देशकै ५०औँ साक्षर जिल्ला डडेल्धुरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशकै ५०औँ साक्षर जिल्ला डडेल्धुरा


९ बैशाख २०७६, सोमबार


डडेल्धुरा । सात स्थानीय तह रहेको डडेल्धुरा देशकै ५० औँ साक्षर जिल्ला घोषणा गरिएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले डडेल्धुरालाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।

पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा पूर्ण साक्षर भने नभएको शिक्षा मन्त्री पोखरेलले बताए ।

जिल्लामा १५ देखि ६० वर्ष उमेरको कुल जनसंख्या ८९ हजार ८ सय ८ रहेकोमा ८६ हजार ९ सय ३२ जना साक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । १५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६.८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइले बताएको छ ।

जिल्लामा अझै २ हजार ८ सय ७६ जना निरक्षर रहेको उल्लेख छ ।

साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका ७ वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो । साक्षरता अभियानको लागि जिल्लामै सरोकारवाहरुको गठित समितिले कुल जनसंख्याको न्युनतम ९५ प्रतिशत जनसंख्या साक्षर भएको पाइएमा साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो ।

मन्त्री पोखरेलले जिल्लामा अझै धेरै बालबालिका विद्यालय बाहिर रहेका र सबै स्थानीय तहले तिनको तथ्यांक खोजेर विद्यार्थी भर्ना अभियानलाई तदारुकताका साथ अगाडि बढाउनुपर्ने बताए ।

मन्त्री पोखरेलले भने, ‘९६.८ प्रतिशत पछि बाँकी रहेका ३.२ प्रतिशत निरक्षरको खोजी गरेर साक्षर बनाएमात्र पूर्णरुपमा साक्षर जिल्ला बन्नेछ ।’

उनले आर्थिक, भौगोलिक विकटता र साँस्कृतिक कारणले बालबालिकाहरु विद्यालयमा आउन नसकिरहेको बताउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन यी तीन वटा कारणलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।

सरकार राष्ट्रिय शिक्षा नीति बनाउन लागिरहेको मन्त्री पोखरेलको भनाइ छ ।

‘‘उच्चस्तरीय शिक्षा आयोगले गत माघ १ गते प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । सो मस्यौदा मन्त्रिपरिषदमा पेश भइसकेको छ ।’’ उनले भने, ‘‘अब चाँडै राष्ट्रिय शिक्षा नीति पास हुने छ ।’’

Tags :
प्रतिक्रिया दिनुहोस