यसकारण आवश्यक छ कम्प्युटर अपरेटर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यसकारण आवश्यक छ कम्प्युटर अपरेटर


२४ असार २०७५, आइतबार


करिब दुई महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्य मन्त्रालयलाई दिइएको २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी व्यवस्था सम्बन्धी थप प्रावधानहरू शीर्षक अन्तर्गतको पत्रमा भएको पहिलो बुँदामा हालसम्म नेपाल विविध सेवाअन्तर्गत प्राविधिक पदअन्तर्गत लोकसेवा आयोगबाट लिखित र प्रयोगात्मक परीक्षापश्चात् सिफारिस हुँदै आएको पद कम्प्युटर अपरेटरमा बहालवाला कर्मचारी अवकाश भएपछि स्थायी पद स्वतः खारेज हुनेछ र त्यस पदमा आवश्यकता अनुसार सेवा करारबाट पूर्ति गरिने उल्लेख भएको थियो ।

केही दिनअघि संघीय निजामती ऐनको हवाला दिँदै केही वेवसाइटमा ‘राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन । त्यस्ता पदहरू स्वतः खारेज हुनेछ भन्ने खबरहरू सार्वजनिक भए । कम्प्युटर अपरेटर पद विशुद्ध प्राविधिक काम गर्ने पद हो, जसका लागि लोकसेवाले कम्प्युटरको लिखित र प्रयोगात्मक दुवै परीक्षापछि मात्र उम्मेदवारहरू छनौट गर्छ ।

कम्प्युटर अपरेटर पदका लागि वर्षौँको मेहनत, पढाई, कम्प्युटर तालिमपछि लोकसेवाको परिक्षामा सामेल हुने तयारी गरिरहेका धेरैलाई यसले झस्काएको छ । सरकारी सेवामा प्रवेश गर्न आइटी विषय पढेर तयारी गरिरहेकाहरू अब के गर्ने अलमलमा परेका छन् । सरकारी कामकाज कम्प्युटराइज्ड हुन थालेको वर्तमानमा मन्त्रालयले किन यस्तो निर्णय लियो ? त्यो आफ्नो ठाउँमा छ । तर, यसबाट भविष्यमा कम्प्युटरबिना काम गर्ने अभ्यास हुन लागेको त पक्कै होइन होला । नत्र दक्ष जनशक्तिलाई पन्छाएर, बिना कुनै जाँच र परीक्षण करारमा कम्प्युटर अपरेटर पदपूर्ति गर्ने निर्णयले कार्यक्षमतामा ह्रास आउनुका साथै दैनिक कार्य सञ्चालनमा समेत बाधा आउन सक्नेतर्फ ध्यान जान जरूरी छ ।

करारका कम्प्युटर अपरेटरका केही नमुना उदाहरणहरू
देशकै केन्द्रीय निकाय रहेको स्थान सिंहदरबार जहाँ सबैभन्दा धेरै करारबाट प्रवेश गरेका कम्प्युटर अपरेटरको उच्च संख्यामा अधिकांश मन्त्रालय र कार्यालयमा रहेका छन् । लोकसेवाका परीक्षा पास गरेर आएका कम्प्युटर अपरेटरहरू औंलामा गन्न सकिने संख्यामा छन् । एक मन्त्रालयमा यस्तो सम्म देखियो : मन्त्री र सचिवका सिफारिसबाट आएका करारका कम्प्युटर अपरेटरबाट कम्प्युटरको काममा कुनै सीप नभएपछि उनीबाट काम लिन सकिएन, उनलाई सेवाबाट बिदा गर्ने कुरा त भएन, अनि उनलाई कार्यालय सहयोगीका जिम्मेवारी दिइयो । नियुक्ति र तलब कम्प्युटर अपरेटरको, काम कार्यालय सहयोगीको । अनि उनको ठाउँमा कम्प्युटरको काम लिन मन्त्रालयले विभागका कम्प्युटर अपरेटरलाई काजमा मन्त्रालय झिकाइ दैनिक कार्य सञ्चालन गर्दै आएको छ ।

एक मन्त्रालयका सचिवले करिब दुई महिनाअघि आफ्नी भान्जीलाई करारका कम्प्युटर अपरेटरमा नियुक्ति गरिदिए । नियुक्त भएको करिब एक महिना त हाजिर गरेरै तलब खाई, बिना कुनै काम । करिब एक महिनापछि कम्प्युटरको व्यवस्था भएपछि अत्तालिँदै एउटा इन्स्च्यिुटमा गएर ‘मलाई कम्प्युटरमा दैनिक अफिसमा गरिने काम सिकाइदिनु पर्याे’ भनी हाजिर भएको पनि देखियो । उनलाई न फाइल सेभ गर्न आउँथ्यो न त नेपाली टाइपिङ नै ।

हाल पनि करारमा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारीहरू लोकसेवाको लिखित वा प्रयोगात्मक परीक्षा लिने हो भने अनुत्तीर्ण हुने धेरै हुनुहोला । सीपबिनाका कर्मचारीबाट सीपयुक्त, प्रशिक्षित व्यक्तिबाट जस्तो आउटपुट प्राप्त हुन सक्दैन । मन्त्रालयको उक्त निर्णयले भविष्यको उत्कृष्ट प्राविधिक जनशक्तिलाई सरकारी क्षेत्रमा प्रवेश गर्ने बाटो रोकेको छ । यो क्षेत्रमा आउने तयारी गरिरहेकालाई अवमूल्यन गरिएको छ ।

कम्प्युटर अपरेटर पद खारेजी गर्नुको अर्को तर्क प्रशासनका नासु, खरिदार जस्ता कर्मचारी पनि कम्प्युटर सीप परीक्षण पास गरेरै आएका हुन्छन् भन्ने छ । उहाँहरु जबर्जस्ती कम्प्युटरको परीक्षामा सहभागी त हुनुहुन्छ । तर, पाठ्यक्रम यसरी बनेका छन् कि कम्प्युटरको सीप परीक्षणको अंकभन्दा अन्य परीक्षाबाट प्राप्त नम्बरले नै निर्णायक काम गर्ने हुन्छ । त्यसमाथि पनि मात्र नेपाली र अंग्रेजी टाइपिङले कम्प्युटर जानेको भन्न सकिन्न किनकि बढी एक्सल र डाटावेशका कार्य हुने क्षेत्रमा प्रशासनका कर्मचारीलाई तिनको बारेमा परीक्षा त लिइएको हुँदैन र नियुक्त भइसकेकालाई कम्प्युटर तालिम दिएको पनि देखिँदैन ।

कम्प्युटर अपरेटरबिना प्रशासन चल्दैन । अपरेटरको परीक्षा सजिलो भयो भन्ने छ भने पाठ्यक्रम परिवर्तन गर्न सकिन्छ, अथवा कम्प्युटरको शैक्षिक योग्यता भएकालाई मात्र कम्प्युटर अपरेटरमा लिन सकिन्छ । कम्प्युटर अपरेटरलाई चिठी टाइप मात्र गराउनुको साटो उनीहरूको क्षमताको भरपूर उपयोग हुने गरी काम लगाउन सकिन्छ । कम्प्युटर अपरेटरको पद खारेज गर्ने होइन कि कम्प्युटर अपरेटरलाई तालिम दिई दक्षता बढाएर कम्प्युटर सम्बन्धी सामान्य कामका लागि बाहिर कन्ट्रयाक्टमा मान्छे ल्याउने परिपाटीको अन्त्य हुनुपर्छ ।

लेखक निजामती सेवामा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस