लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून « प्रशासन
prasaLogo
१२ श्रावण २०७८, मंगलबार
   

लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून


७ असार २०७५, बिहिबार


तेह्रथुम । जिल्ला अस्पतालका डा. मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् । संक्रान्तिबजारमा मात्रै हैन, कार्यालयले छथर र फेदाप गाउँपालिकामा आयोजना गरेको शिविरमा पनि सेवाग्राही आएनन् ।

जिल्लाका सबै स्थानीय तह र जिल्ला अस्पतालमा समेत दुई सातासम्म सञ्चालित सो शिविरबाट जम्मा सात जनाले मात्रै सेवा लिए । छथर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालित आइयुसिडी र इम्प्लान्ट शिविरमा पनि उल्लेख्य संख्यामा महिलाले सेवा लिएनन् । आईयुसिडी. प्रयोग गर्ने महिला एक जना पनि आएनन् ।

शिविरबाट २९ जना महिलाले मात्रै इम्प्लान्ट सेवा लिए । मेन्छ्यायेम गाउँपालिका क्षेत्रभरि सेवा दिँदै आएको मोराहाङ स्वास्थ्य चौकीको सामाजिक परीक्षणका क्रममा स्वास्थ्य चौकीले सार्वजनिक गरेको एक तथ्याँकमा गाउँपालिका क्षेत्रका सक्रिय यौन उमेरको जनसंख्यामध्ये १५ प्रतिशतले मात्रै परिवार नियोजनका साधनहरु प्रयोग गरेको उल्लेख छ । जिल्लामा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या न्यूनमात्रै रहेको छ ।

परिवार नियोजनका साधन प्रयोग गर्नेमध्ये पुरुषको संख्या झनै कम रहेको छ । परिवार नियोजनका साधनको विषयमा जानकारी अभाव तथा लाज र डरका कारण सर्वसाधारणले परिवार नियोजनका साधन प्रयोग गर्दैनन् । जिल्ला स्वास्थ्य कार्यालयले परिवार नियोजनका साधनबारे सचेतीकरण र प्रयोगको दरलाई बढाउन वर्षेनी लाखौँ रुपैयाँ खर्च गर्दैआएको छ । तर त्यो लगानी बालुवामा पानी सरह भइरहेको छ ।

कार्यालयले लाखौँ खर्चिएर सञ्चालन गरेको भ्यासेक्टोमी शिविरमा यो वर्ष ७ जनाले मात्रै सेवा लिएका छन् । पुरुषले प्रयोग गर्ने एकमात्र स्थायी परिवार नियोजनको यो सेवा जिल्ला अस्पतालबाहेक अन्यत्र उपलब्ध छैन । जिल्ला अस्पतालमा समेत ओपिडीमार्फत एक जनाले पनि सेवा लिएका छैनन् । वर्षमा एक पटक सञ्चालन हुने शिविरमा बल्ल ७ जनाले सेवा लिएका हुन् । महिलाले प्रयोग गर्ने स्थायी साधनहरु आईयुसिडी र इम्प्लान्ट प्रयोग गर्नेको संख्या पनि न्यून छ ।

परिवार नियोजनका सबै साधनहरु सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छन् । सर्वत्र उपलब्ध हुने कन्डमको समेत अत्यन्तै न्यून प्रयोग हुने गरेको तथ्याँकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यायलको तथ्याँक अनुसार आर्थिक वर्ष २०७३/७४ मा १ हजार ३ ५२ जना कन्डम प्रयोग गरेका छन् । पाँच सय ५० जनाले पिल्स सेवन गरेका थिए भने १ हजार ५१८ जनाले डिपो लगाएका थिए । सो वर्ष जिल्लाका ३१० जनाले इम्प्लान्ट प्रयोग गरेको र ४० जनाले आइयुसिडी सेवा लिएका जिल्ला स्वास्थ्य कार्यायलका सूचना अधिकारी लभरेन्ज शाहले बताए ।

सो वर्ष १५ जना पुरुषले भ्यासेक्टोमी गराएका थिए । जिल्लाका सर्वसाधारणले स्वास्थ्य संस्थाबाट परिवार नियोजनका साधन ल्याएर प्रयोग गर्न नै असहज मान्ने गरेका पाइएको छ । कार्यालयका परिवार नियोजन शाखाका प्रमुख भन्छन्, “हामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट विभिन्न प्रकारका परिवार नियोजन सेवा दिइरहेका छौँ, तर लाज र डरका कारण धेरैले त्यस्तो सेवा लिदैनन् ।”

गाउँ–गाउँसम्म सूचना प्रवाह गर्न विभिन्न सञ्चार माध्यम, स्वास्थ्य चौकीहरु र महिला स्वास्थ्य स्यवम्सेविकाहरुलाई परिचालन गरिएपनि परिवार नियोजनका साधन प्रयोगको दर बढ्न नसकेको उनले बताए । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा २०६८ को जनगणना अनुसार कूल जनसंख्या १ लाख १ हजार ५७७ रहेको छ । त्यसमध्ये करिब ३० हजार जनसंख्या सक्रिय यौन उमेरका रहेका जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णदेव यादव बताउँछन् ।

उनी भन्छन्, “त्यतिका धेरै जनसंख्या यौन उमेरका छन्, तर परिवार नियोजनका साधनको प्रयोग अत्यन्तै न्यून छ, यो कसरी सम्भव छ ?” उनका अनुसार परिवार नियोजनका साधनको प्रयोगको कमीका कारण अनिच्छित गर्भधारण धेरै भएको हुनसक्छ । जिल्लामा पुरुषले परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमान्ने गरेकाले पनि त्यो संख्या कम भएको हो ।

अधिकांश पुरुषले बच्चा जन्माउने महिलाले हो, पुरुषले हैन, त्यसैले परिवार नियोजनका साधन पनि महिलाले नै प्रयोग गर्नुपर्छ भन्ने धारणा राख्ने भएकाले पनि पुरुषले परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेको उनले बताए । जिल्ला अस्पतालकै गाइनोलोजिष्ट डा. रोहितकुमार झा पनि गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिने गरेकाले परिवार नियोजनका साधनको प्रयोगको कमी भएको बताउँछन् ।

उनी गर्भपतनलाई परिवार नियोजनको साधन नबनाउन आग्रह गर्छन् । जिल्ला अस्पतालसहित अन्य मातहतका १४ वटा स्वास्थ्य संस्थाबाट अहिले मान्यताप्राप्त चिकित्सकले सूचीकृत स्वास्थ्य संस्थाको रुपमा गर्भपतन सेवा प्रदान गर्दै आएका छन् । ती स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छोटो अवधिमै दुई सय भन्दा बढीले सेवा लिएपछि जिल्लामा परिवार नियोजनका साधनको प्रयोग अत्यन्तै न्यून भएकाप्रति सरोकारवालाको ध्यान गएको हो ।

अहिले सुरक्षित गर्भपतन सेवा शुरु भएपछि यो भन्दा अगाडि धेरैले असुरक्षित गर्भतपन गराउँदै आएको अनुमान लगाउन सकिन्छ । अनिच्छित गर्भधारण पछि महिलाले औषधि पसलबाट जथाभावी औषधि खरिद गरी प्रयोग गर्ने गरेका छन् । गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा बढ्न नदिन अझै उल्लेख्य रुपमा काम गर्नु खाँचो भएको उनले बताए। क्रिपाको एक सर्वेक्षण अनुसार हाल नेपालमा २५ प्रतिशत अनिच्छित गर्भधारण हुने गर्छ ।

अनिच्छित गर्भधारण गरी गर्भपतन गर्नेमध्ये ५८ प्रतिशतले अझैपनि असुरक्षित गर्भपतन गर्ने गरेका छन् । सुरक्षित गर्भपतन गर्न पाइने कानूनी प्रावधानबारे अझै पनि ४१ प्रतिशत मात्रै जानकार रहेका छन् । यो तथ्याँकलाई आधार मान्दा पनि परिवार नियोजनको माध्यमको रुपमा नेपालमा असुरक्षित गर्भपतन बढ्दो रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस