प्लाष्टिक व्यवस्थापनमा जोड दिँदै नाष्ट « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

प्लाष्टिक व्यवस्थापनमा जोड दिँदै नाष्ट


२२ फाल्गुन २०७५, बुधबार


ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पुनःप्रयोग गर्न नमिल्ने प्लाष्टिक व्यवस्थापन गर्न नयाँ योजना अघि बढाएको छ । नाष्टका वैज्ञानिकले प्लाष्टिकबाट इन्धन प्रशोधन गर्न सकिने कुराको अनुसन्धान गरेसँगै यसबाट इन्धन पनि निकाल्न सकिन्छ भन्ने जानकारी दिइरहेका छन् । त्यस सम्बन्धमा हाल नाष्टका कर्मचारी देशका ४० स्थानीय निकायमा पुगिसकेका छन् ।

देशका ४० स्थानीय तहमा नाष्ट पुगेर प्लाष्टिक प्रशोधन र त्यसबाट उत्पादन हुने इन्धनका बारेमा जानकारी गराइसकेको नाष्टका विज्ञान तथा प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । ‘विसं २०७२ को भूकम्प पहिले प्लाष्टिकबाट इन्धन निकाल्ने योजनाको तयारी नाष्टले गरे पनि त्यसमा पूर्णता दिन सकेको थिएन’, ढकालले भने, ‘जापानको ‘इको पार्टी जापान’ नामक संस्थाले हामीलाई एउटा प्लाष्टिक प्रशोधन गर्ने मेशिन सहयोग गरेसँगै यस काममा जोड दिन लागिपरेका हौँ ।’

नाष्टले पाइरोलाइसिस विधिबाट प्लाष्टिक व्यवस्थापन गर्न सकिने कुराको जानकारी दिइसकेको छ । देशमा प्लाष्टिक प्रदूषण र नाकाबन्दीको सङ्कट परेसँगै नाष्टले इन्धन व्यवस्थापनमा अझ रुचि देखायो ।

नाष्टले चार महीना अघि जापानबाट निःशुल्क प्लाष्टिक प्रशोधन गर्ने यन्त्र पायो । त्यसपछि उसले केही विद्यार्थीको सहयोगमा विभिन्न प्रकारका प्लाष्टिक सङ्कलन गरी परीक्षणसमेत गरिसकेको छ । कुन प्लाष्टिकबाट इन्धन निस्कन्छ, इन्धनको गुणस्तर कस्तो हुन्छ, कति डिग्रीको तापबाट कुनकुन किसिमको इन्धन निस्किन्छ भन्ने जानकारी नाष्टले स्थानीय तहका उद्यमी र व्यवसायीलाई गराइसकेको छ ।

उसले उद्यमी र व्यवसायीलाई एक पटकमा १० केजी प्लाष्टिक दुई घण्टाभित्र लोड गर्न मिल्ने जनाएको छ । काठमाडौँ उपत्यकाका इञ्जिनीयरिङ क्याम्पस पुल्चोक, थापाथली र त्रिचन्द्रबाट शोध गर्ने विद्यार्थीलाई नाष्टले ‘वेस्ट मैनेजमेन्ट स्कीम’ कार्यक्रममा सहभागी गराई स्थानीय तहले प्लाष्टिक पुर्दा कति रकम खर्च गर्छन्, पाइरोलाइसिस गर्न कति रकम खर्च हुन्छ, प्लाष्टिकबाट निस्कने इन्धनको मूल्य कति पर्छ र प्लाष्टिक प्रशोधन गर्दा फाइदा वा बेफाइदा के हुन्छ भन्ने जानकारी गराइसकेको छ ।

त्यसैगरी नाष्टले सङ्घ, प्रदेश र स्थानीय निकायको वेबसाइटमार्फत त्यहाँका उद्यमी र व्यवसायीलाई प्लाष्टिक प्रशोधनको महत्व र यसबाट हुने फाइदा वा बेफाइदाको जानकारी निःशुल्क रूपमा दिएकोे छ ।

नाष्टले अयोजना गरेको अन्तरक्रियामा राजनीतिकर्मीले भाग लिने, कुरा सुन्ने, ताली बजाउने र राम्रो भनी प्रशंसा गर्ने गरे पनि प्लाष्टिक प्रशोधनको व्यवसायमा खासै ध्यान दिइसकेका भने छैनन् । उद्यमी र व्यवसायीमा प्लाष्टिकबाट इन्धन उत्पादन गर्ने सोच अघि बढाउँदा व्यवसाय जोखिममा पर्छ कि भन्ने डर पैदा भएको छ ।

‘सन् २०१९ सालभित्र झापाका पाँच नगरपालिका मिलेर दैनिक सातदेखि १० टनप्रति क्षमताकोे यस मेशिन राख्ने योजना अघि बढेको छ, त्यसका लागि झापा प्रदेश नम्बर १ ले रु एक करोड बजेट छुट्याइसकेको छ’, ढकालले भने ।

प्लाष्टिकबाट उत्पादन हुने इन्धन फर्नेस तेलभन्दा गुणस्तरको हुन्छ । फर्नेस तेल हरेक उद्योगले सामग्री तताउन वा बाफ निकाल्न प्रयोग गर्छन् । प्लाष्टिकबाट उत्पादन भएको इन्धन विभिन्न तापअनुसार शुद्धीकरण गरेमा डिजेल, पेट्रोल र मट्टीतेल निस्किन्छ र यसलाई उद्योग तथा कलकारखानमा सहजरूपमा प्रयोग गर्न सकिन्छ ।

नाष्टसँग प्लाष्टिकबाट उत्पादन भएको इन्धन मापन गर्ने उपकरण नभएकाले आफूले उत्पादन गरेको इन्धनको गुणस्तर मापन गर्न भारत वा कोरिया पठाउनुपर्ने बाध्यता छ । नाष्टका वैज्ञानिकको काम कसरी प्लाष्टिकबाट इन्धन उत्पादन गर्ने भन्ने कुराको अनुसन्धान, परीक्षण, प्रमाणीकरण गर्ने रहेको छ । ऊसँग यति मात्र अधिकार रहेकाले यस काममा कसैलाई जोड दिन भने सकेको छैन ।

काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि वार्षिक रु ८ करोड रकम खर्च गरेको छ । पोखरा महानगरपालिकाले फोहर व्यवस्थापनमा वार्षिक रु चार करोड रकम खर्च गर्दै आए पनि उपकरण खरीदमा किन उनीहरुले ध्यान दिएनन् भन्ने नाष्टले बुझ्न सकेको छैन । यदि कुनै स्थानीय तहले एक पटक यन्त्र खरीद गरी प्लाष्टिक व्यवस्थापनमा ध्यान दिने हो भने सदीयौँ पुरानो दिगो फोहर व्यवस्थापनको समस्या समाधान हुने देखिन्छ ।

नाष्टले प्लाष्टिक प्रशोधन गर्ने उपकरण खरीद गर्न इच्छुक स्थानीय तहलाई प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय तहले आफ्ना नागरिकलाई पुनःप्रयोग हुने र नहुने फोहर छुट्याउन आग्रह गरी त्यसको सङ्कलन गर्ने दिन तोकिदिएमा व्यवसाय अपनाउनेलाई थप सहयोग पुग्ने देखिन्छ ।

भावी दिनमा विद्यालयस्तरदेखि फोहर व्यवस्थापन गरिदिने वातावरण सिर्जना गराउनु जरुरी छ । हरेक स्थानीय निकायले गुट्खा, चाउचाउदेखि अन्य सबै चिजको प्लाष्टिक एक स्थानमा व्यवस्थापन गरिदिनुपर्छ । सरकारी तथा गैरसरकारी संस्था हाल बाग्मती सरसफाइ अभियानमा लागेको ३०० देखि ४०० हप्ता पूरा भइसक्यो तर उनीहरुले सङ्कलन गरेको प्लाष्टिक कहाँ राख्छन् र त्यसलाई के गर्छन् भन्ने प्रष्ट छैनन् । त्यही प्लाष्टिकबाट इन्धन निकाल्ने सोच अघि बढाउँदा देशमा इन्धन खरीद गर्ने आर्थिक भार कम पर्ने छ ।

हरेक समुदायका बेरोजगार मानिसले प्लाष्टिक प्रशोधनको सीप सिकेर त्यसमा जोड दिँदा नेपालमा नयाँ व्यवसायको शुरुआत हुने थियो । यस कामलाई अघि बढाउन स्थानीय तह मात्र हैन बेरोजगार जनताले पनि स्वयं लागि पर्नुपर्ने छ । नाष्टले पहिलोपटक भित्र्याएको उपकरणमा एक पटकमा १० किलो प्लाष्टिक लोड गर्न मिल्छ । त्यसैगरी जापानले उत्पादन गरेको अर्को सानो उपकरण ‘इको मेशिन’ मा भने एक पटकमा केवल एक केजी मात्र प्लाष्टिक लोड गर्न मिल्ने बताइएको छ ।

एक मानिसबाट दैनिक ३१७ ग्राम फोहर निस्किने बताइएको छ । त्यसमा १२ प्रतिशत प्लाष्टिक हुन्छन् । मानिसको जनसङ्ख्यालाई आधार मानेर त्यहाँबाट कति फोहर निस्किन्छ भन्ने अनुमान एक साधारण मानिसले पनि गर्न सक्छ । यदि कुनै मानिसले व्यवसाय अपनाउन चाहेमा उसले पहिला कति प्लाष्टिक मेरो समुदायबाट निस्किन्छ भनी खोजी गर्न सक्छ ।

अनुमानका आधारमा प्लाष्टिक प्रशोधन गर्ने उपकरण खरीद गर्दा व्यवसायमा कसैलाई हानि पर्ने देखिँदैन । इच्छुक व्यक्तिले यो व्यवसाय अपनाउँदा न्यूनतम ६० प्रतिशत प्लाष्टिक प्रशोधन गर्नसके मात्रै पनि फाइदा हुने अनुमान नाष्टले गरेको छ । सरकारले यस वर्षलाई बिट द प्लाष्टिक पोलुशन वर्षअन्तर्गत अघि बढाउन प्लाष्टिक व्यवस्थापनमा नाष्टलाई अघि बढाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस