श्रावण ३२ गते, २०७६

फितलो अनुसन्धानले दुर्घटना दोहोरिरहेको छ

पछिल्लो समय सडक दुर्घटना बढ्ने क्रम बढेको छ । त्यसैले पनि सडक सुरक्षा निकै चुनौती बनेको छ । दुर्घटना घटाउन सरोकारवाला निकाय ‘नाकाम’ देखिएका छन् । सडक सुरक्षासँगै दुर्घटना घटाउनेबारे पूर्व ट्राफिक प्रहरी उपरीक्षक जगतमान श्रेष्ठसँग प्रशासन डट कमका एस राज उपाध्यायसँग गरिएको कुराकानी ।

सवारी दुर्घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?
हाम्रोमा दुर्घटनापछि गरिने अनुसन्धान फितलो छ । त्यसको अनुसन्धान गरेर कानुनी दायरामा ल्याउने पाटो पनि कमजोर नै छ ।

हाम्रोमा दुर्घटना भएपछि पीडितलाई क्षतिपूर्ति दिइन्छ । त्यसपछि जिम्मेवारी सकियो जस्तो लाग्छ । तर, दुर्घटनाको तथ्य खोज्नतर्फ हामी लाग्दैनौं । हाइवेमा एकै ठाउँमा किन दुर्घटना हुन्छ ? दासढुंगा र जोगिमारामा किन बस खस्छ ? यो विषयमा हामीले अनुसन्धान गरेका छैनौं ।

अर्काे कुरा, दुर्घटनाको छानबिनका लागि समिति गठन हुन्छन् । के ती समितिमा बस्नेहरू अनुसन्धान गर्न योग्य छन् ? यसबारे हामीले चासो देखाएकै छैनौं ।

हामीकहाँ छानबिन समितिमा सचिव वा उच्च पदाधिकारीलाई राख्ने गरिएको छ । रोड ट्राफिकको कुनै नम्स नै नबुझेको मान्छे छानबिन समितिमा बसेपछि उपलब्धि आउँदैन । अनुसन्धान गहिराइमा पुग्न सक्दैन । त्यसकारण दुर्घटना छानबिन समितिमा विज्ञहरू राख्नुपर्छ ।

तर, हाम्रोमा समितिमा विज्ञहरू नहुँदा अनुसन्धान फितलो भएको छ । जसका कारण दुर्घटना दोहोरिरहेको छ ।

दुर्घटना हुनुमा कसको दोष देख्नुहुन्छ ?
नेपालमा ९० प्रतिशत दुर्घटना मानवीय कारणले नै हुने गरेको पाइएको छ । त्यसकारण दुर्घटना घटाउन आम नागरिक सबै सचेत हुनुपर्छ ।

नेपालको रोड इन्जिनियरिङ एकदमै कमजोर छ । त्यसकारण दुर्घटना हुनुमा कमजोर रोड इन्जिनियरिङ पनि एक कारक हो । त्यससँगै चालक र पैदल यात्रुको यसमा दोष देखिन्छ ।

रोड इन्जिनियरिङ गुणस्तरीय बनाउन तथा चालक तथा पैदल यात्रुलाई सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ ।

कसरी दुर्घटना न्यूनीकरण गर्न सकियला अर्थात तथ्याँकमा नै सकरात्मक परिणाम कसरी ल्याउने होला ?
यसको तत्कालै परिणाम ल्याउन इम्फोर्समेन्टलाई बढाउनुपर्छ । इम्फोर्समेन्ट भनेको कानुनको पालना गराउने ट्राफिक प्रहरी भयो । यसका लागि प्रहरी र यातायात व्यवस्था कार्यालय एग्रेसिब्ली आउनुपर्छ । मान्छेलाई तर्साएर पनि हुन्छ । तर, यो दिगो हुँदैन ।

दिगो उपलब्धिका लागि सचेतनामूलक कार्यक्रम र रोड इन्जिनियरिङमा चासो दिनुपर्छ ।

केही समयअघि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गर्नेलाई कारवाही सुरु गर्याे । यसको रिजल्ट तत्काल देखियो । तर, दिगो भएन । त्यसकारण दिगो उपलब्धि देखिने गरी काम गर्नुपर्छ ।

सवारी चालकमा संयमता नदेखिएको हो ?
कम उमेरका चालकमा संयमता त्यति देखिँदैन । तर, पाका चालकमा भने संयमता देखिन्छ । सार्वजनिक सवारी साधन हो भन्ने बुझाउन सक्यो भने चालकमा संयमता आउन सक्छ ।

सडक दुर्घटना कम हुने देश र नेपालमा सार्वजनिक सवारी साधनका चालकको लाइसेन्सबारे कस्तो व्यवस्था छ ?
विकसित देशहरूमा सवारी साधन चलाउन केही नम्सहरू तोकिएका हुन्छन् । त्यहाँ ड्राइभिङ लाइसेन्स पाउँदैमा सार्वजनिक सवारी साधन चलाउन पाइँदैन । त्यसका लागि उमेर निर्धारण गरिएको छ । जस्तै ः कुनैमा ३० वर्ष निर्धारण गरिएको छ भने कुनैमा ३५ वा ४० ।

नेपालमा त चार पांग्रे सवारीको ड्राइभिङ लाइसेन्स पाउनेबित्तिकै सवारी चलाउन पाउँछ । त्यसकारण सार्वजनिक सवारी साधन बढी दुर्घटना हुने गरेको छ ।

यसलाई अलि संसोधन गर्न सक्यो भने पनि दुर्घटना कम गर्न सकिन्थ्यो । विदेशको तुलनामा हाम्रोमा कम उमेरमै गाडी चलाउन पाइन्छ ।

सार्वजनिक सवारी साधनका चालकको उमेर निर्धारण र लाइसेन्स दिने तरिका फरक बनाउन आवश्यक छ ।

श्रावण ७ गते, २०७५ - ०९ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg