धान ठिक ढङ्गले अघि बढी रहेको छ ?

पहिलो कुरा त उहाँ पब्लिक फिगर भएको हुनाले सबैको चासो हुन्छ । दोस्रो समाजले विवाह इतरको सम्बन्ध पचाउँदैन । सबैभन्दा पहिलो काम त महिलालाई सुरक्षित गर्नैपथ्र्यो । अनावश्यक दबाबका लागि । उनलाई मनोवैज्ञानिक परामर्श दिएर घटनाको अनुसन्धान अघि बढाउनु पथ्र्यो । घटना हो होइन भनेर टुङ्गोमा त पु¥याउँनै पर्छ । गल्ती त कसैबाट भएकै छ, त्यसका लागि अनुसन्धानलाई अगाडी बढाउनै पर्छ ।

अहिलेकै अवस्था अब यो घटनाको अनुसन्धान प्रक्रिया कसरी अघि बढ्नुपर्छ ?

पहिलो कुरा घटनास्थलमा फेला परेका प्रमाणहरूलाई केलाउनु पर्छ । दोस्रो कुरा सबैभन्दा महत्वपूर्ण भनेको महिला भएकोले जुन किसिमले घटनाक्रम अघि बढेको देखिन्छ त्यसलाई हेर्दा पनि उनलाई मनोवैज्ञानिक परामर्श दिएर उजुरीसम्म ल्याउनै पर्छ । किनभने यदि गलत साबित भयो भने महिला दोषी हुन्छ । फौजदारी आचारसंहिताअनुसार गलत उजुरी दिनेलाई पनि कानुनी कारबाही हुने व्यवस्था छ । को सही हो, को गलत हो भन्ने कुराका लागि पनि यो जरुरी छ ।
तेस्रो कुरा सरकारले यो घटनालाई स्वतन्त्ररुपमा अनुसन्धान गर्न दिनुपर्छ । र चौथो कुरा थप अर्को छानबिन समिति बनाई दिनु हुन्न । यो छानबिनको विषय होइन, अनुसन्धानको विषय हो ।

घटनाक्रम जे जसरी विकास भईरहेका छन्, यो अवस्थामा प्रहरीले निष्पक्ष अनुसन्धान गर्न सक्ला ?

सबैभन्दा ठुलो कुरा प्रहरीले एक किसिमको अनुसन्धान अघि बढाएको छ । प्रहरीको अनुसन्धानबाट नै देखिएका कुराले गर्दा पनि उहाँ सतर्क हुनुभएको हो । जुन उहाँले एक किसिमको अड्डी लिनुभएको थियो त्यसबाट बाहिर आउनको लागि प्रहरीले देखाएका प्रमाणहरू हुन् आधारहरू । यो अनुसन्धान प्रक्रिया अघि बढाउन महिलाले समन्वय गर्नै पर्छ । प्रमाण उहाँको जिउमा छ । उहाँको लुगामा छ । घटनास्थलमा भएका प्रमाण त लिएर गयो । सबैभन्दा महत्वपूर्ण लिङ्क गर्ने प्रमाण जिउमा छ । हरेक घटनामा पोलिटिकल फिगर जोडिन्छ भन्दै जाँदा अहिलेको पोलिटिकल फिगरको त अनुहार नै देखिएकोले यो घटनालाई निष्कर्षमा पुर्‍याइएन भने सरकार र प्रहरी माथि जनताले प्रश्न उठाउँछन् । त्यसैले यो घटना सरकारको ठुलो साखको विषय हो । निष्कर्षमा त पुर्‍याउनै पर्छ ।

अन्तमा, यो घटनाका धेरैजसो पाटाहरू सञ्चार माध्यमबाट आम नागरिकमा पुगिसकेको अवस्था छ, यति हुँदा पनि घटना अन्तै मोडियो भने त्यसपछिको परिस्थिति के अनुमान गर्न सकिन्छ ?

पहिलो कुरा त जुन भिडियो र अडियोहरू छन् त्यसलाई पुष्टि गर्नुपर्छ । त्यो पुष्टि गर्नका लागि महिलाले समन्वय गर्नुपर्छ । अर्को कुरा केही सम्बन्ध छ भन्ने त पुष्टि भई सकेको छ । विवाह इतरको सम्बन्धलाई हाम्रो समाजले मात्रै होइन कि दुनियाँ भरी कसैले पत्याउन्न । यस्ता सम्बन्धमा विश्वमा ठूल ठुला मानिसहरूको जागिर गएको छ । भविष्य बरबाद भएको छ । महराको केशमा प्रश्न चिन्ह त उठिसक्यो । अनुसन्धानमा दोषी को देखिएला को नदेखिएला त्यो एकतिर छ तर दाग त लाग्यो नि त ! राजनीतिक जीवनमा दाग लागेता पनि त्यसलाई अलिकति कम गर्नकै लागि भए पनि अनुसन्धान निष्कर्षमा पु¥याउनै पर्छ । बिचमा अड्कियो भने महरा, सरकार र प्रहरी कसैलाई पनि राम्रो हुँदैन ।

प्रतिक्रिया दिनुहोस