दुई हजार विद्यार्थीको क्षयरोग परीक्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुई हजार विद्यार्थीको क्षयरोग परीक्षण


२९ जेष्ठ २०७६, बुधबार


खलङ्गा । जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् ।

कर्णाली मावि अनामनगरका ७००, चन्दननाथ नमूना माविका ९००, रत्नचुण्डेश्वर मावि बोहोरागाउँका १७०, जनता प्राविधिक माविका ७०० र जनज्योति मावि बारकोटे वाडाका ७० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएको कर्णाली मावि अनामनगरका प्रध्यानाध्यापक मीनराज शर्माले जानकारी दिए। दुई हजार ५४० मध्येमा चार विद्यार्थीलाई शल्यक्रिया गर्नुपर्ने, छ लाई सामान्य औषधि खानुपर्ने र १० मुटुरोग भएकालाई छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको शर्माले बताए।

छ बाथ मुटुरोगी, १४ मा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई मुटुको जाँच गरिएको हो ।

न्यायिक समितिलाई कानूनी शिक्षा

जिल्लाका आठ वटै स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारीलाई कानूनका बारेमा जानकारी गराइएको छ । कानूनी शब्द र ज्ञानको अभावमा न्याय निरुपण गर्न समस्या भएपछि स्थानीय तहका न्यायिक समितिलाई जानकारी गराइएको हो । न्याय सम्पादनको जिम्मेवारी पाएका न्यायिक समितिका पदाधिकारीलाई बारले कानून सिकाएको हो ।

जिल्ला बार एकाइ जुम्लाको आयोजना तथा जाइकाको सहयोगमा जुम्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीलाई कानून र मुद्दाको फैसला गर्ने तरिका सिकाइएको छ । सर्वोच्च बारका महासचिव अधिवक्ता बिष्णु लुइँटेल, जुम्ला बारका कार्यवाहक अध्यक्ष अधिवक्ता पदमबहादुर शाही, अधिवक्ता नारायणप्रसाद भट्टराई, अभिवक्ता नन्दबहादुर खत्रीलगायतका अधिवक्ताले जिल्लाका आठ स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीलाई भेला गराएर कानून सिकाएका हुन् ।

स्थानीय तहमा हुने विवाद र मुद्दाको निरुपण गर्न हरेक गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपमेयरको नेतृत्वमा न्यायिक समिति गठन भएका छन् । सामान्य खालका विवाद र मुद्दामा मिलापत्र गर्ने अधिकार पाएका न्यायिक समितिलाई नयाँ मुलुकी संहितामा भएको व्यवस्थाका बारेमा जानकारी गराइएको हो । फैसला र मिलापत्रको लिखत तथा अभिलेख राख्ने तरिका र फैसला गर्ने उपायबारे सिकेको तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णुमाया बुढाले बताए।

जनताले आँगनमै न्याय पाउन् भन्ने उद्देश्यले बनेका न्यायिक समितिलाई सक्रिय बनाउनका लागि संविधान, ऐन, नियम, न्यायिक समितिको काम, कर्तव्य र अधिकार, मुद्दाको प्रकृति र मुद्दाको मिलापत्रबारे व्यवहारिक ज्ञान आवश्ययक रहेको छ । कानून सिक्न सदरमुकाममा आएकी तातोपानी गाउँपालिका उपध्यक्ष गङ्गादेवी उपाध्याले बारले दिएको कानूनसम्बन्धी अभिमुखीकरणले आफूलाई काम गर्न सहजता हुने बताए।

यस्तै सिञ्जा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढाले कानूनी जटिलताका कारण न्यायिक समितिलाई मुद्दाको छिनोफानो गर्न समस्या परिरहेको उल्लेख गरे। उनले कानूनी व्यवस्थाका बारेमा जानकारी नहुँदा भोग्नुपरेका समस्या अब नदोहोरिने बताए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस