अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम


९ बैशाख २०७६, सोमबार


काठमाडौं । नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा विसं २०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न गृह प्रशासन सुधार योजनाअनुसार काम गरेको बताएको हो ।

प्रहरी प्रधान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा व्यावसायिक तथा पारदर्शी ढङ्गले काम गरिरहेको बताए ।

‘मुलुकमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानून विपरीत काम गर्ने जो कोहीलाई कारवाही गर्छौँ,’–उनले भने ।

महानिरीक्षक खनालले राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएको बताउँदै यसलाई साथ दिन सञ्चारकर्मीलाई आग्रह समेत गरे । ‘निर्मला पन्तको हत्यारा, रामबहादुर बम्जनबारे नेपाल प्रहरीले गहिरो ढङ्गले अनुसन्धान गरिरहेको छ,’–महानिरीक्षक खनालले भने ।

नेपाल प्रहरीले नेपालमा अपराध गरेर विदेश गएर बस्ने अपराधीलाई इन्टरपोलमार्फत कानूनी दायरामा ल्याएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशभरका ७५१ स्थानीय तहसँग सम्झौता गरिसकेको बताए ।

‘प्रहरीले एक लाख ९४ हजार विद्यार्थी, दुई हजार १९१ विद्यालय र १० हजार २०८ अभिभावकसमक्ष समुदाय–प्रहरी साझेदारी कार्यक्रम लगिसकेका छौँ,’–उनले भने । विसं २०७५ मा मात्र प्रहरीले २ हजार २६३ फरार अभियुक्तलाई पक्राउ, ४३५ अवैध हातहतियार बरामद, विभिन्न आपराधिक घटनामा ३८ हजार १५१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिइयो ।

यस्तै ३७ हजार ६८९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न ठाउँबाट रु १ अर्ब ९३ करोड ९६ लाख ६० हजार राजश्व सङ्कलन गरेको छ । हाल प्रहरीको अपराध अनुसन्धानमा पाँच प्रतिशत प्रहरी रहेपनि अब त्यसलाई १० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको प्रवक्ता सुवेदीले बताए ।

बाल यौन दुराचारमा संलग्न रहेको आरोपमा छ विदेशी र एकजना नेपालीलाई पक्राउ, विध्वंसात्मक गतिविधिमा संलग्न एक हजार ५१४ जनालाई पक्राउ, एक हजार ३१३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

यसैगरी प्रहरीले आन्तरिकतर्फ १८ हजार २९४ जनालाई क्षमता अभिवृद्धि तालीम, ८५ प्रतिशत बेरुजु फछ्यौट, २८ प्रहरी इकाइ पुनःनिर्माण, चार हजार ७७४ प्रहरी कर्मचारीलाई पुरस्कार तथा १ हजार ९८० प्रहरी कर्मचारीलाई कारवाही गरेको छ ।

एक प्रहरी कार्यालय एक सवारी साधन नीति लिएको प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न स्थानमा २ हजार ५५२ रोपनी जग्गा निःशुल्क प्राप्त गरेको जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउनका लागि प्रहरीले तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको छ ।

यस्तै भर्खरै मन्त्रिपरिषद्बाट पारित भएको ट्राफिक प्रोत्साहन भत्ताले ट्राफिक प्रहरीको मनोबल झन् बढेको प्रहरी प्रधान कार्यालयले बताएको छ । आगामी दिनमा देशभरका विभिन्न भागमा ७५० प्रहरी कार्यालय स्थापनाका लागि आवेदन परेको बताउँदै प्रहरीले उक्त आवेदन परिपूर्तिका लागि २२ हजार ४१८ जनशक्ति आवश्यक रहेको औँल्याएको छ ।

एक प्रहरी एक खाट हुनुपर्ने अभियानलाई पूरा गर्न नेपाल प्रहरीले आगामी दिनमा १२ हजार खाट निर्माण गर्नुका साथै देशभर ७०० मेस तथा शौचालय आवश्यक रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

त्यसैगरी प्रहरीले देशभर १ हजार थान सवारी साधन आवश्यक रहेको बताउँदै उपत्यकाभित्र छिर्ने सवारी साधनको चेकजाँचका लागि अत्याधुनिक भेहिकल एक्स रे सेवा प्रदान गर्न लागिरहेको बताएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी र उनीहरुका आश्रित परिवारको स्वास्थ्य सेवालाई ध्यानमा राखेर गण्डकी प्रदेश र प्रदेश नं २ मा प्रहरी अस्पताल तथा चितवन र सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस