पानीको मुहान सुक्दा जनजीवन प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पानीको मुहान सुक्दा जनजीवन प्रभावित


५ असार २०७६, बिहिबार


रौतहट । अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदूरसमेत प्रभावित भएका छन् ।

गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् । जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

प्रचण्ड गर्मीका कारण रौतहटका पानीका मुहानसमेत सुक्न थालेका छन् । जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिकास्थित रहेको डावरीको पानीको मुहान सुकेको स्थानीयवासीले बताएका छन् । यसअघि पहिले–पहिले कहिले नसुक्ने डावरीको जरुवा पानी यसपटक सुकेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

जिपी उद्यान केन्द्रको नामले परिचित रहेको डावरीमा यो वर्षभन्दा पहिले हरेक वर्ष स्थानीयवासी गर्मीमा नुहाउने स्थानका रुपमा परिचित रहेको थियो । स्थानीयवासीले वस्तुलाई पानी खुवाउने स्थानका रुपमा परिचित डावरीको यति बेला पानीको मुहान नै सुकेको स्थानीयवासीले बताएका छन् ।

चन्द्रपुर नगरपालिका–६ मा जङ्गलको बीचमा रहेको डावरीको जरुवा पानीको मुहान सुकेपछि डावरीमा नुहाउन आउने स्थानीयवासीका अलावा पशुपक्षीलाई पानी खुवाउनसमेत कठिनाइ भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए ।

यता चन्द्रपुर–३ मा गर्मीकै कारण सिँचाइ पानीका मुहान सुक्न थालेपछि गैँडाटारका किसान मर्कामा परेका छन् । असार महीना लागिसक्दा पनि सिँचाइ हुँदै आएको स्थानीयवासी चाँदीखोला र डुमजोर खोलामा पानी सुकेपछि समस्या भएको हो । असार–साउनमा लगाउँदै आएको धानको ब्याड सुक्न थालेपछि किसानले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउन लागिपरेको स्थानीय किसान बमबहादुर वाइवाले बताए ।

रौतहटका किसानले हरेक वर्ष हिले धानको ब्याड राख्दै आएका थिए तर यसपालि भने पानीकै समस्याले सबै किसानले धुले ब्याड राखेको र उक्त बीउसमेत जोगाउन हम्मेहम्मे परेको अर्का किसान मानध्वज लामाले बताए । त्यसैगरी वाग्मती सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि धानका बीउ सुकेको स्थानीय किसानलाई भने राहत भएको छ ।

गर्मी बढेपछि अन्नबालीको उत्पादन गर्न नपाउँदा निराश भएका किसानलाई सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि हर्षित भएका छन् ।

खडेरीले मकै उत्पादनमा कमी

रौतहटमा यस वर्ष मकैको उत्पादनमा कमी आएको छ । लामो समयसम्म खडेरी परेका कारण मकैको उत्पादनमा कमी आएको हो ।

लामो समय खडेरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा मकैको उत्पादन घटेको छ । तोरी तथा गहुँबाली भित्र्याई फागुनमा मकै रोपेपछि जमीन गल्ने गरी एक झर पनि पानी नपरेकाले साना घोगा लागेका कारण उत्पादनमा कमी आएको हो । कप्तान टोलका किसान गोपाल तिमल्सिनाले गत वर्षप्रति कट्ठामा चार मनसम्म मकै फले पनि यो वर्ष पानी नपरेका कारण प्रतिकट्ठामा दुई मन मात्र फलेको बताए ।

उनले एक बिघाभन्दा बढी क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् । चन्द्रपुर नगरपालिकाको पौराई, जुडिवेला, गैडटार, कप्टान टोल, चन्द्रनिगाहपुर, सन्तपुरलाई मकै खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।

यस्तै चन्द्रपुर–६ का किसान लालबहादुर पुरीले आकाशे पानीको भर नपरी भुमिगत पानीबाट सिँचाइ गर्दा पनि उत्पादनमा वृद्धि नभएको बताए । करीब १० कट्ठा जमीनमा रोपेको मकै गत वर्ष प्रतिकट्ठा दुई क्विण्टलसम्म उत्पादन भए पनि यस वर्ष पानी नपरेकाले आधा घटेको बताए ।

भूमिगत पानीबाट गरेको सिँचाइभन्दा आकाशे पानीबाट सञ्चित हुँदा बालीको उत्पादन बढ्ने सन्तपुरका किसान हरि घिमिरेले बताए । यस वर्ष खडेरीका कारण मकैको बोटमा एउटाभन्दा बढी घोगा नलागेको बताए । तर कतिपय किसानले भने बारीबाटै मकैको हरिया घोगा बिक्री गरेर आम्दानी लिने गरेका छन् । हरिया घोगा बिक्री हुँदा समयमै अर्को बाली लगाउन पाउने, मकैको हरिया बोट घाँसका लागि राम्रो हुने भएपछि किसान मकै खेतीतर्फ आकर्षित भएका हुन् ।

आधुनिक विधिबाट रोपिएको हाइब्रिड मकैको उत्पादन अत्यधिक हुने भएकाले जिल्लाको उत्तरी क्षेत्रका किसानले मकैलाई नगदेबालीका रुपमा लिने गरेका छन् । तराईमा दुई बाली मकै खेती गर्न सकिने र आम्दानीसमेत राम्रो हुने किसान बताउँछन् । व्यापारीले विशेषगरी काठमाडौँका लागि ट्रकमै लोड गरेर मकैका हरिया घोगा लैजाने गर्छन् । चन्द्रपुर नगरपालिकामा गत वर्ष एक सय बिघा क्षेत्रफलमा मकै खेती भएको थियो । यस वर्ष दुई सय बिघाभन्दा बढी क्षेत्रफलमा खेती भएको नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

चन्द्रपुर नगरपालिकाका कृषि विकास शाखाका प्राविधिक सिर्जना ढकालका अनुसार यस वर्ष खडेरीका कारण मकैको उत्पादनमा कमी आउने बताए । रासस

प्रतिक्रिया दिनुहोस