२३ महीनापछि आफ्नै भवनमा प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२३ महीनापछि आफ्नै भवनमा प्रहरी


२६ चैत्र २०७५, मंगलबार


साँखु । वि.सं. २०७२ को भूकम्पका कारण विस्थापित बनेको महानगरीय प्रहरी प्रभाग साँखुले २३ महीनापछि आफ्नै प्रहरी भवन पाएको छ । भूकम्पले भवनमा क्षति पुर्‍याएपछि भौतिक संरचनाको पुनःनिर्माण गर्दै लैजाने क्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

सोमबार उक्त भवनको उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले सुरक्षाकर्मी सुरक्षित हुँदा मात्रै जनतालाई सुरक्षा दिन सकिने भएकाले प्रहरीको भवन निर्माण अपरिहार्य रहेको बताए ।

जेभी गोकर्णेश्वर काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंबीच भवन निर्माण सम्झौता भएको थियो । उक्त प्रहरी भवन निर्माण सम्पन्न गर्न तीन करोड ४४ लाख ७४ हजार ३२० लागत लागेको प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाका इञ्जिनीयर प्रहरी नायब उपरीक्षक फणीन्द्र बरालले जानकारी दिए ।

तीन तलाको सुविधायुक्त महिला, पुरुष हिरासत कक्ष, अपराध अनुसन्धान कक्ष, प्रशासन शाखा, प्रहरी प्रमुख कक्ष तथा प्रहरी ब्यारेकलगायत २१ कोठा रहेका छन् ।

करीब २३ महीना स्थानीय क्लबको टहराबाट सुरक्षा प्रदान गर्दै आएको भए पनि अहिले भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न भवन पाउँदा निकै सहयोग मिलेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।

प्रहरी निरीक्षक खनालले भने, “साँघुरो कोठाबाट लामो समयदेखि सेवा प्रदान गर्दै आउँदा निकै कष्ट व्यर्होनु परेको थियो । थुनुवा कक्ष थिएन, ब्यारेकको समस्या थियो । राति पक्राउ परेको व्यक्तिलाई कुरेरै बस्नुपर्ने स्थिति थियो, अब भने शान्ति मिलेको छ । भूकम्पले भवन चर्किएपछि लामो समय चर्किएकै भवनबाट अहोरात्र सुरक्षामा खटियो ।”

बर्खायामको झरी साथै पटक–पटकको परकम्पको त्रासमा ड्युटीमा खटिनु परेको दुखेसो महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यररत प्रहरी जवान नन्दराम ओलीले सुनाए । अहिले सुविधासम्पन्न भवन पाउँदा निकै राहत मिलेको ओलीले बताए । आफु सुरक्षित भएर नागरिकको सुरक्षा गर्न पाउँदा थप ऊर्जा मिल्ने प्रहरीको भनाइ छ ।

वि.सं. २०७४ असार २ गते निर्माण शुरु गरिएको प्रहरी प्रभाग साँखुको प्रहरी भवन सोमबार सम्पन्न भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस