असार ९ गते, २०७६

राजधानी बनाउन वन विनास किन ?

लामो समय केन्द्रीकृत राज्यसत्ताको निर्णयबाट जल्दै आएको सुदूरपश्चिम यतिबेला विकेन्द्रीकृतको निर्णयबाटै जल्न थालेको छ । हिजो काठमाडौंको सिंहदरवारबाट हुने गरेका निर्णयमा पहुँच पुग्न नसकेरै असन्तुष्ट सुदूरपश्चिम आज गाउँकै सिंहदरबारबाट समेत सन्तुष्ट हुन सकेको छैन ।

डोटीमा राजधानी हुनपर्ने मागसहित महिनौं आन्दोलित स्थानीयको जोडबल नपुगेपछि धनगढीलाई नै अस्थायी राजधानी तोकियो । तर, शुक्रबार प्रदेशसभाको दुई तिहाई बहुमतले कैलालीको तेघरी सामुदायिक वन क्षेत्रमा राजधानी बनाउने निर्णय ग¥यो । यो निर्णयले धनगढी र डोटीवासी असन्तुष्ट बने । धनगढीवासीले त केही दिन आन्दोलनसमेत गरे ।

तर, त्यति मात्रै होइन, प्रकृतिप्रेमी पनि यो निर्णयबाट सन्तुष्ठ छैनन् । आखिर किन वन क्षेत्र मासेर राजधानी बनाउनुपर्ने अवस्था आयो ? प्रकृतिप्रेमीको प्रश्न हो यो ।

‘हरियो वन, नेपालको धन’ अहिले एकादेशको कहानी जस्तै भइसक्दा बचेखुचेका बुट्यानहरूलाई समेत निमिट्यान्न पारेर क्रंक्रिटको सहर बनाउने होडमा छौं हामी । प्राकृतिक सम्पदामाथिको दोहनको असर विश्वव्यापी छ । सामान्य सतर्कता अपनाउन नसक्दा पहिरोले घर भत्काएका कतिपय उदाहरण छन् । तर, यसको हेक्का नराखी सयौं पहिरोमुनि राजधानी बनाउने निर्णय गर्न सांसदहरू किन अग्रसर भए ?

यता राज्यले चुरे संरक्षणको अभियान चलाइरहँदा उता चुरे फेदीमै बिना कुनै अध्ययन राजधानी बनाउने निर्णयले पुग्न जाने दीर्घकालीन असरमा नजर अन्दाज गर्न मिल्छ ?

चुरे क्षेत्रको एक किलोमिटरसम्म ढुंगा, बालुवासमेत संकलन गर्न नपाइने कानुन बनाउने अनि यता फेदीमै क्रंक्रिटको सहर बसाउने भन्ने ? त्यसै पनि वन विनासको दोहनको शृंखला नरोकिएको कैलालीमा वन, वन्यजन्तु, जैविक विविधता तथा वातावरणीय हिसावले पनि तेघरीमा राजधानी उपयुक्त हुन सक्दैन । बरु त्यही आसपास खुला ठाउँमा राजधानी बनाउन सकिन्छ ।

राजधानीका लागि अरु पनि कैयन विकल्प हुँदाहुँदै वनस्पति तथा वन्यजन्तुको बाँच्न पाउने अधिकार मिच्दै जैविक मार्ग मिचेर क्रंक्रिटको सहर बसाउनु युक्ति संगत त होइन नै ‘विनासकाले विपरित बुद्धि’ भनेजस्तै हो ।

वातावरण विनास गरी बनाएको अथवा वातावरणमैत्री नभएको सहर विकास होइन, विनासको द्योतक हो । ढिलो चाँडो यसले असर पुर्याउँछ नै । मुलुक निर्माणको अभिभारा बोकेका जनप्रतिनिधिले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नु राम्रो होइन । राजनीतिक इबी र नागरिकसँगको प्रतिशोध प्रकृतिमाथि खन्याउनु बुद्धिमानी होइन । त्यसकारण यो निर्णयबारे एक पटक सोच ।

आश्विन १७ गते, २०७५ - १७ः३० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg