रेशमखेतीतर्फ आकर्षण घट्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रेशमखेतीतर्फ आकर्षण घट्दै


६ भाद्र २०७६, शुक्रबार


चितवन । पछिल्लो समय रेशमखेतीतर्फ कृषकको आकर्षण घट्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा ३०० को हाराहारीमा व्यावसायिक रेशमखेती गर्ने कृषक थिए । यो सङ्ख्या घटेर अहिले २५ मा झरेको हो ।

किम्बु नर्सरी विकास केन्द्र भण्डाराबाट गत वर्ष चार लाख २६ हजार ७०० किम्बुका बिरुवा बिक्री भएका छन् । तीमध्ये रेशमखेतीको प्रवर्द्धन गर्ने कृर्षक एक जना पनि नरहेको केन्द्रले जनाएको छ । ती सबै बिरुवा पशुपालक कृषकले घाँसका लागि लगेका हुन् । यस केन्द्रअन्तर्गत चितवन र मकवानपुरमा गरी ५० मात्र कृषक रहेका छन् ।

केन्द्रका अधिकृत एकबहादुर सापकोटाका अनुसार वर्षेनी व्यावसायिक कृषकको सङ्ख्या घट्दै गएको छ । कृषकले उत्पादन गरेको कोकुन धागो उत्पादन गर्ने कार्यक्रम भएका जिल्लामा बिक्री गरिन्छ । तर, कोकुनको मूल्यवृद्धि नहुँदा कृषक निरुत्साहित देखिएको सापकोटाको भनाइ छ । सापकोटाले भने, ‘रेशमखेती कार्यक्रममा थुप्रै समस्या देखिएका छन् न त नया’ प्रविधि भित्र्याउन सकिएको छ न कृषकलाई आकर्षित गर्न मूल्य बढाउन सकिएको छ ।’

कृषकले प्रतिकिलो रु २५० मा कोकुन बिक्री गरिरहेका छन् । आम्दानीको दरिलो स्रोत बन्न नसकेकै कारण रेशमखेतीको आकर्षण घटेको कृषक बताउँछन् । माडीका कृषक दुर्गाप्रसाद सुवेदीले लगानीअनुसारको आम्दानी हुन नसक्दा सबैले पेशा छाड्न थालेको बताए । यस्तै अवस्था रहेमा आफूले पनि पेशा परिवर्तन गर्ने उनको भनाइ छ ।

केन्द्रअन्तर्गतको मकवानपुरको बूढीचौर र चितवनको माडीमा मात्र कृषकले रेशमखेती गर्दै आएका छन् । कार्यालयबाट किम्बुका बिरुवा लानेमा सबै बाख्रापालक किसान रहेका छन् । शुरु गरिएको किम्बु नर्सरीमा रेशमखेती गर्ने कृषक आउन छाडेपछि विभिन्न समूह तथा बाख्रापालक कृषकलाई बिरुवा बिक्री गरिएको हो ।

बाख्रापालक कृषक तथा समूहबाट छ लाख २४ हजार बढी बिरुवा माग भए पनि केन्द्रले दुई लाख कम बिरुवा मात्रै उपलब्ध गराइएको किम्बु नर्सरी विकास केन्द्रका प्राविधिक जीवन सापकोटाले बताए । मङ्सिरमा नर्सरी तयार गरी बिरुवा हुर्काएपछि जेठ–असारमा बिरुवा बिक्री गरिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा १८ लाख बिरुवा लगाइएकोमा १२ लाख ६७ हजार बिरुवा मात्र बिक्री भएको थियो । जिल्लामा रेशमखेतीप्रति कृषकको आकर्षण घट्दै गएपछि रेशमखेतीका लागि किम्बुको माग हुनछाडेको हो ।

रेशम कीराले किम्बु घाँस खाएपछि कोकुन उत्पादन गर्छ । कलिलो किम्बुको पातमा २४ प्रतिशत प्रोटिन पाइन्छ । एक बाक्सा कीराका लागि एक हजार किम्बुका बिरुवा चाहिन्छ । काभ्रेपलाञ्चोकको खोपासीमा रहेको रेशम विकास केन्द्रबाट कीराका बाक्सा ल्याएर जिल्लाका कृषकलाई उपलब्ध गराइँदै आएको छ । जिल्लामा कृषकले रेशमको कोकुन (रेशम कीराले किम्बु खाएर बनेको डल्लो) मात्र उत्पादन गर्छन् ।

जिल्लामा गत वर्ष ५५० किलो कोकन उत्पादन भएको थियो । शुरुआती समयमा कृषक पनि बढी भएकाले उत्पादन १५ मेट्रिकटनसम्म भएको भए पनि विस्तारै कृषक घटेसँगै उत्पादनमा पनि कमी आएको केन्द्रका प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुई वर्षअघिसम्म जिल्लाबाट एक मेट्रिकटन कोकुन उत्पादन हुँदै आएको थियो । अहिले सरकारको अनुदान नहुनु र बजारको अभावले यसतर्फ कृषकको आकर्षण घटेको उनले बताए ।

विसं २०४९ मा रेशमखेती विकास कार्यालयका रूपमा भण्डारामा स्थापना भएको कार्यालय विसं २०६१ मा किम्बु नर्सरी व्यवस्थापन केन्द्र बनेको थियो । सोही कार्यालय विसं २०७५ मा किम्बु नर्सरी विकास केन्द्रका रुपमा स्थापना भएको हो । शुरुमा कोरियाली संस्था कोइका र जापानी संस्था जाइकाले प्रवर्द्धन गरेको रेशमखेती ती निकायले साथ छाडेपछि नेपाल सरकारले प्रवर्द्धन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस