कर्मचारीका व्यवहार र जनताका बुझाई « प्रशासन
Logo १ आश्विन २०७८, शुक्रबार
   

कर्मचारीका व्यवहार र जनताका बुझाई


देविराम आचार्य

२१ फाल्गुन २०७५, मंगलबार


कर्मचारी

गतहप्‍ता एउटा अपत्यारिलो समाचार आयो ‘१७ वर्षे युवा सरकारी नम्बर प्लेट बनाएर शानसँग ………………….पोखरा घुमे ।’ यो समाचारका व्याख्या र विश्लेषण धेरै थरी हुन सक्छन् । राजनीतिक, आर्थिक, सामाजिक वा मनोविज्ञान वा अरू । सोही समाचारको फलोअप समाचार पनि खोजी गरेँ तर पाइएको छैन । वास्तवमा ती १७ वर्षे युवाले कसरी सिके सरकारी नम्बर प्लेट भएपछि प्रहरीले स्‍कटीङ् गर्छ, होटेलमा खाएको तिर्नुपर्दैन । बाटामा रोकिनु पर्दैन । यो एउटा अनुत्तरीत प्रश्न हो । नेपालको कर्मचारीतन्त्र कहिले पनि जनताको विश्वासिलो बन्न सकेन । जतिसुकै ठुला राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रका व्यवहार, आचरण र कार्यशैलीमा सुधार हुन सकेको छैन ।

समाचारमा उल्लेख भए अनुसार इलामका ती युवाले रातो नम्बर प्लेटको स्कार्पियो गाडीलाई सेतो बनाए । यो मनोविज्ञान उनमा कसरी उत्पादन भयो ? उनले हाम्रो समाजमा के देखेर यो सिके ? यसका विविध पक्षबाट खोजी गर्नु आवश्यक छ । सरकारी नम्बर प्लेटमा सरकारी अधिकारीको रवाफ देखेर नै उनी यो कार्यप्रति आकर्षित भएको हुनुपर्छ । एउटा किशोर स्वभावैले अस्थिर हुन्छ । धेरै रहरहरू जागृत हुन्छन् । एउटा अलग्गै व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने सपना हुन्छन् । किशोरावस्थाका यी स्वाभाविक रहरहरू पूरा गर्न उनले सरकारी कर्मचारी बन्ने उपाय निकाले ।

कहिलेकाहीँ सुनिन्छ, यस्तै युवाहरू नक्‍कली प्रहरी बन्छन्, नक्‍कली सैनिक बन्छन् र अनेक धन्दा चलाउँछन् । सैनिक वा प्रहरी बनेर ठग्नु वा रवाफ देखाउनुभन्दा कर्मचारी बनेर रवाफ देखाउनु नितान्त भिन्न कुरा हो, त्यो पनि सहसचिव । एउटा किशोरले अधिकृत वा उपसचिव होइन, सहसचिवको परिचय पत्र बनाएका छन् । त्यो उनको व्यक्तित्वसँग सुहाउँछ कि सुहाउँदैन भन्ने निकै महत्त्वपूर्ण पक्ष थियो तथापि उसले तल्ला पदकालाई प्रहरीले स्कटिङ नगर्ला वा बढी केरकार होला वा चेक जाँच होला भनेर सहसचिवको परिचयपत्र बनाएको हुनुपर्छ । उनले किन यसो गरे ? उनको स्वभाव कस्तो थियो ? उनी वास्तवमा के चाहन्थे ? यी यावत प्रश्नको उत्तर त मसँग छैन तर मैले उक्‍त समाचार पढेपछि मेरो मनमा आएका केही स्वाभाविक प्रश्नहरूको सन्दर्भ मात्र जोड्न खोजिरहेको छु ।

सर्वसाधारण जनताका लागि जनताका नोकर/सेवक भन्‍नेहरू किन यस्तो रवाफिलो देखिएका छौँ ? होटेलमा बिल समेत आफै नतिर्ने कार्यालयले तिर्छ भन्ने संस्कार कहाँबाट गइरहेको छ ? सेतो प्लेट भएपछि देशभर जहाँ पनि जान, जसरी पनि घुम्न छुट हुने मनोविज्ञान कसरी विकास भएको छ ? अहिलेको कर्मचारीतन्त्रले यस्ता प्रश्नको उत्तर खोज्नु पर्छ । आफूलाई सच्‍चाउनुपर्छ । कर्मचारीले रवाफ देखाउँछन्, शक्ति अभ्यास गर्छन् र अधिकारको दुरुपयोग गर्छन् भन्ने जनताले बुझेको विषयलाई यही एउटा समाचारले नै पुष्ट्याई गर्छ ।

मैले यी केही प्रश्नहरू गरिरहँदा र म आफैँ एउटा कर्मचारी नै भएको सन्दर्भमा बढी घोत्लिन्छु । म कस्तो व्यवहार गर्छु ? मैले पनि कतै यस्तै रवाफ देखाएको छु कि ? आम मानिसले मलाई कसरी मूल्याङ्कन गरिरहेका छन् सोच्छु । म मेरै केही निजी सन्दर्भहरू उल्लेख गर्न चाहन्छु जुन उल्लिखित समाचार जस्तै आम जनताले के बुझ्छन् भन्‍नेसँग सम्बन्धित छन् ।

मेरो १५ वर्षको जागिरे अवधि घर बाहिर छ । वर्षमा कम्तीमा २ देखि ४ पटकसम्म घर जाने गरेको छु । यो १५ वर्षमा म एक पटक मात्र सरकारी कामको सिलसिलामा घर पुगेको छ । तर दसैँमा बाहेक अरुबेला जति पटक घर जान्छु छिमेकमा ठूलाबडा, काकाहरूले काजमा आएको हो भनेर प्रश्न गर्नुहुन्छ ? कहिलेकाहीँ त घरमै बा’ले पनि अफिसको पनि काम छ कि भनेर सोध्नु हुन्छ । मैलै होइन बिदा लिएरै आएको हो नि भन्दा त्यसरी हिँड्न मिल्दैन र पनि भन्नुहुन्छ । यो सबै मेरो टोल छिमेक र आफन्तले कहाँबाट सिक्नुभयो ? हामी कर्मचारीबाटै देखेर वा सुनेर सिक्नुभयो होला ।

चार वर्ष अगाडि युनेस्कोले आयोजना गरेको ४ दिने तालिममा वैङ्कक जाने अवसर पाएको थिए मैले । यो खुसी गाउँमा बा, आमा र दाजुलाई पनि सुनाए । काका ठूलाबाहरुलाई पनि थाहा हुने नै भयो । विदेश जानु भनेको प्रशस्त कमाउनु हो भन्ने बुझिने रहेछ । चार दिन वैङ्कक गएर आउँदा दुई वर्षे छोरीका लागि किनेका २ कपडा र १२०० भाट थियो मसँग । जुन नेपाली ५००० जति हुन्छ । बैङ्ककबाट फर्केपछि तत्कालै घर जाने अनुकूल मिलेन तर जब म घर गए धेरैको प्रश्न थियो कति पैसा कमाइयो त ? म डेरा गरेर बस्ने घर र टोलमा पनि यो प्रश्नको सामना गरे मैले । यो प्रश्न आउनु स्वाभाविक नै रहेछ । भ्रमण खर्च नियमावली अनुसार दैनिक १ सय ५० डलर भ्रमण भत्ता लिएर विदेश जानेहरूले, ४०/४५ डलरको होटेलमा बसी १० डलर अन्य खर्च गरी १०० डलर बचाउने अवस्था हुने रहेछ । यसो गर्दा सात दिनका लागि विदेश जानेले ७०० डलर(करिब सत्तरी हजार नेपाली) बचाउने रहेछन् । तर यस्तो अवसर प्राप्त नगरी उतैबाट खर्च व्यहोर्ने कार्यक्रममा विदेश जाँदा साँझ डिनरका लागि दिने सानो रकममा छोराछोरी र श्रीमतीलाई कोसेली र कार्यालयमा बाँड्ने मिठाई ल्याउनु पर्ने रहेछ । छिमेकीसँग प्रसङ्गवश गफ हुँदा ५००० लिएर आएँ भन्नु त लाजै पो हुने रहेछ । दोस्रो पटक मलेसिया जाने अवसर मिल्यो । एक दिन थप घुम्दा जम्मा ३० हजार यतैबाट लगेको पैसा खर्च गरियो । सरकारको भ्रमण खर्च नियमावलीमा भ्रमण गर्नेका लागि पो एउटा विदेश भ्रमण एक लाख बराबर हुने रहेछ । पत्रपत्रिकामा आउने विदेश भ्रमणको खर्च त भ्रमण खर्च नियमावलीको पो रहेछ ।

तीन वर्ष अगाडी घर जाने क्रममा प्लेनबाट भैरहवा जाँदै थिए । मसँगै सिटमा बसेका काका उमेरका यात्रुसँग गफ गर्दा म निजी कामले घर जान लागेको कुरा विश्वास गर्नुभएन । वहाँले पनि काजमै आएको बुझ्नु भयो किनकि सरकारी कर्मचारी सरकारी खर्चमा मात्र प्लेन चढ्छन् । अनि वहाँले अतिरिक्त कमाइको कुरो जोड्नु भयो । मसँग स्पष्टीकरण र जवाफ केही थिएन । मैले अन्य प्रसङ्ग जोडेर कुरा सकाए ।

तीन वर्ष अगाडीको कुरा, मसँग निकै नजिक भएर काम गरिरहेका एक भाइले कम्प्युटर अपरेटर पदमा लिखितमा नाम निकाले । प्रयोगात्मक र अन्तर्वार्ताको तयारीका लागि फोनमा केही सल्लाह पनि दिएँ । इमेलमा सिसी र बीसिसिको अर्थ त उनले अन्तर्वार्ताको दिन विहानमात्रै सोधेका थिए । सोही दिन बिहान कार्यालय रोज्ने विषयमा पनि सल्लाह लिए मसँग । काम पनि गर्ने, पढ्ने, ठुला मान्छेसँग सङ्गत गर्ने र आफूलाई विकास गर्ने हो भने सिंहदरवार भित्रका विभाग, मन्त्रालय, सचिवालय, आयोग रोज्नु, होइन पैसा पनि त चाहिन्छ भन्ने भए त्यहाँ भएका मालपोत, नापी, प्रशासन, अदालत, यातायात रोज्नु । मेलै कुनै आदर्शको कुरा नगरी उनलाई यस्तै भनेको थिए । अन्तर्वार्ताको दिन साँझ फोन गरे । अन्तर्वार्ता कस्तो भयो ? सर अन्तर्वार्ता त राम्रै भयो, मैले एक नम्बरमा मन्त्रालय रोजेकोले सबैले यातायात किन नरोजेको भनेर उल्लु बनाए । यातायातमा के हुन्छ र सर ? यो उनको एकदमै इमान्दारीपूर्ण प्रश्न थियो । पूर्वी पहाडका मगर जातीका हुन उनी । मैले तिमीलाई बिहानै भनेको थिए नि, तिमीलाई अतिरिक्त पैसा चाहिएको हो र ? उनले भने होइन सर, त्यसो भए ठिक छ । नभन्दै संयोग यस्तो पर्‍यो उनको नाम एक नम्बरमै निस्कियो । उनी अहिले पनि सिंहदरवारमै कार्यरत छन् ।

धेरै पुरानै कुरा हो, २०६६ साल । म अत्तरियाबाट दिपायल जाँदै थिए । आठ घण्टाको लामो यात्रा । सिटमा सँगै बसेका अधबैँसे दाजुले कहाँ जाने ? घर कहाँ हो ? किन जान लागेको ? यस्तै प्रश्न गर्नुभयो । मैले उत्तर दिँदै गए र यस्तो प्रश्न पनि गर्नुभयो कि मैले उहाँसँग झगडा गर्नुपर्‍यो । वहाँको प्रश्न थियो, घुस कति खानुहुन्छ ? मैले त्यो बेलादेखि आफूलाई सके जति नियन्त्रण गर्ने प्रयास गर्छु कि जोसकैलाई म सरकारी जागिर गर्छु भनेर भन्दिन । अचेल त म स्वतन्त्रताको अलिक बढी उपयोग गर्दै भन्ने गर्छु, म सरकारका लागि काम गर्छु ।

यी सन्दर्भहरू उल्लेख गरिरहँदा म एकदमै इमानदार र नैतिकवान् छु भनेर भन्न खोजिरहेको छैन, मैले उठाएका यस्ता प्रसङ्गहरूले आम जनताले हामीलाई कसरी बुझ्छन् ? उनीहरूको हामीप्रति कस्तो दृष्टिकोण छ ? आम मानिसले यस्तो दृष्टिकोण बनाउने आधार हाम्रै व्यवहार त हुन् ? यसका लागि हामी सबै सामूहिक रूपमै जिम्मेवार छौँ । हामीले जनताको सकारात्मक व्यवहार पाउने कहिले होला ? उच्‍च तहबाट सुरु गर्ने होला कि तल्ला तहबाट ? सङ्घबाट होला कि स्थानीयबाट ? कुन सेवाले गर्ने होला ? कुन समूहले गर्ने होला ? अघिल्लो वर्ष उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत हुने र अर्को वर्ष त्यही कर्मचारी अख्तियारको फन्दामा पर्नेसम्मको अवस्था छ हामीसँग ? यो अवस्थामा कसले सुधार गरिदेला ? कहिले सुधार होला ? सुधार भाषणमा, सिद्धान्तमा र कुरामा होइन व्यवहारमा चाहिएको हो कि !

प्रतिक्रिया दिनुहोस