नेपाल, सांस्कृतिक पर्यटन र सम्भावना - प्रशासन प्रशासन
prasaLogo
१२ फाल्गुन २०७५, आईतवार

नेपाल, सांस्कृतिक पर्यटन र सम्भावना


प्रकाशित मिति : 24 February, 2019 9:30 am

सांस्कृतिक पर्यटन

संस्कृति जीवनयापनको जीवित अभिव्यक्ति हो । यसमा समुदायको सामूहिक परिचय हुन्छ, संस्कृति सांस्कृतिक सम्पदाहरूको सामूहिक नाम हो । सांस्कृतिक धरोहरहरू र सम्पत्ति संस्कृतिका हड्डी हुन् । संस्कृतिले मानिसको उत्पत्ति, चालचलन, भाषा, संस्कार, धर्मको समग्रतालाई जनाउँदछ र सोही अनुसार व्यक्ति, समाज र राष्ट्रको पहिचान बनाउन सफल हुन्छ । जाति, समुदाय, भाषा, धर्मबिच विशिष्टता रहेको हुन्छ । यही विविधता र विशिष्टताले भरिपूर्ण क्षेत्रफलको हिसाबले सानो नेपालमा १२ धर्म र १ सय २५ जातजातिबिचको एकता र विश्वको सबै हावापानी महसुस गर्न सकिने प्राकृतिक तथा सांस्कृतिक विविधता पाउन सकिन्छ ।

नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता हो । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आई रहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सौन्दर्यता मात्र हैन, अनौठा(नयाँ) अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । त्यस्ता पर्यटकीय गन्तव्यले स्थानीय समुदायहरूलाई आफ्नो संस्कृतिको महत्त्व दर्साउँछ । आर्थिक वृद्धि र विकासमा सहयोग पुग्दछ ।

सांस्कृतिक सम्पदाको मूल्य र महत्त्वको अनुभूति दिलाउँदै संस्कृतिको संरक्षण गर्न र सांस्कृतिक विविधतालाई प्रचारप्रसारमा प्रोत्साहन दिन्छ । यसले सामूहिक पहिचान र सांस्कृतिक सम्पदामा टेवा पुग्छ । पाहुनाहरूबाट संस्कृति आदान प्रदान र सिक्ने सिकाउने अवसर प्राप्त हुन्छ । फलस्वरूप पर्यटनलाई थप आकर्षण गर्दछ र आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्नुका साथै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।

नेपालको प्रयासहरुः
नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको खानी हो भन्ने थाहा हुँदाहुँदै पनि नेपालमा पर्यटन विकासको लामो इतिहास छैन । नेपाल एकीकरण हुनु पूर्व र एकीकरणको क्रममा ब्यहोर्नु परेको क्षति र त्यस पश्चात् लादिएको एकात्मक राजनीतिक, आर्थिक, धार्मिक तथा कामको आधारमा जातित्वको निर्धारण हुनुले सांस्कृतिक विविधता र विरासतमा ठेस लाग्न पुग्यो । त्यसपश्चात् १०३ वर्षे लामो एकतन्त्रिय शासन व्यवस्थाले केवल सत्तामा रहेका वर्गहरूको विलासिता पुरा गर्ने बाहेक पर्यटन क्षेत्रमा केही उपलब्धि हासिल गरेको देखिन्न । साथै, वि.सं. २००७ सालमा प्रजातन्त्रको पुनर्बहाली पश्चात् पञ्चायित व्यवस्थामा जारी भएका आवधिक योजनाहरुमासमेत पर्यटन क्षेत्रको विकासमा बेवास्ता गरेको पाइन्छ।

सन् १९५० मा यूएनको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक भ्रमण गरी सन् १९७१ मा प्रकाशित नेपाल–द किङडम इन दि हिमालय पुस्तकमा नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाको बारेमा विस्तृत गरी अध्ययन गरेको र नेपाललाई विश्व सामु चिनाउने प्रयास गरेको देखिन्छ । त्यस्तै, २९ मे १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा(८,८४८ मिटर उचाइमा मानवले पाइला टेकेको दिन) सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि नै संसारका आरोहिहरुको लागि नेपाल जीवनमा एकपल्ट पुग्नै पर्ने गन्तव्यको रूपमा चिनियो ।

नेपालमा पर्यटकहरूको आवागमन सुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ मा पर्यटन बोर्डको स्थापना, वि.सं. २०१८ मा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन भएको हो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, वि.सं. २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रूपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना गरिएको थियो । वि.सं. २०३९ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरियो । वि.सं. २०५५ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रूपमा नामकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरू गर्न नेपाल सरकार(मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।

मन्त्रालय अन्तर्गत ९ वटा संस्कृति सम्बन्धी र १४ वटा पर्यटन सम्बन्धी समितिहरू रहेका छन् । साथै, पर्यटन ऐन, २०३५, ट्राभल तथा ट्रेकिङ एजेन्सी नियमावली, २०६२, पर्यटन नीति, २०६५, होटेल, लज, रेष्टूराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८, जस्ता ऐन नियमावली कार्यान्वयनमा रहेका छन् । पर्यटन सेवा प्रदायकहरू होम स्टे, ट्रेकिङ एजेन्सी, होटेल, ¥याफ्टिङ एजेन्सी, ट्राभल एजेन्सी, टुरिजम ट्रान्सपोर्ट सर्भिस, एड्भेन्चर टुरिजम सर्भिस रहेका छन् । (स्रोत टुरिजम डट जीओभी डट एनपी)

हालको अवस्था
संसारभर सन् २०१७ मा अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या एक अर्ब ३२ करोड रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आन्तरिक पर्यटकहरुकोसमेत अनुमान गर्दा संसारभरको एक तिहाइ जनसङ्ख्याले आन्तरिक एवं बाह्य देशको भ्रमण गर्ने अनुमान पर्यटन विज्ञहरूको रहेको छ । त्यस्तै नेपालमा पनि विगतको द्वन्द्व र राजनैतिक अस्थिरताको कारण खस्किएको पर्यटन आवागमन हालका वर्षहरूमा वृद्धि हुँदै गइरहेको तथ्याङ्कमा उल्लेख छ । अध्यागमन विभागको जानकारी अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो । सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १७ पर्यटकले नेपाल भ्रमण गरेको विभागको तथ्याङ्क छ । नेपाल घुम्न आउने पर्यटकहरू मध्ये ७० प्रतिशत बिदा मनाउन, १५ प्रतिशत धार्मिक तथा सांस्कृतिक र ८ प्रतिशत एडभेन्चर लागि नेपाल आउने गरेको देखिन्छ । तथापि, नेपाल आउने पर्यटकहरूको औसत बसाई दिन १३.२ र खर्च औसत ५४ अमेरिकी डलर रहनुले औसत बसाई अवधि बढाउनु चुनौतीको रूपमा रहेको छ ।

निष्कर्ष
हालसम्म नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र विविधतामा सीमित हरेको छ । पर्यटन क्षेत्रलाई थप आर्थिक समृद्धिको रूपमा हासिल गर्ने हो भने, यहाँको प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई एकै सिक्काको दुईपाटाको रूपमा विकास गर्नु जरुरी छ ।

वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा १२ धर्म र १२५ भाषाभाषीहरूको संगम स्थलको रूपमा रहनुले यी भाषाभाषीहरूको पृथक् संस्कृति, संस्कार र भेषभुषाहरुलाई पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । सरकारले नीतिमा फेसन वीथ कल्चरको अवधारणा अवलम्बन गरिनु पर्दछ । नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई यहाँको वातावरणीय विविधतासँगै सोही क्षेत्रमा बसोबास गर्ने समुदायको परम्परा र भेषाभुषाले सांस्कृतिक झल्को/पहिचान दिलाउने निश्चित छ ।

जातिगत विविधता अनुसार सांस्कृतिक संग्राहलय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभुषाको विकास गर्न सके नेपालमा पर्यटकीय गन्तव्यको साथै अध्ययन र अनुसन्धान गर्ने थलको रूपमा विकसित हुनेमा चिश्चित छ ।

प्रकृति र संस्कृतिको वरदानको संरक्षण एवं व्यवस्थापन, सरकारको नीति, निजी र व्यावसायीहरु बिचको समन्वय, सहकार्य र मानसिकतामा व्यापक परिवर्तन हुनु पर्दछ । सांस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रूपमा विकास गरिनु पर्दछ । सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरूमार्फत प्रबर्द्धित पर्यटन विकासमा सम्बन्धित समुदायहरूको सहभागितामा जोड दिनु पर्दछ । प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले सुनमा सुगन्ध थप्ने निश्चित छ । तसर्थ, सांस्कृतिक भेषभुषा र जनजीवनलाई समेटी पर्यटन विकास गर्न सके मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को आधार, सांस्कृतिक पर्यटन सहित विकासको पूर्वाधार सम्भव हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस