छरुवा धान खेतीप्रति आकर्षण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

छरुवा धान खेतीप्रति आकर्षण


१ श्रावण २०७६, बुधबार


कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित भएका छन् ।

खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा जग्गामा छरुवा विधिबाट हिर्दिनाथ धान खेती गरेका उनले ५६ बोरा धान उत्पादन गरेका थिए ।

‘त्यही जग्गामा रोपाइँ गरेको भए २० देखि २५ बोरा धान उत्पादन हुन्थ्यो’, उनले भने, ‘छरुवा धान खेतीसँगै हरियो मलका रुपमा मुँग लगाइएकाले उत्पादन बढेको छ ।’ यस वर्ष पनि झारपातको समस्या नभएकाले धानको उत्पादन बढ्ने आशा लिइएको उनले बताए ।

धानसँगै मुँग लगाउँदा यसले हरियो मलका रुपमा काम गर्नाका साथै झारपातको प्रकोप पनि कम गर्दछ । धान छरेको ३० दिनको अवधिमा झारनाशक विषादीको प्रयोग गरी मुँगका बोटहरु मर्ने र त्यसले मलको कार्य गर्दछ ।

कृषिसम्बन्धी किताब पढेर र भारतको एक टेलिभिजनमा आउने कृषि कार्यक्रम हेरेर छरुवा धान विधिमा मुँगको मिश्रित खेती गर्न प्रेरित भएको वडायकले बताए ।

धानको बेर्ना तयार गर्दादेखि रोपाइँ गर्दासम्म निकै खर्च र श्रम खर्चिनुपर्ने भए पनि छरुवा विधिमा ‘सिड ड्रिल मेशिन’को सहायताले सिधै खेतमा खनजोत नगरी धान खेती गरिने भएकाले लागत खर्चमा कमी आउने र उत्पादनसमेत बढ्ने गरेको उनको भनाइ छ । ‘मेशिनको सहायताले मल र बीउ एकै साथ छर्ने भएकाले काम छिटोछरितो सम्पन्न गर्न सकिन्छ । जनशक्ति पनि धेरै लाग्दैन’, कृषि प्राविधिक हरिश सेटीले भने ।

छरुवा विधिबाटै धान खेती गरेका कृष्णपुर नगरपालिकाको बालुवा फाँटाका किसान वीरबहादुर राजवंशीले खेतमा धानको बीउ मेशिनको सहायताले एकनासले छरिएकाले रोपिएको धानभन्दा बोटहरु राम्रोसँग सप्रिएको बताए ।

प्रतिक्रिया दिनुहोस